२७ साउन २०८३, बुधबार

हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण र यमनको पलेँटी

साउन १९, २०८३
काठमाडौं
हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण र यमनको पलेँटी

गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको 'आर'शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमन श्रेष्ठको 'पलेँटी' सम्पन्न भएको छ ।

पलेँटी विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम हो । आजभन्दा १८ वर्ष पहिले पनि यसै कार्यक्रममा मदनकृष्ण श्रेष्ठको एकल गायन प्रस्तुत भएको थियो । यसपालि भने मञ्चमा मदनकृष्णका साथ उनका छोरा यमन श्रेष्ठको गायन समेत प्रस्तुत भएको थियो ।

कार्यक्रमको सञ्चालन पलेँटीका संयोजक तथा संगीतकार आभासले गरेका थिए । झन्डै २ घण्टासम्म चलेको कार्यक्रममा १६ वटा गीत समेटिएका थिए । 

कार्यक्रममा समावेश गीतमा मदनकृष्ण र यमन श्रेष्ठका अलावा कवि दुर्गालाल श्रेष्ठ, नीर शाह, दिनेश अधिकारी, कमल मैनाली, राजनराज शिवाकोटीका शब्द-रचना समेटिएका थिए । 

प्रस्तुत गीतमा न्ह्यू बज्राचार्य, शक्ति बल्लभ, हरि लम्साल, राजनराज सिवाकोटीले भरेका धुनकासाथै अधिकांश धुन मदनकृष्ण र यमन श्रेष्ठकै सृजना रहेका थिए ।

कार्यक्रमको थालनी मदनकृष्णको लोकप्रिय गीत 'अरबौं मान्छेहरूमा तिमी एक मनमिल्ने मान्छे'बाट भएको थियो ।

पहिलो गीतको प्रस्तुतिपछि कार्यक्रम सञ्चालकले मदनकृष्ण श्रेष्ठको स्वास्थ्यप्रति इंगित गर्दै 'यसपालीको पलेँटीमा हामी मदनदाइले कस्तो गाउनुहुन्छ भनेर उपस्थित भएकाभन्दा पनि उहाँको सक्रियताको सेलिब्रेसनको लागि उपस्थित भएका हौ...' भन्दा दर्शकको तालीले 'आर'शाला जीवन्त बनेको थियो ।

कार्यक्रमको दोस्रो प्रस्तुतिमा यमनले 'जिन्दगीमा सायद मैले जिउनै जानिनँ' बोलको गीत सुनाएका थिए । मदनकृष्णको शब्द रहेको यस गीतको प्रस्तुति लगत्तै उनले आफ्नै रचनामा रहेको 'नौलो बस्ती देखेँ, जहाँ कोही मान्छे छैन' बोलको गीत सुनाएका थिए ।

कार्यक्रमको पहिलो चरणमा गम्भीर खालका गीत समावेश गरिएका थिए तर पनि कार्यक्रम सञ्चालकको जिज्ञासासँगसँगै मदनकृष्ण श्रेष्ठ र यमन दुवै ठट्यौली पारामा आफ्नो संस्मरण सुनाउँथे र हल हाँसोले गुन्जायमान बन्न पुग्थ्यो ।

कार्यक्रमको चौथो र पाँचौं प्रस्तुतिमा मदनकृष्णले आफ्नै शब्द संगीतमा रहेको 'तिमीलेभन्दा धेरै माया दिने' र राजनराज शिवाकोटीको 'बिर्सीदे भन्छौ मायालु' बोलका गीत सुनाएका थिए । 

छैठौँ कोसेलीमा गीतकार कमल मैनालीको रचना 'हेर्दा कतै घाउ छैन, नदुखेको ठाउँ छैन' बोलको गीत रहेको थियो । जसलाई आफैंले भरेको धुनमा यमनले प्रस्तुत गरेका थिए ।

यसपछि कार्यक्रममा मदन कृष्ण श्रेष्ठको जीवनसँग मेल खाने गम्भीर प्रकृतिको काव्यात्मक गीत प्रस्तुत भएको थियो । कवि तथा गीतकार दिनेश अधिकारीले लेखेको यस गीतमा संगीतकार हरि लम्सालले धुन भरेका छन् ।
'पहाड भो मलाई यो उमेर काट्न,
नसक्ने भएछु तिमी बिना बाँच्न'...

