२७ साउन २०८३, बुधबार
अपुष्ट सूचनाको भरमा अपरेसन

पूर्वमा प्रहरीको शृंखलाबद्ध खानतलासी : सबै किन असफल साबित भैरहेका छन् ?

आएको इन्फर्मेसनलाई रेस्पोन्स गर्ने प्रहरीको जिम्मेवारी हो, शतप्रतिशत सफलता हुन्न : एसएसपी थापा
साउन १९, २०८३
विराटनगर
पूर्वमा प्रहरीको शृंखलाबद्ध खानतलासी : सबै किन असफल साबित भैरहेका छन् ?

पछिल्ला केही महिनायता मोरङ प्रहरीले ‘विशेष सूचना’कै नाममा मारेका प्राय: छापाका घटनाहरू शृ‌खलाबद्ध रूपमा असफल साबित भएका छन् । १३ साउनमा मोरङ प्रहरीले विराटनगरका अभिषेक गिरीको निवासमा अवैध हातहतियार लुकाएको आशङ्कामा छापा मारेको थियो, तर त्यहाँ पनि प्रहरीले खोजेको हतियार फेला परेन । पछि अपराधिक विश्वासघात मुद्दामा उनलाई पक्राउ गरिए पनि हतियारकै सूचनामा मारिएको छापा भने पूर्णत: असफल सिद्ध भयो ।

त्यति मात्र होइन, ४ असारमा त प्रहरीको निशानामा स्वयम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीकै सरकारी निवास पर्‍यो । फरार प्रतिवादी लुकेको आशङ्कामा रातको ११ बजे मन्त्री निवास पुगेको प्रहरी टोलीले कोठा–कोठा खानतलासी गर्‍यो, जहाँ प्रहरीको सूचना फेरि पनि गलत साबित भयो । एकपछि अर्को छापा र त्यसबाट प्राप्त ‘शून्य उपलब्धि’ले मोरङ प्रहरीको सूचना संकलन र विश्लेषण गर्ने संयन्त्रमाथि मात्र होइन, प्रहरी नेतृत्वको व्यावसायिक क्षमतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

प्रहरीको यो विफलताको पछिल्लो कडी १८ साउन, सोमबार बिहान विराटनगर–७ स्थित उद्योगी प्रकाश मुन्दडाको निवासमा देखिएको हाइ–भोल्टेज ड्रामा बन्यो । झिसमिसे उज्यालो हुँदै गर्दा बिहान ४ बजे मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालकै कमान्डमा सुरक्षाकर्मीहरूको ठूलो टोलीले देबेनरा मुन्दडा निवास र कार्यालयलाई घेरा हालेको थियो ।

उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष मुन्दडाको घरमा हुन्डीको पैसा र अवैध सामग्री आएको विशेष सूचना रहेको दाबी गर्दै प्रहरीले झन्डै साढे ५ घण्टासम्म घरका कुनाकुना खोतल्यो । प्रहरीले घरका कोठा, भान्छा, भण्डार र व्यक्तिगत दराजहरू मात्र होइन, कार्यालयका गोप्य कागजातसमेत सूक्ष्म ढङ्गले जाँच गर्‍यो । तर, साढे ९ बजे अपरेसन सकिँदा प्रहरीको हातमा केही पनि थिएन— न कुनै अवैध नगद, न शङ्कास्पद वस्तु ।

अन्तत: स्थानीय प्रतिनिधि र मुन्दडा परिवारको रोहवरमा ‘केही फेला नपरेको’ मुचुल्का उठाएर प्रहरी टोली रित्तो हात फर्कियो । अपराधिलाई पक्राउ गर्न गएजसरी प्रहरीले उनको घरमा मात्रै होइन बाटो समेत छेकेर खानतलासी गरेको थियो । बर्दीसहितका प्रहरी आएर आएर प्रहरीले आतक मच्चाएको केही उद्योगी व्यापारीहरूले बताएका छन् । उद्योगी व्यापारीले मात्रै होइन सर्वसाधारणले पनि प्रहरीको अनुसन्धानको शैली ठिक नभएको बताएका छन् ।

