२७ साउन २०८३, बुधबार
अलपत्र मेगा प्रोजेक्ट !

२२ वर्षदेखि अल्झिएको ५३ अर्बको 'सिक्टा सिँचाइ'– बालेन सरकारको निर्देशनले ५ वर्षमै बन्ला ?

साउन १९, २०८३
काठमाडौं

एउटा यस्तो राष्ट्रिय गौरवको आयोजना, जसले बाँकेका करिब ४७ हजार घरधुरीका साढे ४ लाखभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य राखेको छ ।

एउटै जिल्लाको ४२ हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यसहित अघि बढाइएको यो आयोजना निर्माण शुरू भएको २२ वर्ष पुग्न लागिसक्यो ।

तर, अहिलेसम्म आयोजनाको भौतिक प्रगति भने ५१ प्रतिशत मात्रै छ । आयोजनामा अहिलेसम्म २४ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

कुल लागत झन्डै ५३ अर्ब रुपैयाँ पुगिसकेको छ ।

र, अहिले नयाँ सरकारको नयाँ निर्देशन छ– अबको ५ वर्षभित्रै आयोजना सम्पन्न गर्नू ।

तर प्रश्न उही छ–

२२ वर्षमा आधा मात्रै काम भएको सिक्टा सिँचाइ आयोजना अब पाँच वर्षभित्र कसरी सम्पन्न होला ?

आउनुहोस्, यसको चिरफार गरौँ ।

****

पश्चिम नेपालको बाँके जिल्ला कृषि उत्पादनको ठूलो सम्भावना भएको क्षेत्र हो ।

तर, यहाँको कृषि उत्पादनमा सबैभन्दा ठूलो बाधक बनेको छ– सिँचाइको अभाव ।

नेपालकै अत्यधिक गर्मी हुने स्थानमध्ये पर्ने बाँकेमा पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानहरू वर्षाको पानीमा निर्भर हुनुपर्ने अवस्था छ ।

यही समस्या समाधान गर्न सरकारले करिब २२ वर्षअघि सिक्टा सिँचाइ आयोजना अघि बढाएको थियो ।

तर अहिले २०८३ सालसम्म आइपुग्दा पनि आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत मात्रै छ ।

आयोजनाका लागि अहिलेसम्म २४ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

यसैबीच, बालेन्द्र शाह नेतृत्वको सरकारले सिक्टा सिँचाइ आयोजनालाई पाँच वर्षभित्रै सम्पन्न गर्ने निर्देशन दिएको छ ।

जबकि आयोजनाको अहिलेको सम्पन्न गर्ने समयावधि आर्थिक वर्ष २०८९/९० सम्म रहेको छ ।

****

आखिर के हो सिक्टा सिँचाइ आयोजना ? अब यसको शुरूवाततर्फ फर्कौँ ।

आर्थिक वर्ष २०६१/६२ मा बाँकेमा सिक्टा सिँचाइ आयोजना निर्माण शुरू गरिएको थियो ।

आयोजनाको लक्ष्य थियो– ४६ हजार ७१५ घरधुरीका ४ लाख ५० हजार किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने ।

यसले बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ ।

राप्ती सोनारी गाउँपालिकास्थित अगैयामा राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी त्यहाँबाट नहरमार्फत पानी विभिन्न क्षेत्रमा पुर्‍याउने योजना हो ।

यसबाट नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालगायतका क्षेत्र सिँचाइबाट लाभान्वित हुनेछन् ।

बाँके पूर्ण रूपमा सुख्खा जिल्लामा पर्छ ।

यहाँ पश्चिम राप्ती नदी मात्रै सिँचाइको भरपर्दो स्रोत हो ।

त्यसैले सिक्टा आयोजना बाँकेको कृषि क्षेत्रका लागि एउटा ठूलो आशाका रूपमा अघि बढाइएको हो ।

****

सिक्टाको कथा २२ वर्षभन्दा पनि पुरानो छ  ।

सिक्टा सिँचाइ आयोजनाको अवधारणा आजभन्दा धेरै पहिलेदेखि चर्चामा थियो ।

सन् १९७५ अर्थात् वि.सं. २०३२ मा पश्चिम राप्ती बहुउद्देश्यीय आयोजनाका लागि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा सिक्टा सिँचाइ आयोजना उल्लेख गरिएको थियो ।

त्यतिबेला यूएनडीपी र एसियाली विकास बैंकको सहयोगमा जर्मन परामर्शदाता मर्फले सिक्टा सिँचाइ आयोजनाको अध्ययन गरेको थियो ।

वि.सं. २०३६ सालमा अध्ययन प्रतिवेदन बुझाइयो ।

तर एसियाली विकास बैंकबाट आर्थिक सहायता उपलब्ध हुन नसकेपछि आयोजना अघि बढ्न सकेन ।

त्यसपछि वि.सं. २०४० सालमा फेरि अध्ययन गरियो ।

यसपटक तत्कालीन सिँचाइ, वातावरण तथा मौसम विभागअन्तर्गतको क्षेत्रीय सिँचाइ निर्देशनालयले अध्ययन गरेको थियो ।

त्यसपछि वि.सं. २०५९ सालमा युरोपेली युनियनको आर्थिक सहयोगमा अन्तिमपटक सम्भाव्यता अध्ययन गरियो ।

अध्ययनले आयोजनालाई कार्यान्वयनमा लैजान सिफारिस गर्‍यो ।

त्यतिबेलाको अध्ययनअनुसार आयोजनाको लागत ७ अर्ब ४५ करोड रुपैयाँ अनुमान गरिएको थियो ।

