
नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डमको व्यस्त स्थानमा नेपाली नाम भएका चर्चित रेस्टुरेन्टहरू छन्– अशोका, शेर्पा, यति लगायत । नेपालीले नै सञ्चालन गरेका यी रेस्टुरेन्टमध्ये अशोकामा डिनरका लागि २ दिनअघि नै बूकिङ गर्नुपर्छ ।
खाना खानका लागि पालो कुर्नुपर्ने गरी 'हस्पिटालिटी बिजनेस'मा चमत्कार गरिरहेका ती नेपाली हुन् – थानेश्वर कँडेल । जसले नेदरल्यान्ड्समा एउटा ब्राण्ड बनाए, जहाँ डिनर गर्नका लागि दुई दिन अगावै बूकिङ गर्नुपर्छ ।
बाग्लुङको एउटा गाउँबाट नेदरल्यान्ड्स आएर 'फाइन डाइन'मा ब्राण्ड बनाएका थानेश्वरको संघर्ष र सफलता आमनेपालीका लागि उदाहरण र प्रेरणा बन्न सक्छ ।
माओवादीले बोर्डिङ बन्द गराइदिएपछि मोडिएको यात्रा
बाग्लुङको काठेखोला गाउँपालिका लेखानीमा जन्मिएका थानेश्वरले गाउँकै स्कूलबाट २०५० सालमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनले बाग्लुङ सदरमुकाम (साविक धवलागिरी अञ्चलको सदरमुकाम)मा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा आईएल पढ्न थाले ।
२ वर्षमा आईएल पूरा गरेपछि थानेश्वरमाथि भाइबहिनीको पठनपाठनका लागि जेठो छोराले केही जागिर-इलम गरोस् भन्ने परिवारको आश थियो । परिवारको जिम्मेवारी बुझेका उनले गाउँमा परम्परागत कोदो-मकैको सट्टा व्यावसायिक खेतीको रूपमा सुन्तला रोप्न र कुखुरा फार्म शुरू गरेका थिए ।
भर्खर आईएल पास गरेको युवा उमेरमा थानेश्वरलाई गाउँमै केही गर्नुपर्छ भन्ने सोचले बोर्डिङ स्कूल खोल्न प्रेरित गर्यो । संवत् ०५० को दशकको शुरूमा गाउँतिर बोर्डिङ स्कूल खुल्ने लहर चलिरहेको थियो । थानेश्वरले २०५३ सालमा लेखानीमा पोलस्टार नामक बोर्डिङ स्थापना गरे ।
गाउँमै बोर्डिङ स्कूल खुलेपछि स्थानीयहरू खुसी थिए, बालबालिकाले गाउँमै अंग्रेजी माध्यममा स्तरीय शिक्षा पढ्न पाइरहेका थिए ।
आफ्नो कान्छो भाइले गलकोट हटियामा बोर्डिङमा पढ्दै गरेको र बोर्डिङको अनुशासन र गुणस्तरिय पढाइका कारण उनलाई स्कूल खोल्ने प्रेरणा आएको थियो ।
बोर्डिङ चलाउन थानेश्वरले शिक्षकहरूको टीम छनौटमा विशेष ध्यान दिएका थिए । पढाइमा राम्रो गरेका गाउँका ट्यालेन्टहरूदेखि, जिल्लाका अन्य गाउँहरूका ट्यालेन्टहरू र झापाबाट नेपाली मूलका भुटानीहरूलाई समेत शिक्षकमा राखिएको थियो, जो अंग्रेजी, म्याथ र साइन्समा तगडा थिए । राम्रा शिक्षक भएका कारणले छोटो समयमै स्कूलले गति लिन थालेको थियो । तर, भर्खर मुना पलाएको स्कूल फक्रिन पाएन ।

