
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका नेताहरूबीच छलफल सकिएको छ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बुधबार भएको भेटवार्तामा कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारी पनि सहभागी थिए ।
स्रोतका अनुसार छलफलका क्रममा अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीबीच केही बेर भनाभन समेत भएको थियो ।
शुरूमा अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीबीच छुट्टै संवाद भएको र त्यसपछि प्रदेश कमिटीका नेताहरूलाई समेत राखेर छलफल भएको नेताहरूले बताएका छन् ।
बैठकपछि अध्यक्ष ओलीले एक/दुई दिनभित्रै ठोस निर्णय लिने बताएका सचिव राजकुमार भण्डारीले बताए । ‘अध्यक्षज्यूले एक/दुई दिनभित्रमा निर्णय दिन्छु भन्नुभएको छ,’ सचिव भण्डारीले भने ‘उहाँले दिने निर्णय मुख्यमन्त्रीज्यूले पनि मान्छु भन्नुभएको छ ।’
गत शनिबार एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई अध्यक्ष ओलीको सन्देश लिएर विराटनगर पुगेका थिए । उनले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन र मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
तर, मुख्यमन्त्री कार्कीले आफूले राजीनामा नदिने अडान राख्दै आएका छन् । यही विषयमा उत्पन्न विवाद समाधान गर्न कार्कीसहित प्रदेशका नेतालाई ओलीले काठमाडौं बोलाएका थिए ।
एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले हिक्मतकुमार कार्कीलाई हटाएर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी छन् ।
आजको छलफल सकारात्मक दिशातर्फ अघि बढेको नेताहरूले दाबी गरेका छन् । ओलीले उपयुक्त समयमा दिएको निर्देशन पालना गर्ने सहमति भएको अध्यक्ष घनश्याम खतिवडाले बताए ।