आयोजना ७ वर्षमा सम्पन्न गर्ने अनुमान थियो ।

तर त्यसअनुसार आयोजना अघि बढ्न सकेन ।

****

शुरूमा बाह्य आर्थिक सहयोग जुटाएर आयोजना निर्माण गर्ने तयारी गरिएको थियो ।

दातृ निकायहरू तयार पनि भएका थिए ।

तर विविध कारणले आवश्यक सहयोग प्राप्त हुन सकेन ।

त्यसपछि नेपालले आफ्नै आन्तरिक स्रोतबाट आयोजना निर्माण गर्नुपर्ने भयो ।

अन्ततः २०६१ चैत २४ गते नेपाल सरकारले १२ अर्ब ८० करोड रुपैयाँको लागतमा आयोजना अघि बढाउने स्वीकृति दियो ।

त्यतिबेला आयोजनालाई आर्थिक वर्ष २०७०/७१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर त्यसपछि यसको कथा फेरि बदलियो ।

आर्थिक वर्ष २०६८/६९ मा सिक्टा सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत भयो ।

शुरूमा पहिलो र दोस्रो फेजको कामका लागि मात्रै स्वीकृति दिइएको थियो ।

तर, पछि आयोजनाको क्षमता र क्षेत्र विस्तार गरियो ।

वि.सं. २०७० सालमा आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्नेगरी संशोधित लागतसहित २५ अर्ब २ करोड रुपैयाँको स्वीकृति दिइयो ।

तर, २०७६/७७ मा आइपुग्दा पनि आयोजना सम्पन्न हुन सकेन ।

त्यसपछि यसको समयावधि आर्थिक वर्ष २०८६/८७ सम्म थप गरियो ।

लागत बढेर ३० अर्ब ९८ करोड रुपैयाँ पुग्यो ।

त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा लागत ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्‍याउँदै आर्थिक वर्ष २०८९/९० सम्म आयोजना सम्पन्न गर्नेगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृति दिइयो ।

अर्थात्–

लागत बढ्दै गयो ।

समय थपिँदै गयो ।

तर, आयोजना अझै पूर्ण भएको छैन ।

****

अब कुरा गरौँ, अहिले आयोजना कसरी निर्माण भइरहेको छ ?

राप्ती नदीमा बाँध बनाएर त्यहाँबाट पानी दुई प्रमुख नहरमार्फत पूर्व र पश्चिमतर्फ लैजाने गरी आयोजना निर्माण गरिएको छ ।

पूर्वी मूल नहर ५३.५ किलोमिटर लामो छ ।

यसको क्षमता १४.९ घनमिटर प्रतिसेकेन्ड रहेको छ ।

यस खण्डमा अहिलेसम्म ३७ किलोमिटर नहर निर्माणको काम सम्पन्न भएको छ ।

त्यस्तै, पश्चिमतर्फको मूल नहर ५० किलोमिटर लामो छ ।

यसको क्षमता ५० घनमिटर प्रतिसेकेन्ड रहेको छ ।

यसतर्फ ४५ किलोमिटर मूल नहरको काम सम्पन्न भइसकेको छ  ।

पूर्व र पश्चिमतर्फका दुवै मूल नहरमा गरी कुल २२३ किलोमिटर शाखा तथा उपशाखा नहर निर्माण गर्नुपर्ने छ ।

पश्चिमतर्फको नहरको उपशाखा बनाउने काम भने ७० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

मूल नहरको काम करिब–करिब सम्पन्न भएको र अन्य शाखा तथा उपशाखा नहर निर्माणको काम पनि तीव्र गतिमा भइरहेको आयोजनाको भनाइ छ  ।

यससँगै डिसिल्टिङ बेसिन, फ्लसिङ च्यानल, तटबन्ध निर्माण तथा नहर र अन्य संरचनाका लागि आवश्यक जमिन अधिग्रहणको काम पनि सँग–सँगै भइरहेको छ ।

आयोजनाका लागि आवश्यक करिब १०० हेक्टर जमिन अझै अधिग्रहण गर्न बाँकी छ ।

****

सिक्टा सिँचाइ आयोजनाले पश्चिमी मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब ९ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुर्‍याउने लक्ष्य राखेको छ ।

अहिलेसम्म निर्माण भएका नहरबाट करिब २५ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

आयोजनाले वि.सं. २०७५ सालदेखि २–४ हजार हेक्टर गर्दै सिँचाइ दिन शुरू गरेको थियो ।

अहिले त्यो क्षेत्र बढेर करिब २५ हजार हेक्टर पुगेको छ ।

आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि बाँके जिल्लामा बाह्रै महिना सिँचाइका लागि पर्याप्त पानी उपलब्ध हुने अपेक्षा गरिएको छ ।

****

सिक्टा सिँचाइ आयोजना केवल एउटा पूर्वाधार परियोजना होइन ।

यो बाँकेको कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको आयोजना हो ।

करिब ४७ हजार घरधुरीका साढे ४ लाखभन्दा बढी किसान यसको प्रत्यक्ष लाभग्राही बन्ने अपेक्षा गरिएको छ ।

४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ ।

अहिले नै करिब २५ हजार हेक्टरमा सिँचाइ पुग्न थालेको छ ।

तर पूर्ण क्षमतामा आयोजना सञ्चालनमा आउन बाँकी छ ।

त्यसैले अब सबैभन्दा ठूलो प्रश्न यही हो–

२२ वर्षदेखि निर्माणाधीन सिक्टा सिँचाइ आयोजना अब साँच्चिकै पाँच वर्षभित्र सम्पन्न होला ? यो प्रश्नको जवाफ भने भविष्यकै गर्भमा छ ।

हेर्नुहोस्, भिडियो :

NAIMA

कमेन्ट गर्नुहोस्