देशभर सशस्त्र द्वन्द्व चलाइरहेको माओवादीले बोर्डिङ स्कूल बन्द गर्ने अभियान चलाइरहेको थियो । माओवादीहरूले पोलस्टार बन्द गर्नका लागि ताकेता गर्न थाले । थानेश्वरले नाम बोर्डिङ भए पनि नाफामुखी नभएकाले बन्द नगर्न आग्रह गरे ।
बरु उनले बोर्डिङको हिसाबकिताब बुझाइदिने भन्दै स्कूल बन्द नगर्न अपिल गरिरहे । जिल्लाका अन्य बोर्डिङ बन्द हुँदासम्म पनि उनले बन्द गरेनन् । अभिभावकहरू स्कूल बन्द होस् भन्ने पक्षमा थिएनन् ।
तर, जिल्लामा 'जनसत्ता' चलाइरहेको माओवादीको धम्की सामु उनको जोर चलेन । 'सबैले बन्द गरे, तपाईंले नटेर्ने? भोलि स्कूलमा आगो लगाउँछौं भन्दै अभिभावकहरूको घर–घरमा समेत गएर धम्क्याउन थालेपछि सबै अभिभावकलाई बोलाएर बन्द गर्नुपर्ने बाध्यता सुनाएँ,' २५ वर्षअघिको घटना सम्झँदै कँडेलले लोकान्तरसँग भने, 'केही महिनामा स्कूल पुनः खोलौंला भन्ने सोचाइ थियो, त्यो कहिल्यै पूरा भएन ।'
छोटो समय सञ्चालन गर्न पाए पनि त्यो स्कूलमा पढेका विद्यार्थीको जग राम्रो बनेको उनको स्मरण छ । 'त्यो बेलाका बच्चा क्रिम थिए, सोच्ने लेवल पनि उच्च थियो । कोही सीए, इन्जिनियर र डाक्टर पनि बनेका छन्, केही ब्युरोक्रेसीमा पनि छन्,' कँडेलले भने ।
गाउँमा स्कूल चलाउँदा-चलाउँदै थानेश्वरले पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राइभेट पढेर बीएल पूरा गरिसकेका थिए । एक दिन पनि कलेज नगई उनले बीएलमा क्याम्पस टपेका थिए ।
गाउँमा राम्रो बोर्डिङ चलाउने सपनालाई बीचमै स्थगित गरेर थानेश्वर काठमाडौं आए ।
'स्कूल बन्द भएपछि काठमाडौं आएँ, ल प्राक्टिस गर्ने कि भन्ने थियो, रुचि स्कूलमै भएकाले काठमाडौंमा पनि स्कूल सञ्चालनको काम गरें, तर पार्टनरसिपमा लामो समय चलाउन सकिएन,' उनले भने । थानेश्वरसहितको समूहले काठमाडौंको पुतलीसडकमा रहेको डनबस्को स्कूलमा २ वर्ष व्यवस्थापकको रूपमा काम गरे ।
उच्च शिक्षाका लागि नेदरल्यान्ड्सको यात्रा
बाग्लुङको स्कूल बन्द र काठमाडौंमा पनि सहकार्य लामो नटिकेपछि थानेश्वर करिअर बनाउन भनेर उच्च शिक्षा अध्ययनका लागि नेदरल्यान्ड्स आए । 'स्कूल म्यानेजमेन्ट' पढेर नेपाल फर्किने धोको भए पनि उनले शुरूमा बीबीए गर्दै थिए, डेढ वर्षमै कलेज बन्द भयो ।
कलेज बन्द भएपछि नेपाल फर्किनुपर्ने बाध्यता आइलाग्यो । तर, उनले हिम्मत हारेनन् । फेरि २००७ मा अध्ययनका लागि नेदरल्यान्ड्स आए । नेदरल्यान्ड्सको निजी टेलिकम कम्पनीमा काम गर्दै उनले पढाइ पूरा गरे । पढाइ सकेपछि आफूले काम गरेको सोही कम्पनी नै आफैंले लिए ।
