२७ साउन २०८३, बुधबार
सरसर्ती २४ घण्टा

मोरङका एसपीलाई स्पष्टीकरणदेखि बजारमा ग्यासको हाहाकारसम्म

साउन २०, २०८३
काठमाडौं
मोरङका एसपीलाई स्पष्टीकरणदेखि बजारमा ग्यासको हाहाकारसम्म

'लोकान्तर राउण्ड अप' मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ ।

प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको हो ।

व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा हान्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधिएको प्रदेश प्रहरी कार्यालय कोशीका एक उच्च अधिकृतले बताए ।

००००

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ । मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको हो ।

००००

नेपाल आयल निगमले पनि बजारमा एलपी ग्यासको अभाव नरहेको दाबी गरेको छ ।  तर अहिले ग्यास नपाइको भन्दै उपभोक्ता भने तनावमा छन् ।

००००

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गत आर्थिक वर्षमा यात्रु, कार्गो तथा आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा नेपाल एयरलाइन्सको उडान सङ्ख्या, यात्रु सङ्ख्या, कार्गो ढुवानी र राजस्व सबै क्षेत्रमा वृद्धि भएको हो ।

००००

सर्वोच्च अदालतले ‘विशेष उद्योग’ले पाउने आयकर छुटको विवादमा १६ प्रतिशतको दरमा मात्र आयकर निर्धारण गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशहरू हरिप्रसाद फुयाल, शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागको नाममा परमादेश जारी गरेको हो ।

००००

धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अंकले घटेर दुई हजार ६६३ दशमलव १८ अंकमा झरेको हो ।

००००

सर्वोच्च अदालतले राजनीतिक दल विभाजन सम्बन्धी विवादमा एक महत्त्वपूर्ण फैसला सुनाउँदै अस्थायी प्रकृतिको अध्यादेश निष्क्रिय भएपछि साविककै मूल ऐनको व्यवस्था (४० प्रतिशतको प्रावधान) स्वतः ब्युँतिने सिद्धान्त प्रतिपादन गरेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनील कुमार पोखरेल र मेघराज पोखरेल सम्मिलित पूर्ण इजलासले जनमत पार्टीबाट विभाजित भई जनस्वराज पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरिदिएको हो ।

२०८२ कात्तिक २७ गते सर्वोच्चले गरेको उक्त फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले मधेशमा हुने आन्दोलनहरूमा सुरक्षा निकायले सिधै गोली चलाउने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।​

मंगलबारको प्रतिनिधिसभा बैठकमा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले जुनसुकै आन्दोलनमा पनि सुरक्षा बलले घातक हतियार प्रयोग गर्ने गरेकोमा आपत्ति जनाए । भीड नियन्त्रणका लागि वैकल्पिक उपायहरू हुँदाहुँदै सिधै गोली चलाउनुपर्ने कारणबारे उनले सरकारसँग प्रश्न गरे ।

००००

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि नाममा ‘सेना’ गठन गर्न नपाइने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्रीले ‘हिन्दू सम्राट सेना’ नामक समूहसँग वार्ता गरेको प्रसंग उल्लेख गर्दै नेपालमा सेना नामका विभिन्न समूह गठन गर्न कसले अनुमति दिएको भन्दै प्रश्न उठाए ।

००००

नेकपा (एमाले)ले सुनसरीमा ४ जना युवाको मृत्यु भएको घटनाको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ । एमालेले संसद्मा घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएको हो ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले सांसद गुरूप्रसाद बरालले सुनसरी घटनापछि ४ जनाको मृत्युको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए ।

००००

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबारको बैठकमा उनले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताएका हुन् ।

००००

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।

००००

सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा यही साउन १० गते भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले लोकान्तरलाई जानकारी दिए ।

NAIMA

कमेन्ट गर्नुहोस्