२७ साउन २०८३, बुधबार

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर​

साउन १९, २०८३
काठमाडौं
गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर​

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि, बुटवल, रूपन्देहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार नदीजन्य पदार्थको सङ्कलन तथा निकासीमा अनियमितता गरेको भन्ने उजुरी आयोगका परेको थियो ।

अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलेमतोमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा वडा नम्बर १ र २ का विभिन्न स्थानमा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेन्डरमा एक करोड ४१ लाख ५० हजार रुपैयाँ सगुन कन्स्ट्रक्सनलाई राजस्व छुट दिएर सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याएको दाबी आयोगको छ ।

आयोगले अध्यक्ष अहिरसहित गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी, प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन भन्ने विरास पुनलाई पनि प्रतिवादी बनाएको छ ।

आयोगले उनीहरूविरुद्ध जनही १ करोड ४१ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा दोब्बर जरिवानाको मागदाबी गरेको छ ।

हेर्नुहोस्, अभियोगपत्र : 

 

NAIMA

कमेन्ट गर्नुहोस्