टेलिकम कम्पनीको होलसेल र अनलाइनको काम गर्दै गर्दा थानेश्वरलाई साथीभाइबाट रेस्टुरेन्ट व्यवसाय सञ्चालनको अफर पनि आएको थियो । नेपालबाट गएका अधिकांश हस्पिटालिटी बिजनेसमै थिए । सन् २०१३ जुनबाट रेस्टुरेन्ट शुरू गरे, तर शुरूका २ वर्ष रेस्टुरेन्टले सोचेजस्तो गति लिन सकेन ।
आम्स्टर्डमको प्राइम लोकेसनमा भएता पनि रेस्टुरेन्ट सफल हुन सकिरहेको थिएन । त्यसपछि थानेश्वरले सन् २०१५ को जनवरीमा नयाँ योजनाका साथ रेस्टुरेन्ट चलाउने रणनीति बनाए । यसबीचमा थानेश्वरले रिसर्च गरेका थिए । त्यसपछि उनले व्यवस्थापकीय पक्षमा धेरै ध्यान पनि दिन थाले । नतिजा निस्कियो, ६ महिनामा रेस्टुरेन्टले पिकअप लिन थाल्यो ।

'हस्पिटालिटीमा मुख्य कुरा लोकेसनले साथ दिनुपर्यो, हाम्रो रेस्टुरेन्ट प्राइम लोकेसनमै थियो, जब सेवामा विशेष ध्यान दिन थालियो गेस्टहरूको फ्लो भयो । गेस्टलाई भ्यालु क्रिएट गर्यौं,' आफ्नो रणनीतिबारे उनले लोकान्तरसँग भने, 'गेस्टको एक्सपेक्टेसन पूरा गर्न कुनै कसर बाँकी राखेनौं, गेस्टले एक्स्ट्रा हस्पिटालिटी फिल गरेपछि पछाडि फर्कनु परेन ।'
सन् २०१९ को अन्त्यमा कोरोना महामारी शुरू हुनुअघि रेस्टुरेन्ट यस्तो चल्यो कि मान्छेलाई लाइन लागेर राख्नुपर्ने अवस्था आयो । आम्स्टर्डममा भएका अन्य रेस्टुरेन्टलाई पछि पार्दै अशोकाले छोटो समयमा धेरैको मन जित्यो ।
अशोकाले राम्रो बिजनेस गरेपछि थानेश्वरलाई अर्को रेस्टुरेन्टको अफर आयो, नेपालीले नै सञ्चालन गरिरहेको रेस्टुरेन्ट शेर्पा । शेर्पा युरोपको पहिलो नेपाली रेस्टुरेन्ट थियो । थानेश्वरले आफ्नै गाउँको आफन्त भाइसँगै मिलेर शेर्पाको स्वामित्व लिएर रेस्टुरेन्टलाई नेपाली–इन्डियन रेस्टुरेन्ट बनाए ।
आम्स्टर्डममा अशोकाले पाएको सफलतापछि यसलाई फ्रेन्चाइज मोडलमा लैजाने भनेर आम्स्टर्डमको पश्चिम क्षेत्रमा २०१७ मा अर्को आउटलेट शुरू भयो ।
यसको उद्देश्य मुख्य रेस्टुरेन्टका गेस्टलाई नयाँ रेस्टुरेन्टमा डाइभर्ट गर्नु पनि थियो । तर, मुख्य ठाउँको भीड घटेन । त्यसैले २०१९ मा थानेश्वरले मुख्य रेस्टुरेन्टको नजिकै ठूलो एरिया भएको रेस्टुरेन्ट खरिद गरेर अशोकालाई सारे । शुरूको ६० स्क्वायर मिटर रहेकोमा नयाँ ३५० स्क्वायर मिटरको ठाउँमा सरेपछि गेस्ट व्यवस्थापन सहज भयो । पुरानो अशोका भएको स्थानमा 'यति' नामको नयाँ ब्राण्डको नेपाली रेस्टुरेन्ट शुरू गरे ।
