
स्पेसएक्स रकेटको छाडिएको एउटा भाग चन्द्रमामा ठोक्किने भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यो वस्तु तीव्र गतिमा चन्द्रमातर्फ अगाडि बढिरहेको छ।
यो स्पेसएक्सको फल्कन ९ रकेटको माथिल्लो भाग हो । यो करिब पाँच तले बिल्डिङ जत्रै ठूलो छ । यसको तौल कम्तीमा ४ हजार किलोग्राम रहेको बीबीसीले जनाएको छ । यो रकेटले गत वर्ष जनवरी १५ मा दुईवटा चन्द्रल्यान्डहरूलाई अन्तरिक्षमा पुर्याएको थियो ।
पहिलो चरणको बूस्टर पृथ्वीमै फर्किए पनि दोस्रो चरणको यो भाग अन्तरिक्षमै अलपत्र परेको थियो । त्यसपछि पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण तथा सूर्यको प्रकाशको धक्काका कारण यसको बाटो परिवर्तन भएको हो । अन्तिममा यो चन्द्रमासँग ठोकिने बाटोमा पुगेको हो।
वैज्ञानिकहरूका अनुसार यो वस्तु करिब ५ हजार ४ सय माइल प्रतिघण्टाको गतिमा हिँडिरहेको छ। यो चन्द्रमाको आइन्स्टाइन क्रेटर नजिकै खस्नेछ ।
यो घटना बुधबार राति हुने अपेक्षा गरिएको छ । नासाका अनुसार यो ठोक्काइबाट पृथ्वीलाई कुनै पनि किसिमको खतरा छैन।
यो घटना खाली आँखाले देख्न सकिँदैन । तर, ठूला टेलिस्कोप भएका मानिसहरूले चन्द्रमाको सतहमा उज्यालो फ्ल्यास देख्न सक्नेछन् ।
अमेरिकाका ठूला टेलिस्कोपहरू, नासाको लूनर रिकोनेसन्स अर्बिटर र दक्षिण कोरियाको डानुरी प्रोबले यसलाई ट्र्याक गर्नेछन् । वैज्ञानिकहरूले धुलोको मुस्लो र नयाँ बन्ने क्रेटरको अध्ययन गर्नेछन् ।
यो दुर्घटना वैज्ञानिकहरूका लागि एउटा दुर्लभ अवसर बनेको छ ।
भविष्यमा चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पठाउने योजना भएकाले यस्ता अन्तरिक्षीय कचराले पार्ने प्रभाव बुझ्न यो अध्ययनले सहयोग गर्ने समाचारमा उल्लेख छ । पृथ्वीमा वायुमण्डल हुने भएकाले फोहोरहरू जल्छन्। तर, चन्द्रमामा हावा नभएकाले यस्ता वस्तुहरू सीधै सतहमा ठोकिन्छन् ।