
कैलालीको मोहन्याल गाउँपालिका ७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई वटा बस आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि लम्कीतर्फ पठाइएको छ।
बसमा सवार अन्य २७ जना सकुशल रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए पनि दुवै सवारीसाधन चल्ने अवस्थामा रहेका छन् ।
दुवै चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।