
कप्तानगन्ज - सुनसरीको दक्षिणवर्ती क्षेत्र देवानगञ्ज र कप्तानगञ्जमा अझै सन्नाटा छ, जहाँ हावा चल्दा पनि मानिसहरू झस्किन्छन् । केही दिन अघिसम्म चहलपहल हुने देवानगन्ज बजारमा अहिले फाटफुट मान्छेहरूको ओहोरदोहोर मात्र देखिन्छ ।
बजारका गल्लीहरूमा सुरक्षाकर्मीका गाडीहरू निरन्तर गस्ती गरिरहेका छन् । प्रहरीको साइरनले शान्तिको संकेतभन्दा पनि सम्भावित खतराको चेतावनी दिएझैँ भान हुने गरेको स्थानीय बताउँछन् ।
देवानगञ्जमा अहिले अटो रिक्साहरू फाटफुट चल्न थालेका छन्, तर ती अटोमा यात्रुहरू कम र डर बढी देखिन्छ ।
मानिसहरू घरबाट निस्कन त थालेका छन्, तर उनीहरूको गन्तव्य केवल अत्यावश्यक काममा मात्र सीमित छ ।
देवानगन्ज बजारबाट अलि अगाडि बढेपछि गाउँपालिका कार्यालय पुगिन्छ । कार्यालयको मूल गेटमा ताला झुण्डिएको छ ।
कार्यालय सहयोगी चाबी लिएर टोलाइरहेका भेटिए, उनी बोल्न डराउँछन् । साउन ११ गतेदेखि यहाँको प्रशासनिक काम मात्र होइन, नागरिकको जीवन नै ठप्प बनेको छ । स्वास्थ्य संस्थाबाहेक सबै सेवा ठप्प छन् ।

बाहिरबाट कोही नयाँ मान्छे पुग्दा स्थानीयहरू कतै यो पत्रकार वा मानव अधिकारकर्मी त होइन ?’ भन्ने शंकालु नजरले हेर्छन् ।
गाउँपालिका कार्यालयकै पूर्वतर्फ एउटा हार्डवेयर पसल छ, जो अहिले एउटा कङ्कालजस्तो देखिन्छ । यो पसल अनवर हुसेन अन्सारी (मुन्ना) र अमिर अनसारीको हो । अनवर भने कतारमा थिए । पसल भने अमिरले चलाउँथे ।
कतारको ५० डिग्री तापक्रममा पसिना बगाएर कमाएको पैसाले उनले आफ्नै माटोमा केही गर्ने सपना बुनेका थिए । तर, साउन ११ गतेको त्यो कालो सोमबारले उनको ७ वर्षको मेहनतलाई केही घण्टामै खरानी बनाइदियो । उनी ७ वर्ष कतारमा बसेर कमाएको पैसाले दुई वटा ट्याक्टर र हाडवेयर खोलेका थिए ।

सन् २०१७ मा कतारबाट फर्केका अनवरले स्थानीयलाई विश्वास गरेर लाखौँको सामान उधारो दिए । कसैले मकै नबिकेको बहाना बनाए, कसैले विदेशबाट छोराले पैसा नपठाएको कथा सुनाए । उधारो फसेपछि उनले बैंकबाट ८० लाख ओडी लोन र २४ लाख व्यक्तिगत ऋण गरी १ करोड ४ लाख रुपैयाँको भारी बोके । ऋणले थेग्न नसकेपछि उनी पुन कतार गएका हुन् ।

त्यही ऋण तिर्न उनी सन् २०२५ अप्रिल ७ मा पुन: कतार उडेका थिए । तर, नियतिले उनलाई त्यहाँ पनि टिक्न दिएन । साउन ११ गते उपद्रवीहरूको समूहले उनको घरपसलमा आक्रमण गर्यो । दुईवटा ट्रयाक्टर जलाइदिए, हार्डवेयर पसल लुटपाट गरेर आगो झोसिदिए ।
‘त्यो दिन आगो मात्र लगाइएन, मेरो परिवारको वंशै मेटाउने प्रयास गरियो,’ अनवर भन्छन् । उनका भाइ, भाइबुहारी र साना बालबालिकाहरू घरभित्रै भएको अवस्थामा बाहिरबाट ढोका थुनेर पेट्रोल छर्केर आगो लगाइएको थियो । एनका मितका छोरा गणेशकुमार मालाकारका छोराले पर्खाल चढेर ढोका नखोलिदिएको भए आज अनवरको परिवारको नामोनिसान रहने थिएन । १५ दिनको इमरजेन्सी बिदा लिएर घर फर्किएका अनवर अहिले करिब २ करोडको आर्थिक क्षति र कहिल्यै निको नहुने मानसिक चोटसँग लडिरहेका छन् ।

