२७ साउन २०८३, बुधबार
ऐतिहासिक धरोहरको रेट्रोफिटिङ !

मौलिकता जोगाएर कसरी गरिँदैछ जेनजी आन्दोलनमा जलेको सिंहदरबारको पुनर्निर्माण ?

साउन १९, २०८३
काठमाडौं

दक्षिण एसियाकै वैभवशाली इतिहास र वास्तुकलाको अनुपम नमूना- हाम्रो देशको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ । वि.सं. १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले बेलायतबाट सामग्री झिकाएर युरोपेली ‘नियो क्लासिकल’ शैलीमा बनाएको यो तहखानासहितको भव्य दरबार, विगत एक वर्षयता एउटा ऐतिहासिक चुनौतीसँग जुधिरहेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले सिंहदरबारलाई नराम्ररी हल्लाएको थियो । संरचनामा धाँजा फाटेका थिए । तर, गत भदौ २४ गतेको 'जेनजी प्रदर्शन' का क्रममा घटेको अप्रिय घटना र आगजनीले यसलाई झन् गहिरो घाउ दियो ।

भूकम्पले संरचना मात्र भत्काएको थियो, तर आगोले त यसलाई खरानी नै बनाउने गरी क्षति पुर्‍यायो । त्यसैले, अहिलेको पुनर्निर्माण भूकम्पपछिको भन्दा कैयौँ गुणा बढी जटिल र चुनौतीपूर्ण बनेको छ ।

सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडाको तुलनामा पश्चिमी मोहडा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । आगो एउटा भागबाट सल्किएर अन्य तला र कोठाहरूमा नराम्ररी फैलिएको थियो । तर, खुसीको कुरा- आन्दोलनपश्चात् तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने भागहरूको मर्मत कार्य सम्पन्न भइसकेको छ ।

अलि बढी क्षति पुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको बजेट महाशाखाको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

अब कुरा गरौं, प्रधानमन्त्री कार्यालयका लागि केही वर्षअघि मात्र बनाइएको भव्य भवनको । अति प्रभावित क्षेत्रमध्ये, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको 'पश्चिम लाउन्ज' बाहेकका अन्य सम्पूर्ण लाउन्जहरूको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी अरुण भुजेलका अनुसार प्रधानमन्त्री कार्यालयको पूर्वभागको सिभिल (स्ट्रक्चरल) काम पूर्ण रूपमा सकिसकेको छ ।

null

मुख्य क्षति विद्युतीय र वातानुकूलित प्रणालीमा पुगेको थियो । यो जडान कार्य प्राविधिक रूपमा अत्यन्त संवेदनशील हुने भएकाले केही समय लागेको छ । आगामी भाद्र ११ गतेको म्यादभित्र यी कामहरू द्रुत गतिमा सम्पन्न हुनेछन् ।

केही संरचनाका लागि बोलपत्र आह्वान हुनै बाँकी छ । तीमध्ये प्रमुख हुन्- सिंहदरबारको मुख्य भवनको पश्चिम लाउन्ज र गृह मन्त्रालय । यी दुई स्थानमा सबैभन्दा धेरै क्षति पुगेको छ ।

सिंहदरबारको पश्चिम लाउन्ज उच्च पुरातात्विक र ऐतिहासिक महत्त्वको भएकाले, पुरातत्व विभागसँग गहिरो समन्वय गरेर यसको मौलिकतालाई एक इन्च पनि नबिगारी पुनर्निर्माण गरिँदै छ ।

null

यसको लागत अनुमान अन्तिम चरणमा पुगेको छ र छिट्टै बोलपत्र आह्वान गरिँदै छ । उता, गृह मन्त्रालयको भवनलाई पूर्ण रूपमा 'रेट्रोफिट' नै गर्नुपर्ने भएकाले डिजाइन प्रतिवेदनको पुनरवलोकनपछि बोलपत्र प्रक्रिया अगाडि बढाइनेछ ।

हालसम्म प्रधानमन्त्री कार्यालयको पश्चिम लाउन्ज र गृह मन्त्रालयबाहेकका अन्य भागको पुनर्निर्माणका लागि घिमिरे बन्धु जेभीसँग करिब १० करोड ११ लाख रुपैयाँको सम्झौता भई निर्माण कार्य अघि बढेको छ ।

ऐतिहासिकता र मौलिकतामा कुनै आँच नआउने गरी भइरहेको यो प्रयासले सिंहदरबारलाई पूर्ववत् अवस्थाभन्दा अझै सुरक्षित बनाएर उभ्याउनेछ ।

null

यति मात्र होइन, राष्ट्रपति भवन (शीतल निवास) अन्तर्गतका विभिन्न ब्लकहरूको पुनर्निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

'प्रभा हल' को काम सकिनै लागेको छ भने, शीतल निवासको मुख्य भवनको डिजाइन पुनरावलोकन द्रुत गतिमा भइरहेकाले यसको पनि छिट्टै बोलपत्र आह्वान हुनेछ ।

आगोले संरचना जले पनि देशको गौरव खरानी भएको छैन । सिंहदरबार आफ्नो पुरानै शान र नयाँ मजबुतीका साथ फेरि उठ्दैछ !

NAIMA

कमेन्ट गर्नुहोस्