यस गीतमा काव्य वाचन शैलीको प्रयोग गरिएको छ । कार्यक्रममा मदनकृष्णले कविता अंश वाचन गर्दा अधिकांश दर्शकहरूका गह रसाएका देखिन्थे ।

कार्यक्रमको मध्यभागमा आइपुग्दा यमनले गीतकार नीर शाहले रचना गरेको र आफैले धुन भरेको 'यो मन बदल्न चाहन्न, एक्लो पन बदल्न चाहन्न' बोलको गीत सुनाएका थिए । त्यसपछि यमनले नै दिनेश अधिकारीले रचना गरेको चलचित्र ‘फिलिम’का निम्ति बनेको तर प्राविधिक कारणले फिलिममा नसमेटिएको 'मान्छेले किन मान्छेलाई मार्छ, ताकेर निशाना' बोलको गीत गाएका थिए ।

कार्यक्रमको मध्यभागपछि प्रस्तुत भएका गीतहरूमा चाहिँ प्रेम, उमङ्ग, हास्य र देशप्रेमको झलक पाइन्थ्यो । यस क्रमलाई अघि बढाउँदै मदनकृष्णले 'खोलावारी खोलापारी पिपल र बर, हावा चल्यो पात हल्यो माया वर वर' र 'म 'तिम्रो जन्मदिनमा, हावा बनी, याद बनी, शुभकामना लिई आउनेछु' बोलका गीत प्रस्तुत गरेका थिए । 

यस क्रममा मदनकृष्ण श्रेष्ठले सुदूर विगतमा आफूले अल इन्डिया रेडियो र दूरदर्शनमा समेत गीत रेकर्ड र छायांकन गरेको सम्झना गरेका थिए । उनले दूरदर्शनमा गीत छायांकन गर्दा दूतावासका कर्मचारीको दौरा सुरुवाल मागेर पहिरिनु परेको सम्झना गर्दै सुरुवालको घुँडामा प्वाल परेको सन्दर्भ कोट्याउँदा दर्शकवृन्दमा हाँसोको फोहोरा फुत्केको थियो ।

कार्यक्रमको पछिल्लो चरणमा रिदमिक, व्यङ्ग्यात्मक र हास्यप्रधान गीतहरूको बाहुल्यता रहेको थियो । यस क्रममा यमन श्रेष्ठले 'रिम्दै आए घुम्दै आए अमेरिकामा' बोलको गीतमार्फत अमेरिका बसाइको अनुभव अभिव्यक्त गरेका थिए । उनले 'मुख र कान भेट हो कि' शीर्षकको गीतमार्फत भने नेपाली समाजमा रहेको कुरा काट्ने प्रवृत्तिमाथि व्यङ्ग्य कसेका थिए ।

कार्यक्रमको १५औं प्रस्तुतिमा मदनकृष्णको गायन रहेको थियो । राजनराज शिवाकोटीको सृजना 'फुलबुट्टे सारी सपक्कै पारी, पछ्यौरी मलमलको' गीत प्रस्तुत गर्दा दर्शकहरूका ओठ पनि चलमलाइरहेका देखिन्थे । यसपछि यमनले पुरानो लोकप्रिय धुनमा आधारित रहेर आफ्नो बायोग्राफीकल गीत 'हिमालको काखमा छ, मेरो सानो गाउँ, मदन कृष्णको छोरा हुँ म, यमन मेरो नाउँ'लाई हास्य पारामा सुनाएका थिए ।

कार्यक्रमको समापन कवि दुर्गालाल श्रेष्ठले रचना गरेको र न्ह्यू बज्राचार्यले धुन भरेको 'सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल'बाट भएको थियो । दुवै दिनका कार्यक्रमलाई दर्शकहरूले ‘स्ट्याण्डिङ ओभेसन’ प्रदर्शन गरेका थिए ।

हाँसो, प्रेम र करुणाले भरिपूर्ण यसपालिको पलेँटीमा मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि आजसम्मका संस्मरणलाई समेट्ने प्रयास गरिएको थियो । साथै छोरा यमन श्रेष्ठको सांगीतिक प्रतिभालाई पनि उजागर गर्ने प्रयत्न गरिएको थियो ।

यसपालिको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, लिड र रिदम गिटारमा कृपेश लोहनी, बेस गिटारमा सुदीप खत्री, तबलामा मिलेश तण्डुकार र प्रकसनमा सुन्दर कुमार महर्जनको सहभागिता रहेको थियो ।

पलेँटी अङ्ग्रेजी महिनाको सप्ताहन्तमा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम हो ।

यो शृङ्खला अन्तरगत अगष्ट महिनाको पलेँटीमा (२८ र २९ तारिक) नीर शाह प्रस्तुत हुने भएका छन् । शाह अभिनय क्षेत्रका चर्चित कलाकार हुन् । 

साथै, उनी गीति सृजनामा पनि उल्लेख्य योगदान गर्दै आएका लोकप्रिय गीतकार हुन् । शाहले रचेका 'कहिलेकाँही म हाँस्छु', ‘पर्खी बसेँ आउला भनी मेरो, उठ्ने पालो', ‘बादल बनाइदेऊ' लगायत थुप्रै गीतहरू लोकप्रिय छन् । सो कार्यक्रममा नीर शाहले आफ्ना रचनाका रचनागर्भ सुनाउने छन् भने पलेँटी टिमले उनका गीति सृजनाहरू प्रस्तुत गर्नेछ ।

NAIMA

कमेन्ट गर्नुहोस्