यो घटनाले राज्यका सुरक्षा अंगहरू कसरी अपुष्ट सूचनाकै भरमा हचुवाको भरमा परिचालित भइरहेका छन् भन्ने प्रष्ट पारेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले विशेष सूचनाका आधारमा छापा हानेको र लामो समय लगाएर खानतलासी गर्दा केही फेला नपरेपछि टोली फर्किएको बताए । उनले पैसा र केही सामाग्री अवैधरूपमा आएको सूचना प्रहरीमा रहेको बताए ।

null

प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जारी गरेको विज्ञप्तिमा पनि सूचना बमोजिमको गैरकानुनी सामान फेला नपरेको स्वीकार गरिएको छ ।

तर, पटक–पटक सूचनाहरू किन गलत भइरहेका छन् र प्रहरीले सूचनाको स्रोतलाई किन विश्वसनीय बनाउन सकिरहेको छैन भन्ने पक्ष निकै सन्देहास्पद देखिएको छ । 

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडा यसलाई तानाशाही शैली भन्दै निजी क्षेत्रलाई आतंकित बनाउने काम भएको बताउँछन् । मुन्दडाजस्ता प्रतिष्ठित व्यवसायीको घरमा बिहानै छापा मारेर ५ घण्टासम्म परिवारलाई मानसिक दबाबमा राख्नुले राज्यको नियतमाथि नै शंका उब्जाएको व्यवसायीहरूको ठहर छ ।

प्रहरीको यो शृङ्खलाबद्ध असफलताको जडमा 'माथिको अनावश्यक दबाब' र निर्देशन रहेको सुरक्षा स्रोतहरूको दाबी छ । माथि (केन्द्र)बाट ‘तुरुन्त काम गर’ र सूचना आउनेवित्तिकै एक्सनमा गइहाल भन्ने खालको दबाब आएपछि मोरङ प्रहरीले सूचनाको गहिराइ नाप्ने र विश्लेषण गर्ने न्यूनतम व्यावसायिक प्रक्रियालाई समेत लत्याएको सुरक्षा स्रोतले बतायो । माथिबाट प्रहरीलाई कुनै पनि सूचना आउनेवित्तिकै अनुसन्धान र पुष्ट्याइँबिनै नै छापा मार्न वा पक्राउ गर्न निर्देशन दिने गरेको सुरक्षा निकायका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार, पत्रकारले केही थाहा नपाउन् भन्ने र अपरेसनका बेला बाहिरी मान्छेलाई प्रवेश रोक्न बाटो नै छेक्ने गरिन्छ ।

गृहमन्त्री सुधन गुरुङ आफैँ विराटनगर आउँदा पनि पत्रकारलाई सूचना दिएको विषयमा सुरक्षा अधिकारीहरूसँग रुष्ट भएका थिए । केही दिनअगाडि गृहमन्त्री गुरुङ सुनसरी घटनाबारे बुझ्न आउँदा विराटनगर विमान स्थलमा पत्रकारहरू पुगेका थिए । पत्रकारलाई कसले सूचना दियो भनेर उनले पटक–पटक प्रहरीका अधिकारीहरूलाई सोधेका थिए ।

पछिल्लो समय प्रहरीमा सूचना आउने वित्तिकै त्यसको असर के हुन्छ, त्यसले सामाजिक वा व्यावसायिक क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने विश्लेषण गर्ने परिपाटी हराएको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।  थप सूचना सङ्कलन गर्ने र शङ्कास्पद गतिविधिको सूक्ष्म निगरानी गर्ने काम छाडेर सिधै छापा मार्ने ‘सुपरम्यान’ शैलीले प्रहरीको इन्टेलिजेन्सलाई नै ध्वस्त बनाएको उनीहरूको टिप्पणी छ ।

कतिपय अवस्थामा रिसिइबी साध्न दिइएका गलत सूचनाकै आधारमा प्रहरी परिचालित हुँदा त्यसले निर्दोष व्यक्ति र प्रतिष्ठित घरानाहरूको मानमर्दन भइरहेको सुरक्षा निकायकै अधिकारीहरूको बुझाइ छ ।