नयाँ ठाउँमा सरेको छोटो समयमै अशोकाले पिक लिइरहेको थियो, सन् २०१९ को अन्त्यमा विश्वव्यापी रूपमा देखिएको कोभिडको असर र २०२० को शुरूमा कोभिडको लकडाउन शुरू भयो । लकडाउन शुरू भए पछि अन्योलको स्थिति आयो, तर धैर्यता बाँकी थियो ।

कोभिड लकडाउन खुलेपछि व्यवसायले पुनः उचाइ हासिल गर्यो । अहिले थानेश्वरका ४ वटा रेस्टुरेन्ट छन् । अगस्ट १० मा नयाँ आउटलेटको उद्घाटनको तयारी छ । स्तरीय सेवा दिएका कारण ग्राहकको कुनै कमी छैन ।
'हाम्रोलागि गेस्ट आएन भनेर चिन्ता हुँदैन, एड्भान्समै रिजर्भेसन गर्नुपर्ने व्यवस्था गरेका छौं । गेस्टको ट्रस्टले यो सम्भव भयो,' थानेश्वरले भने, 'अशोकामा एक दिनमा २ सय जनाको लिमिट छ, अधिकांश यहाँका स्थानीय नै गेस्ट हुन् ।'
एक जनाको काम त बूकिङ नगरी आएका गेस्टलाई फर्काउनुमै सीमित हुने गरेको छ ।
युरोपमा नेपाली खानाको ब्राण्डिङ अझै नपुगेको थानेश्वरको बुझाइ छ । 'नेपाली खाना राम्रो छ, तर इन्डियन खानाको जस्तो पपुलारिटी पाइसकेको छैन,' उनले भने ।
हस्पिटालिटी बिजनेसका साथ–साथै थानेश्वरले डच जिन कम्पनी १६८९ मा पनि लगानी गरेका छन् । जुन अहिले वर्ल्डवाइड ३० वटा देशमा बिक्री हुन्छ भने इन्डिया र नेपालमा बिक्री–वितरण गर्ने तयारी गरिरहेका छन् ।

समाजसेवा: थानेश्वरको अर्को पहिचान
नेदरल्यान्ड्समा व्यवसायमा जमेका थानेश्वर नेपालमा समाजसेवामा पनि उत्तिकै तल्लीन छन् ।
गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सको निवर्तमान अध्यक्ष समेत रहेका उनको पहलमा नेपालका विभिन्न ठाउँमा सामाजिक काम भएका छन् ।
'हाम्रो पुस्ता जहाँ र जुन ठाउँमा काबिल भएका छौं, त्यो नेपालको योगदान हो । हामीलाई काबिल नेपालले बनाएको हो, त्यसबापत हामीले जन्मभूमिका लागि ऋण तिर्नुपर्छ,' उनले भने ।
व्यक्तिगत रूपमा गरेका सामाजिक कामको बारेमा थानेश्वरले खुलाउन चाहेनन्, तर समूहगत रूपमा गरेका सामाजिक कामको बारेमा - २०१२ को अन्त्यतिर रवीन्द्र मिश्रले शुरू गरेको 'हेल्प नेपाल' परोपकारी अक्षय कोष अभियानका लागि एकै दिनमा ६ लाखभन्दा बढी रुपैयाँ–पैसा जम्मा गरेर हेल्प नेपालका लागि पठाएका थिए ।
गैरआवासीय नेपाली संघमार्फत उनीहरूले सामाजिक काम पनि गरे, त्यो मध्येको एक हो - बागलुङ ब्लड बैंकको स्तरोन्नति परियोजना । धौलागिरि अञ्चल अस्पतालका लागि सेवा दिने एक मात्र ब्लड बैंकको तत्कालीन अवस्था देखेर उनलाई केही त गर्नैपर्छ भन्ने लाग्यो र त्यस क्षेत्रबाट आएर नेदरल्यान्ड्समा बसोबास गरेका व्यक्तिहरू र गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सको सहकार्यमा मोडेल प्रोजेक्टको रूपमा बागलुङ ब्लड बैंक सुधार परियोजना शुरू गरे ।
