
सांसदले सोधेको प्रश्नको जवाफ दिन्न भनेका गृहमन्त्री सुधन गुरूङले संसद्मा माफी मागेका छन् । गृहमन्त्रीको जवाफलाई लिएर सांसदहरूले आपत्ति जनाएपछि उनले माफी मागेका हुन् ।
कांग्रेस संसदीय दलकी नेता कमला पन्त प्रस्तावक रहेको विपद् व्यवस्थापन सम्बन्धी प्रस्तावमाथिको छलफलपछि जवाफ दिने क्रममा गृहमन्त्री गुरूङले माफी मागेका हुन् ।
‘निर्मला पन्तको हत्या सम्बन्धमा अनुसन्धानको विषयलाई सदनमार्फत् गर्न मिल्दैन भनेर जवाफ नदिएको हुँ । रिजल्ट दिनु ठूलो कुरा हो, अनुसन्धान भइरहेको विषयबारे नबोलौं भनेको हो, जवाफ दिन नखोजेको होइन’, मन्त्री गुरूङले भने, ‘मबाट रूखो बोली भएको होला क्षमा माग्न चाहन्छु ।’
त्यसअघि नेकपा सांसद गरिमा शाहले गृहमन्त्रीले संसद्मा प्रकट गरेको शैलीप्रति आपत्ति जनाएकी थिइन् ।
‘जुन शैली र भाषामा गृहमन्त्रीले प्रकट गर्नुभयो, त्यसप्रति साह्रै दु:ख र असहमति जनाउँछु । जवाफदेही हुने सरकारको काम हो’, उनले भनिन् ।
यस्तै, कांग्रेस सांसद पन्तले पनि गृहमन्त्रीको जवाफप्रति आपत्ति जनाएकी थिइन् ।
पढ्नुहोस् यो पनि-
गृहमन्त्रीको उत्ताउलो व्यवहार, रोष्ट्रमबाटै गरे सांसदको प्रश्नको जवाफ नदिने घोषणा