पूर्वडीआइजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यसरी बिना तयारी र बिना प्रमाण छापा मार्दा केही भेटिएन भने त्यसले प्रहरीको मात्र होइन, सरकारको पनि सन्देश गलत जान्छ । व्यापारीहरू देशको अर्थतन्त्र हुन्, यथेष्ट प्रमाण बिना नै उनीहरूलाई गिजोल्ने हो भने लगानीको वातावरण बिग्रन्छ र पुँजी पलायन हुने खतरा बढ्छ ।’

null

मल्लका अनुसार अनुसन्धान गर्ने क्षमतामा ह्रास आउनु वा कसैको निर्देशनमा रिसिइबी साध्न टार्गेट गरिनु व्यावसायिक प्रहरीको धर्म होइन ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले मुन्दडा निवासको घटनापछि विज्ञप्ति जारी गर्दै संविधानले प्रदत्त गरेको गोपनीयताको हक र मानव मर्यादाको ख्याल नगरिएको भन्दै कडा आपत्ति जनाएको छ । मुन्दडा एक सफल लगानीकर्ता, समाजसेवी र हजारौँ मजदुरलाई रोजगारी दिने प्रतिष्ठित व्यक्तित्व भएको स्मरण गराउँदै परिसंघले बिहान उज्यालो नहुँदै ठूलो संख्यामा प्रहरी परिचालन गरी परिवारका सदस्य र ज्येष्ठ नागरिकलाई मानसिक दबाबमा राख्नु निन्दनीय भएको बताएको छ । मुलुक आर्थिक मन्दी र उत्पादनमा गिरावट जस्ता समस्याबाट गुज्रिरहेको बेला उद्योगी–व्यवसायीलाई त्रसित र असुरक्षित महसुस गराउने शैलीले स्वदेशी तथा विदेशी लगानीलाई निरुत्साहित गर्ने निश्चित छ । परिसंघले यो खानतलासी कुन कानुनी आधार र कुन सूचनाको आधारमा गरिएको हो भन्ने सार्वजनिक गर्न माग समेत गरेको छ ।

सबैमा शतप्रतिशत सफलता हुन्न, आएको इन्फर्मेसनलाई रेस्पोन्स गर्ने कुरा प्रहरीको जिम्मेवारी हो : एसएसपी थापा 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगेन्द्रसिहं थापाले भने सबै अपरेसन सफल नहुने गरेको बताए ।  आएका सूचनामा रेस्पोन्स गर्ने कुरा प्रहरीको जिम्मेवारीभित्रै पर्ने उनको भनाइ छ ।

'आएका इन्फर्मेसनलाई प्रहरीले सकेसम्म रेस्पोन्स गर्नुपर्ने हुन्छ । सबै घटनामा ठ्याक्कै त्यो पिनपोइन्ट नहुन सक्छ। चिजहरू भोलिका दिनमा कतैबाट खुल्न पनि सक्छन्,' लोकान्तरसँग उनले भने, 'अब सबैमा एक सय प्रतिशत सफलता भन्ने त हुन्न । आएको इन्फर्मेसनलाई रेस्पोन्स गर्ने कुराहरू चाहिँ प्रहरीको जिम्मेवारीभित्रै पर्छ ।'

पछिल्ला घटनामा पनि कतैबाट आएको सूचनालाई प्रहरीले रेस्पोन्स गरेको उनले बताए । यसमा कसैको दबाब वा प्रभाव नरहेको उनको भनाइ छ । 'कतैबाट आएको सूचनालाई हामीले रेस्पोन्स गरेको हो ।  कसैको दबाब–प्रभावमाभन्दा पनि पुलिसले केही बुझेकै हुन्छ, अब केही न केही बुझेरै गरेको हुन्छ,' उनले भने, 'सबैमा फेरि रिजल्ट आउँछ नै भन्ने पनि हुन्न।'

NAIMA

कमेन्ट गर्नुहोस्