
भारतको प्रख्यात एस्सार समूहले बेलायतमा कम–कार्बन ऊर्जा रूपान्तरण परियोजनाहरू निर्माण गर्न ४.३ अर्ब पाउन्ड (करिब ५.७९ अर्ब डलर) लगानी गर्ने घोषणा गरेको छ। समूहले सोमबार विज्ञप्ति जारी गर्दै सन् २०३५ सम्ममा सो लगानी सम्पन्न गर्ने योजना सार्वजनिक गरेको हो ।
स्टेनलो इनर्जी हब: एस्सार समूहको इकाइ ‘एस्सार इनर्जी ट्रान्जिसन फ्युएल’ले प्रतिदिन २ लाख ब्यारेल क्षमताको स्टेनलो रिफाइनरी सञ्चालन गर्दै आएको छ।
ईईटीएफ का अध्यक्ष प्रशान्त रुइयाले ४.३ अर्ब पाउन्डको लगानी पाइपलाइनले बेलायतको ऊर्जा रूपान्तरणमा सहयोग पुर्याउनुका साथै दीर्घकालीन आर्थिक मूल्य सिर्जना गर्ने र हजारौँ उच्च दक्ष रोजगारीका अवसरहरू पैदा गर्ने बताएका छन्।
कुल लगानीमध्ये १ अर्बभन्दा बढी पाउन्ड स्टेनलोलाई अग्रणी ऊर्जा रूपान्तरण केन्द्रमा रूपान्तरण गर्नका लागि अन्तिम लगानीको निर्णय लिने चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ।
एस्सारले बेलायतमा आफ्नो खुद्रा नेटवर्क विस्तार गर्दै ८०० नयाँ स्थानमा इन्धन आपूर्ति गर्ने लक्ष्य राखेको छ। यसका साथै, समूहले स्टेनलो परियोजना नजिकै डाटा सेन्टरहरू निर्माण गर्ने सम्भावनाको समेत खोजी गरिरहेको छ।