२७ साउन २०८३, बुधबार
संकटमा इन्फान्टिनो

विश्वकपलगत्तै फिफामा ‘हलचल’: अध्यक्ष इन्फान्टिनोको पद धरापमा, यी हुन् सम्भावित नाम

साउन १९, २०८३
काठमाडौं

सन् २०२६ को विश्वकप फूटबलको भव्य समापनसँगै विश्व खेलकुदको सर्वोच्च निकाय फिफामा भने ‘आन्तरिक भूकम्प’ शुरू भएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो अहिले कठिन मोडमा उभिएका छन् । एकपछि अर्को विवादित निर्णय र अपारदर्शी कार्यशैलीका कारण उनीविरुद्ध फिफा काउन्सिलभित्रै ‘विद्रोह’को ज्वाला दन्किएको छ ।

भर्खरै सकिएको विश्वकपको उत्साह सेलाउन नपाउँदै इन्फान्टिनोको एउटा गोप्य योजना सार्वजनिक भयो, जसले फिफाभित्र खैलाबैला मच्चायो ।

इन्फान्टिनोले फिफाका प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजना अघि सारेपछि उनीविरुद्ध विश्व फूटबलका शक्तिशाली निकायहरू एकजुट भएका छन् ।

इन्फान्टिनो ‘फिफा फर्वार्ड इन्टरप्राइज’नामक नयाँ व्यावसायिक संस्था खडा गरेर विश्वकपको २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बेच्ने योजनामा थिए ।

खासगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नातेदार जारेड कुस्नरका भाइ जोशुआ कुस्नरको ‘थ्राइभ क्यापिटल’सँगको यो सम्झौताले फिफाका अधिकारीहरूलाई झस्कायो ।

यो योजना सार्वजनिक हुनासाथ युरोपेली फूटबल महासंघ (युईएफए) र एसियाली फूटबल महासंघ (एएफसी) ले कडा आपत्ति जनाए ।

करिब एक सय ४३ सदस्य राष्ट्रहरू यो प्रस्तावको विपक्षमा उभिएपछि इन्फान्टिनो आफ्नो निर्णयबाट पछि हट्न बाध्य भए ।

तर, अध्यक्ष इन्फान्टिनोको राजनीतिक भविष्य भने निकै धमिलो देखिएको छ । यो ‘यू–टर्न’ले उनको नेतृत्वलाई जोगाउनुको साटो झन् कमजोर बनाउँदै लगेको छ ।

आफ्नै कर्मचारीले लगाएको ‘छल–कपट’को आरोप र वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोको राजीनामाले सन् २०१६ देखि फिफाको बागडोर सम्हाल्दै आएका इन्फान्टिनोको साख गिराएको छ ।

सबैभन्दा ठूलो धक्का यूईएफएबाट आएको छ, जसले उनीमाथिको ‘विश्वास गुमेको’ स्पष्ट पारेको छ । यूईएफएको उच्च स्रोतहरूका अनुसार, यदि इन्फान्टिनोले अध्यक्ष पदबाट राजीनामा नदिए उनीविरुद्ध ‘असहयोग आन्दोलन’ गर्ने तयारी अगाडि बढाइएको छ ।

यूईएफएका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘हामीहरू फिफाको बैठकमा सहभागी नहुने विकल्पमा स्पष्ट छौं । यूईएफएले यो प्रक्रियालाई ‘अत्यन्तै कमजोर सुशासन’को संज्ञा दिँदै कानूनी उपचार खोज्ने चेतावनी पनि दिएको छ ।

साथै, यूईएफएले यो प्रकरणसँग सम्बन्धित सबै कागजात, इमेल र सन्देशहरू सुरक्षित राख्न पनि फिफालाई कडा निर्देशन दिएको छ ।

इन्फान्टिनोको संकट विश्वकपको हिस्सा बेच्ने योजनामा मात्र सीमित छैन । विश्वकप चलिरहँदा अमेरिकी खेलाडी फोलारिन बालोगनमाथि लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय पनि फिफाका लागि ‘बदनामीको टीका’ बनेको थियो ।

रिपोर्टहरूका अनुसार, यो निर्णय लिन अमेरिकी राष्ट्रपति ट्रम्पले इन्फान्टिनोलाई पटक–पटक फोन गरेका थिए । यसले फिफाको ‘राजनीतिक तटस्थता’को नियम उल्लंघन गरेको आरोप लागेको छ । नर्वेजियन फूटबल संघले त यस विषयमा उजुरी नै दिएको छ ।

यद्यपि, फिफाले यो निर्णय स्वतन्त्र रूपमा गरिएको दाबी गरे पनि अहिलेसम्म कुनै लिखित प्रतिवेदन भने सार्वजनिक गर्न सकेको छैन ।

