
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकटमा परेका नागरिक, उद्योगी र व्यवसायीलाई राहत दिने उपाय तत्काल खोज्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई आग्रह गरेका छन्।
अर्थ मन्त्रालयमा बुधबार भएको छलफलमा राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए।
छलफलमा अर्थमन्त्री वाग्लेले ऋण तिर्न नसकी कालोसूचीमा परेका हजारौँ नागरिक र व्यवसायीलाई पुनः आर्थिक गतिविधिमा फर्काउने व्यावहारिक उपाय आवश्यक रहेको बताए। नयाँ बजेट कार्यान्वयनमा आइसकेकाले त्यसकै आधारमा अर्थतन्त्रलाई चलायमान बनाउँदै निजी क्षेत्रको मनोबल बढाउनुपर्ने उनले उल्लेख गरे।
उनले राष्ट्र बैंकलाई स्वच्छ नियमन र लगानीमैत्री सहजीकरणमार्फत अर्थतन्त्र पुनरुत्थानमा भूमिका खेल्न आग्रह गर्दै मौद्रिक नीतिका उपकरणलाई आर्थिक गतिविधि विस्तारसँग जोड्नुपर्ने धारणा राखे।
छलफलमा सहभागी कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठनपछि बजारमा बिस्तारै आत्मविश्वास बढ्न थालेको र अर्थतन्त्रले क्रमशः गति लिन सक्ने संकेत देखिएको बताएका थिए।
उनीहरूले कोभिड महामारीपछिको असर अझै पूर्ण रूपमा हट्न नसकेको उल्लेख गर्दै ठूलो संख्यामा नागरिक कालोसूचीमा परेकाले बजारमा निराशा बढेको र त्यसको समाधानका लागि नीतिगत पहल आवश्यक रहेको बताए।
कार्यकारी निर्देशकहरूले वित्तीय संस्थामा रहेको जनताको बचतको सुरक्षा सुनिश्चित गर्दै कालोसूचीमा परेका नागरिक, उद्योगी र व्यवसायीलाई पुनः आर्थिक गतिविधिमा सहभागी गराउने उपाय तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका थिए।