देवानगञ्जबाट दक्षिण लागेपछि कप्तानगञ्ज पुगिन्छ । यहाँको अवस्था झन् भयावह छ । सडकमा रुख ढालेर बाटो अवरुद्ध गरिएको छ । मोटरसाइकल र साइकलसमेत छिर्न मुस्किल छ । ठाउँ–ठाउँमा टेन्ट टाँगिएका छन्, जहाँ मानिसहरू आक्रोश र न्यायको माग लिएर धर्नामा बसेका छन् ।
यहीँ सडकको किनारमा एउटा सानो घर छ, जहाँ अहिले रूवाबासी रोकिएको छैन । २१ वर्षीय रवीन्द्र मेहताको घर । साउन १० गते प्रहरीको गोली लागेर घाइते भएका रवीन्द्रको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएपछि यो गाउँ फेरि शोकमा डुबेको छ । रवीन्द्रकी आमा बिमला पटक–पटक बेहोस हुन्छिन् । घरको एउटै छोरो गुमाउनुको पीडाले बुबा विजयकुमार मेहता बोल्न सक्ने अवस्थामा छैनन् ।

देवागञ्ज चोकमा सानो टहरामा फलफुल पसल गर्छिन् रिता साहा । आफूले २ दिनदेखि पसल खोलेको उनले बताइन् । ‘मैले पसल खोलेको २ दिन भयो । कसैको आखामा आँसु रोखिएको छैन,’ उनले भनिन्, ‘पहिला यस्तो घटना भएको मलाई थाहा छैन । तर के भयो भयो तीन वटा बेटा पनि परलोक भए ।’

कप्तानगञ्ज वरपीपल चौतारा, जहाँ १२ दिनअघि गोली चलेको थियो, अहिले त्यहाँ एउटा भयानक सन्नटा छ । त्यहीँ नजिकैको खाली जमिनमा यसअघि ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्त्येष्टि गरिएको छ । स्थानीयहरू त्यहाँ उनीहरूको स्मृति पार्क बनाउनुपर्ने माग गरिरहेका छन् । एउटै गाउँका तीनजना होनहार युवाले एकपछि अर्को गर्दै ज्यान गुमाएपछि स्थानीय आक्रोशित छन् ।
स्थानीय पदम आधारभूत विद्यालयका शिक्षक अनिलकुमार मेहताका अनुसार यो हिंसाले मानिसको भौतिक सम्पत्ति मात्र होइन, बालबालिकाको मनोविज्ञान नै तहसनहस पारेको छ । ‘विद्यालयहरू बन्द छन् । गाउँमा प्रहरीको बाक्लो उपस्थिति र जताततै जलेका सामान देख्दा बालबालिकाहरू त्रसित छन् । उनीहरू घरबाहिर निस्कन डराउँछन्,’ शिक्षक मेहताले भने । ६ वटा माध्यमिकसहित ३० वटा विद्यालय यो पालिकामा पर्छन् । २५ गतेसम्मलाई विद्यालय बन्द छन् । तर त्यसपछि पनि विद्यालय खुल्ने सम्भावना कम रहेको शिक्षक अनिलले बताए । ‘सबै डर त्रासमा छन्,’ अनिलले भने ‘तिनै तहका सरकार लागेर नै समाजलाई जोड्ने गरी लाग्नुपर्छ ।’

दोषीलाई कारवाही गर्नु पर्ने स्थानीयको माग छ । मृत्युलाई पैसाले किनेर नहुने रविन्द्रका आफन्त राजेश मेहता बताउँछन् । ‘सरकारले शहीद घोषणा गरेर मात्रै हुँदैन,’ उनले भने ‘दोषी पत्ता नलगेसम्म हामी रविन्द्रको शव उठाउँदैनौँ ।’
अहिले देवानगन्ज र कप्तानगन्जमा एउटा समुदायले अर्को समुदायलाई शंकाको दृष्टिले हेर्ने अवस्था सिर्जना भएको छ । वर्षौँदेखि मिलेर बसेका छिमेकीहरूबीच अविश्वासको पर्खाल ठडिएको छ । घाँसको भारी बोकेर हतार–हतार घर फर्किँदै गरेका भेरिलाल खत्वे भन्छन्, ‘गाईभैँसीलाई घाँस चाहियो, नत्र त बाहिर निस्कन पनि डर लाग्छ ।’ रातभरि जाग्राम नै बस्ने गरेको स्थानीयहरू बताउँछन् ।

घटना भएको ५औ दिन गृहमन्त्री र राज्यका उच्च अधिकारीहरूले गाउँ पुगेर सम्झौताहरू गराए । तर, ती सम्झौताहरू कागजमै सीमित भएको स्थानीयको गुनासो छ । न त दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ, न त पीडितले न्यायको अनुभूति गर्न पाएका छन्
कप्तानगञ्ज अहिले दुईवटा कुराको पर्खाइमा छ– एउटा न्याय र अर्को पुरानै सद्भाव । सडकमा ढालिएका रुखहरू त पन्छाउन सकिएला, तर मानिसको मनमा लागेको यो घाउ निको पार्न निकै समय लाग्ने स्थानीयहरू बताउँछन् ।

हिंसाको आगो त निभ्यो, तर त्यसले छोडेको खरानीले अझै पनि धेरैको आँखा पोलिरहेको कप्तानगञ्जका स्थानीय बताउँछन् । अहिलेलाई कप्तानगञ्ज केवल एउटा प्रश्न गरिरहेको छ– ‘हाम्रा छोराहरूले ज्यान त गुमाए, तर के अब यो गाउँमा कहिल्यै पहिलेजस्तो शान्ति फर्किएला भनेर सोध्ने भने धेरै छन् ।’