फिफा काउन्सिलका असन्तुष्ट सदस्यहरूले अब इन्फान्टिनोको बहिर्गमनको बाटो खोज्न थालेका छन् । काउन्सिलका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘हद भयो, अब विकल्प खोज्ने बेला आएको छ ।’

यूईएफएकी उपाध्यक्ष लाउरा म्याकएलिस्टरले पनि यो घटना फूटबल इतिहासकै एक महत्त्वपूर्ण मोड भएको बताउँदै भनेकी छन्, ‘हामी एकपक्षीय निर्णयका कारण सधैँ समस्यामा पर्न सक्दैनौं । म आशा गर्छु कि छिट्टै नेतृत्वमा परिवर्तन हुनेछ ।’

फिफाको नियमअनुसार, ३७ सदस्यीय काउन्सिलका १९ जना सदस्यले चाहेमा ‘विशेष साधारणसभा’ बोलाएर अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्छन् ।

अहिले असन्तुष्टहरूको संख्या दोहोरो अंकमा पुगिसकेको छ । इन्फान्टिनोले बालोगन काण्डमा स्वतन्त्र छानबिन गर्न अस्वीकार गरेमा उनीविरुद्धको अविश्वासको प्रस्ताव थप बलियो हुने निश्चित छ ।

यद्यपि, अध्यक्ष इन्फान्टिनोलाई अहिले पनि कतार फूटबल संघसहित अफ्रिकी र दक्षिण अमेरिकी फूटबल महासंघहरूको साथ कायमै छ ।

तर, युरोप र उत्तर अमेरिकाका १४ सदस्य उनको विपक्षमा खुलिसकेका छन् । यदि, एसियाली फूटबल महासंघको साथ पनि गुमाए भने इन्फान्टिनोको आशन ढल्न धेरै समय लाग्ने छैन ।

इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न उठाउँदै वेल्सले उनको चौथो कार्यकालको उम्मेदवारीलाई समर्थन नगर्ने घोषणा गरिसकेको छ भने इङ्ल्यान्डको फूटबल एसोसिएसन पनि सोही बाटोमा छ । सर्बिया, स्वीडेन र फिनल्यान्डले पनि आफ्नो समर्थन फिर्ता लिएका छन् ।

मोरक्को, कतार, लेबनान, कुवेत र श्रीलंकालगायतका देशहरूले भने इन्फान्टिनोलाई नै समर्थन जारी राखेका छन् । अफ्रिका, दक्षिण अमेरिका र ओसियानाका फूटबल संघहरूले पनि अहिलेसम्म इन्फान्टिनोको योजनाको आलोचना गरेका छैनन् ।

आगामी मार्चमा हुने निर्वाचनमा पुन: निर्वाचित हुन इन्फान्टिनोलाई फिफाका २११ सदस्यमध्ये १०६ मत आवश्यक पर्छ । तर, उनको विरोधमा उभिएको समूहले फिफा काउन्सिलको आपत्कालीन बैठक बोलाएर उनलाई राजीनामा दिन बाध्य पार्ने रणनीति बनाएका छन् ।
 
त्यसैले, इन्फान्टिनोको सम्भावित उत्तराधिकारीको खोजी पनि शुरू भइसकेको छ । त्यसमध्ये प्रमुख नाम थियो, ५२ वर्षीय नासिर अल–खेलाइफीको । उनी कतारी व्यवसायी र पूर्वटेनिस खेलाडी हुन् ।

उनी युरोपियन फूटबल क्लबहरूको शक्तिशाली समूहका प्रमुख र यूईएफएको कार्यकारी समितिका सदस्यसमेत हुन् । उनी पेरिस सेन्ट जर्मन (पीएसजी)का अध्यक्ष पनि हुन् ।

पीएसजीले सन् २०२५ र सन् २०२६ मा च्याम्पियन्स लिग जित्नुमा उनको कुशल नेतृत्वलाई प्रमुख कारण मानिन्छ । तर, इन्फान्टिनोलाई कतारको समर्थनका कारण उनको नाम चर्चाबाट बाहिरिएको छ ।

यसका अतिरिक्त, अन्य केही नामहरू पनि चर्चामा छन् । फिफाका उपाध्यक्षसमेत रहेका ६० वर्षीय भिक्टर मोन्टाग्लियानीलाई पनि अध्यक्षका लागि बलियो दाबेदार मानिएको छ ।

उत्तर र मध्य अमेरिका तथा क्यारिबियन फूटबल महासंघका अध्यक्षको रूपमा उनले सन् २०२६ को विश्वकप आयोजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । फिफाभित्रकै अनुभवी खेलाडी भएकाले उनी धेरैको रोजाइमा पर्न सक्ने अनुमान गरिएको छ ।

यसैगरी, एशियाली फूटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल–खफिलाले इन्फान्टिनोको पछिल्लो योजनालाई ‘पूर्णत: अस्वीकार्य’ भन्दै सार्वजनिक रूपमै कडा आलोचना गरेका थिए ।

