
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सर्वोच्च अदालतको पछिल्लो निर्णयले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई झन खारिने मौका दिने बताएका छन् ।
विशेषबाट आएको गगन थापा नेतृत्वको कांग्रेसले जस्तोसुकै परीक्षा दिन तयार रहेको उनले टिप्पणी गरे । लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै आङदेम्बेले पार्टीमा आउने उतारचढावले गन्तव्य प्रभावित नहुने बताएका हुन् ।
‘पार्टीमा उतारचढाव आउँछन्, यो स्वाभाविक प्रक्रिया हो । लक्ष्य र अठोट भएको पार्टीलाई आँधी हुरीले पनि हल्लाउँदैन’, सर्वोच्चको पछिल्लो निर्णयतर्फ लक्षित गर्दै आङदेम्बेले भने, ‘जस्तोसुकै परीक्षाले विशेष महाधिवेशनबाट संगठित भएको नेतृत्वलाई २४ क्यारेटको बनेर आउन मद्दत गर्छ ।’
बिहीबार मात्र सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेस विशेष महाधिवेशन सम्बन्धी विवादको पुनरवलोकन गर्न सकिने निर्णय गरेको थियो ।
आङदेम्बेले फरक प्रसङ्गमा लोकप्रियताको नाममा उदाएको पात्रले मुलुकलाई सर्वनाशतर्फ धकेल्न खोजेजस्तो देखिएको समेत टिप्पणी गरे ।