२३ भदौ २०८३, मंगलबार

शुक्रबार १५ जनालाई एक–एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुँदै

साउन २१, २०८३
काठमाडौं
शुक्रबार १५ जनालाई एक–एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुँदै

 आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारी गराएको हो।

विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. वाग्लेसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रबार गरिनेछ।

साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता तथा नगदमा वस्तु तथा सेवाको कारोबार गरी विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिनेछ।

कार्यक्रमअनुसार साउन १ देखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक–एक लाख रुपैयाँ नगद उपहार पाउनेछन्। यस्तै सोही अवधिमा वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्तामध्ये एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार प्रदान गरिनेछ। बम्पर उपहारमा भने कर लाग्ने विभागले जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको कारोबारका लागि) उपहार घोषणा गरिनेछ।

बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो कार्यक्रममा स्वतः सहभागी हुनेछन्। तर उपहार प्राप्त गर्न सम्बन्धित बिल भने अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।

नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले प्यान वा भ्याट बिल अनिवार्य रूपमा लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी उपहार कार्यक्रममा सहभागी भएको कुपन प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्