बहराइनको राजपरिवारका सदस्यसमेत रहेका उनी सन् २०१६ को निर्वाचनमा इन्फान्टिनोसँगै पराजित भएका थिए । १० वर्षअघि गुमेको अवसरलाई उनले यसपटक पुरा गर्ने प्रयास गर्न सक्छन् ।

फूटबलको सबैभन्दा धनी र शक्तिशाली महासंघ यूईएफएका प्रमुख अलेक्जेन्डर सेफेरिनले पनि इन्फान्टिनोविरुद्ध मोर्चाबन्दीको नेतृत्व गरिरहेका छन् ।

‘विश्वकप बिक्रीका लागि होइन’ भन्दै उनले फिफाका कार्यक्रम बहिस्कार गर्ने घोषणा गरिसकेका छन् । ५८ वर्षीय स्लोभेनियाली कानुन ब्यवसायी सेफेरिन यदि चुनावी मैदानमा उत्रिए भने उनले फिफाका दुई सय ११ सदस्य राष्ट्रमध्ये ठूलो हिस्सालाई आफूतिर तान्न सक्ने क्षमता राख्छन् ।

यसैगरी, अफ्रिकी फूटबल महासंघका प्रमुख प्याट्रिस मोटसेप पनि यो दौडमा छन् । तर, उनको सम्भावना भने तुलनात्मक रुपमा कम देखिन्छ ।

३.७ अर्ब डलरको सम्पत्ति भएका यी दक्षिण अफ्रिकी व्यवसायीले अफ्रिकी फूटबलमा केही सुधारका प्रयास गरे पनि, हालैको अफ्रिकन कप अफ नेसन्सको विवादले उनको छविमाथि प्रश्न उठाएको छ । यद्यपि, उनी एक ‘आउटसाइडर’ का रूपमा चर्चामा छन् ।

यसैगरी, सन् २०२४ को मे महिनामा फिफाको महासचिवमा नियुक्त भएका मटियास ग्राफस्ट्रोम पनि अहिले फिफाभित्र निकै प्रभावशाली व्यक्तित्वका रूपमा उदाएका छन् ।

उनलाई पनि अध्यक्ष पदको दाबेदारका रूपमा हेरिएको छ । सन् २०१६ मा इन्फान्टिनो फिफा अध्यक्षमा निर्वाचित भएलगत्तै ग्राफस्ट्रोम उनको प्रमुख सहयोगीका रूपमा कार्यरत थिए ।

उनी पछिल्लो समय विश्वकपजस्ता ठूला प्रतियोगिताहरूमा निकै सक्रिय र चर्चामा रहने पात्र हुन् । यद्यपि, उनको उम्मेदवारीलाई लिएर केही चुनौतीहरू पनि देखिएका छन् ।

उनलाई वर्तमान अध्यक्ष इन्फान्टिनोको निकै नजिकको मान्छेका रूपमा हेरिन्छ । जसले गर्दा स्वतन्त्र छविको खोजीमा रहेका मतदाताहरूलाई प्रभावित पार्न उनलाई कठिन हुन सक्छ ।

फिफाको आगामी नेतृत्व गैर–युरोपेली व्यक्ति हुनुपर्छ भन्ने आमधारणा बलियो बन्दै गएको छ । स्वीडेनका नागरिक ग्राफस्ट्रोमका लागि यो पनि बाधक बन्न सक्ने विश्लेषण गरिएको छ ।

अर्कोतिर, आफ्नो बचाउमा ओर्लिएका इन्फान्टिनोले सामाजिक सञ्जालमार्फत आलोचकहरूमाथि कडा प्रहार गरेका छन् ।

उनले आफू र फिफाले गरेको मेहनतलाई नदेखी आलोचना मात्र गरेको आरोप लगाउँदै लेखेका छन्, ‘तपाईंहरू घृणा र अफवाह फैलाउन व्यस्त हुनुहुन्छ । हामी विश्वकै उत्कृष्ट खेल आयोजना गर्दैछौँ ।’

तर, उनको यो तर्कले फिफाका अधिकारीहरूलाई आश्वस्त पार्न सकेको छैन । आगामी नोभेम्बर १८ तारिखसम्म नयाँ उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने सम्भावना छ ।

विश्व फूटबलका धुरन्धर शक्तिहरूबीचको यो विभाजनले यतिबेला फिफाको भविष्यमाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको छ । पछिल्ला घटनाक्रमहरूले आगामी केही महिना फिफाको मुख्यालयमा ठूलै हलचल हुने देखिन्छ ।

हालै सम्पन्न विश्वकपलगत्तै शुरू भएको यो विवादले फिफाको नेतृत्व परिवर्तन गर्छ ? वा, इन्फान्टिनोले आफ्नो साख जोगाउँछन् ? त्यो भने हेर्न बाँकी नै छ ।

भिडियो सामग्री :

 

NAIMA

कमेन्ट गर्नुहोस्