२७ साउन २०८३, बुधबार
मधेशबारे संसद्‌मा अमरेशको ध्यानाकर्षण

संसद्‌मा अमशेरको प्रश्न– मधेशमा लाठीचार्ज र टियर ग्यास भन्दा पहिले गोली किन चल्छ ?

साउन १९, २०८३
काठमाडौं
संसद्‌मा अमशेरको प्रश्न– मधेशमा लाठीचार्ज र टियर ग्यास भन्दा पहिले गोली किन चल्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले मधेशमा हुने आन्दोलनहरूमा सुरक्षा निकायले सिधै गोली चलाउने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।​ 

मंगलबारको प्रतिनिधिसभा बैठकमा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले जुनसुकै आन्दोलनमा पनि सुरक्षा बलले घातक हतियार प्रयोग गर्ने गरेकोमा आपत्ति जनाए । भीड नियन्त्रणका लागि वैकल्पिक उपायहरू हुँदाहुँदै सिधै गोली चलाउनुपर्ने कारणबारे उनले सरकारसँग प्रश्न गरे ।

उनले लाठीचार्ज, पानीको फोहोरा वा अश्रुग्यास (टियर ग्यास) जस्ता प्राथमिक विकल्पहरूको प्रयोग नगरी किन सिधै गोली चलाइएको भन्दै उनले सुरक्षाकर्मीको नियतमाथि प्रश्न उठाए । ‘मधेशमा पुगेपछि के हाम्रा सुरक्षा निकायको मनोविज्ञान नै त्यस्तै आक्रामक हुन्छ? अरू कुनै विकल्प नखोजी सिधै गोली प्रहार गर्नुको पछाडि के कारण छ, सरकारले स्पष्ट पार्नुपर्छ,’ उनले भने ।

सांसद सिंहले मधेश क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले गरिरहेको उपेक्षा र बजेट व्यवस्थापनको विभेदपूर्ण शैलीप्रति पनि आक्रोश व्यक्त गरे ।

उनले सेना र प्रहरी जस्ता सुरक्षा निकायमा थप जनशक्ति नियुक्त गर्न सरकारसँग सधैं पर्याप्त बजेट हुने तर मधेशका विद्यालय र अस्पतालहरूमा आवश्यक शिक्षक तथा डाक्टर नियुक्त गर्न सधैं पैसाको अभाव देखाइने गरेको भन्दै असन्तुष्टि जनाए । ‘सेना, प्रहरी सबै नियुक्त गर्न राज्यसँग पैसा पुग्ने, तर मधेशमा शिक्षक र डाक्टर नियुक्त गर्न किन पैसा नपुग्ने,’ उनले प्रश्न गर्दै भने, ‘के मधेशलाई सधैं गरिबी, अभाव र उपेक्षाको सिकार बनाएर पछाडि धकेल्न खोजिएको त होइन?’

उनले मधेश समस्या समाधानको विषयमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनले खेलेको भूमिकाको प्रशंसा गरे ।

यसअघि शुक्रबार प्रधानमन्त्री बालेनसँग भएको भेटमा पनि अमरेशले मधेशका जिल्लामा शिक्षक र डाक्टरको दरबन्दी थप गर्न आग्रह गरेका थिए ।

NAIMA

कमेन्ट गर्नुहोस्