'२०१९ मा बागलुङमा ब्लड बैंकको प्रोजेक्ट अगाडि बढायौं । जसअन्तर्गत ब्लड बैंकका लागि आवश्यक पर्ने ल्याबका सामानहरू र एउटा एम्बुलेन्स पनि प्रदान गरें । जिल्ला स्तरमा सञ्चालित ब्लड बैंकमध्ये बागलुङ ब्लड बैंक अहिले नमूनामध्ये पर्दछ । हाम्रो प्रयासमा २०१९ मा शुरू भएको ब्लड बैंक सुधारको योजना गतसाल जापानमा बस्ने साथीहरूले ब्लड सेग्रिगेट मेसिन प्रदान गरेपछि अहिले नमूना जस्तै बनेको छ,' उनले भने ।
थानेश्वर गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्ष हुँदा गत साल शुरू गरेको जाजरकोट नलगाढमा दलित बस्तीमा ३ कोठे पक्की स्कूल भवन र शौचालयहरू बनिरहेका छन् । सन् २०२३ को विनाशकारी भूकम्पमा परी ध्वस्त भएको उक्त विद्यालय पुनर्निर्माणपछि हस्तान्तरण हुने चरणमा छ ।

संघर्षलाई आत्मसात् गर्दै सफलताको बाटो
थानेश्वरको बुझाइमा जुनसुकै सफलतामा पनि पछाडि संघर्ष लुकेको हुन्छ । सफलता सहजै प्राप्त हुँदैन । अहिलेको सफलतापछाडि त्यस्ता कैयौं संघर्षका कथा छन् । नेपालमा ठक्कर खाँदै नेदरल्यान्ड्स आएका थानेश्वरका लागि शुरूका दिनमा नेदरल्यान्ड्स पनि सजिलो थिएन ।
'नेपालबाट आएको स्टुडेन्ट २९ वर्षको थियो, शुरूमा आफू आएको कलेज बन्द भएर स्वदेश फर्किनुपर्यो । फेरि नेपाल गएर नयाँ कलेजमा आएँ र आफ्नो पढाइ पूरा गरें । बिजनेसले लय पकडेको बेला कोभिड लकडाउनका कारण करिब २ वर्ष अनिश्चिततामा बिते,' कँडेलले भने, 'आत्मविश्वास र धैर्यता भयो भने सफलता प्राप्त गर्न सकिन्छ । उतारचढाव स्वाभाविक नै हुन् ।'

केही गर्छु भन्ने मान्छेले घरपरिवार वा देशको परिस्थितिलाई दोष लगाउने नभई अप्ठ्यारोको बीचमा पनि अवसर देख्नुपर्ने उनको बुझाइ छ । गाउँको सामान्य 'सरकारी स्कूल पढेको मान्छे, १२ कक्षा पढेर स्कूल खोल्ने आँट गर्छ, स्कूल बन्द हुन्छ, तर पनि हार खाँदैन,' उनले भने, 'जब केही गर्छु भन्ने आँट र आत्मविश्वास हुन्छ, असफलता व्यहोर्नुपर्दैन ।'
थानेश्वरको सफलताको पछाडि उनका स्वर्गीय बुवाको र माइला बुवाको विश्वास अनि हौसला र घरपरिवारको पनि साथ एवं योगदान छ ।
अहिले थानेश्वरको नेतृत्वमा नेदरल्यान्ड्समा ५ वटा हस्पिटालिटी बिजनेस छन् भने डच जिन कम्पनीमा उनी साझेदार छन् । उनका हस्पिटालिटी बिजनेसमा ५० प्रतिशतभन्दा बढी स्टाफ नेपाली छन् ।
अहिले नेदरल्यान्ड्समा ३ हजारको हाराहारीमा नेपाली छन् ।