![असरल्ल तारले गुजुल्टिएको काठमाडौं ! [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Unmanaged_Wire_NPL_18_qjm0syCr5F.jpg)
काठमाडौंका सडकमा बिजुली, इन्टरनेट र टेलिफोनका तार असरल्ल देखिन्छन् । सञ्चार र ऊर्जामन्त्री दुवैले यसको व्यवस्थापन गर्न पटक-पटक निर्देशन दिए पनि यो काम सफल हुन सकेको छैन ।
संघीय राजधानी काठमाडौं टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले कुरूप बनेको छ । योजनाविहीन पूर्वाधार विस्तार, सेवा प्रदायकबीच समन्वयको अभाव, पुराना तथा प्रयोगविहीन तार समयमै नहटाइनु, पोलको सीमित क्षमता र भूमिगत पूर्वाधारको कमीले सहरभित्र अव्यवस्थित तारको समस्या बढेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ अन्तिममा काठमाडौंका विभिन्न ६ वटा मुख्य रुटमा टेलिफोन तथा इन्टरनेटका तार १५ दिनभित्र व्यवस्थापन गर्ने योजना अघि बढाएको थियो । गत असार अन्तिममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त बैठकमा साउन १५ भित्र सबै तार व्यवस्थापन गर्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

प्राधिकरणले त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रका तार व्यवस्थित गर्ने योजना बनाएको थियो ।
तर, त्यसमा सोचअनुसार प्रगति हुन सकेको छैन । यो काम सक्न अझै थप १५ दिन लाग्ने र साउन मसान्तभित्र सक्ने प्राधिकरणको भनाइ छ ।

जथाभावी झुन्डिएका र फैलिएका तारका कारण करेन्ट लाग्ने, आगलागी हुने तथा तार चुँडिएर दुर्घटना हुने जोखिम बढी हुन्छ । साथै, मर्मत–सम्भारका क्रममा कुन सेवा प्रदायकको तार हो भन्ने छुट्याउन कठिन हुने भएकाले सेवा अवरुद्ध हुने, समय र लागत बढ्ने तथा एउटा तार मर्मत गर्दा अर्को सेवा प्रभावित हुने समस्या देखिन्छ ।

प्राधिकरणले तारमा आफ्नो कम्पनीको पहिचान खुल्ने ट्याग राख्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । यो पनि कार्यान्वयन हुन सकेको छैन ।









तस्वीरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी