
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताहरूको निवास दु:ख-सुख साट्ने विश्वासको केन्द्र बन्नुपर्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियामाथि भएको भनिएको अपमानजनक घटनापछि भट्टराईले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका हुन् ।
सोमबार राति अध्यक्ष ओलीको निवासमा भएको घटनातर्फ इङ्गित गर्दै उपमहासचिव भट्टराईले फेसबुकमा लेखेका छन्, 'पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरू दुःख साट्ने, सुख बाँड्ने, प्रेमिल अनि भरोसा र विश्वासका केन्द्र बन्न सक्नुपर्दछ! जहाँ पारिवारिक र कमरेडली वातावरणमा छलफल हुन सकोस्! नत्र दुःख पर्दा जाने कहाँ?'
यद्यपि उनले आफ्नो स्टाटसमा प्रत्यक्ष रूपमा घटनाबारे केही खुलाएका छैनन् ।
बागमती प्रदेश सरकार गठनको विषयमा छलफल गर्न सोमबार बेलुका एमाले अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई आफ्नो गुण्डुस्थित निवासमा बोलाएका थिए। छलफलका क्रममा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई काम गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीसहित केही सांसदहरूले कडा आलोचना र अपमान गरेका थिए।
ओलीसहित सांसदहरू एकोहोरो आफूमाथि खनिएपछि प्रेसरका कारण नेता थपलिया ओली निवासमै मध्यराति अचानक ढलेका थिए । बेहोस भएर ढलेका उनलाई तत्कालै मध्यपुर थिमी अस्पताल पुर्याइएको थियो भने थप उपचारका लागि पछि वीर अस्पताल लगिएको थियो ।