२७ साउन २०८३, बुधबार

'निर्मल पुर्जा नेपालको छोरा, संसारको गहना हुन्– अध्यक्ष लामा

साउन २०, २०८३
काठमाडौं
'निर्मल पुर्जा नेपालको छोरा, संसारको गहना हुन्– अध्यक्ष लामा

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष सुजन लामाले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई 'नेपालको छोरा र संसारको गहना' भएको बताएका छन्।

श्रद्धाञ्जली सन्देश जारी गर्दै अध्यक्ष लामाले निर्मल पुर्जाले आफ्नो अदम्य साहस, समर्पण र ऐतिहासिक उपलब्धिमार्फत नेपालको नाम विश्वभर उच्च बनाएको उल्लेख गरेका छन्। उनका अनुसार, नेपालमा जन्मिएका निर्मल पुर्जा संसारभरका लाखौं मानिसका लागि प्रेरणाका स्रोत थिए र उनको योगदानलाई नागरिकताको आधारमा विभाजन गर्न नमिल्ने बताए।

सामाजिक सञ्जालमा कतिपयले निर्मल पुर्जालाई विदेशीका रूपमा टिप्पणी गरेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष लामाले 'एक पटकको नेपाली, सधैंका लागि नेपाली' भन्ने धारणा व्यक्त गरेका छन्।

उनका अनुसार, 'निम्स दाइ जन्मका आधारमा नेपाली र कर्मका आधारमा बेलायती हुन्।'

जन्मभूमि, भाषा, संस्कृति र राष्ट्रिय पहिचान कुनै पनि कानूनी नागरिकताभन्दा माथिको विषय भएको उनको भनाइ छ।

अध्यक्ष लामाले विदेशमा रहेका नेपाली मूलका नागरिक र उनीहरूका सन्तानको नेपाली पहिचान तथा वंशजको नागरिकता सुरक्षित हुनुपर्नेमा पनि जोड दिएका छन्। उनले आफ्नै मूलका नागरिकलाई विदेशीका रूपमा चिनाउने वा व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न राज्यसँग आग्रह गर्दै नेपालका लागि योगदान पुर्‍याएका व्यक्तित्वप्रति सम्मान प्रकट गर्न सबैलाई अनुरोध गरेका छन्।

यसै क्रममा अध्यक्ष लामाले यस्ता क्षमतावान् युवाहरू विदेश जान बाध्य हुनुको प्रमुख कारण नेपालमै अवसरको अभाव रहेको उल्लेख गर्दै नेपाल राज्यले अबदेखि युवाले आफ्नै देशमा आफ्नो क्षमता, सीप र प्रतिभा प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। 

उनले अवसरको खोजीमा सक्षम र प्रतिभाशाली युवा शक्ति विदेश पलायन हुने अवस्थाको अन्त्य गर्न राज्यले दूरदर्शी नीति, पर्याप्त लगानी र रोजगारीका अवसर सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे।

पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा निर्मल पुर्जासहित १० जनाको निधन भएको थियो, जसमा उनीसहित ६ जना नेपाली थिए ।
 

NAIMA

कमेन्ट गर्नुहोस्