२३ भदौ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

आन्दोलनमा म्यानपावर व्यवसायी, शिक्षकले पनि गरे सडकमा आउने घोषणा

साउन २३, २०८३
काठमाडौं
आन्दोलनमा म्यानपावर व्यवसायी, शिक्षकले पनि गरे सडकमा आउने घोषणा

 'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सही समय आउन केही समय लाग्ने बताएका छन् ।

शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै शाहले ढिलो भए पनि गलत नहुने बताएका हुन् ।

नआत्तिन उनले सबैलाई आग्रह गरेका छन्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने उनको भनाइ छ ।

००००

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।

मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो ।

००००

सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको २०८३ वैशाखदेखि असारसम्मको प्रगति विवरणमा तीन महिनामा पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालुतर्फ ९७.०७ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ ।

मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नहुने, बैठकको सुरुमा उपस्थित भएर बीचमै बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसको विश्लेषण गर्न लागिएको हो ।

००००

सरकारले तीनवटा मुख्य प्रज्ञा प्रतिष्ठानहरूमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिस बमोजिम प्रधानमन्त्री बालेन शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयन गरेका हुन् ।

००००

एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको स्टाइपेन्ड एकरूपता लगायतका माग राख्दै आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच पाँच बुँदे सहमति भएको छ ।​

हमतिसँगै वीर अस्पताल परिसरमा चार दिनदेखि अनसनरत हरिजनले शुक्रबार अनसन तोडेका छन् ।

००००

नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानमा समसामयिक विषय संशोधन हुनसक्ने भए पनि त्यस भित्रका संवेदनशीलता बुझ्नुपर्ने पर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्‌घाटन समारोहलाई आज सम्बोधन गर्दै सभापति थापाले संविधान भित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने बताएका हुन् । उनले संविधानमा नागरिकले प्राप्त गरेका हकअधिकार बढाउनुपर्नेमा जोड दिए ।

००००

नेपाली फूटबलको भविष्य भनेर ल्याइएका कलिला बालबालिकाहरू, जसले छातीमा देशको झन्डा टाँसेर अन्तर्राष्ट्रिय मैदानमा भिड्ने सपना बोकेका छन् ।

तर, आज तिनै बालबालिकाका लागि न पेटभरि खान राम्रो 'डाइट' छ, न त स्कूलको फी तिर्ने पैसा नै !

'जेनजी आन्दोलन'पछि बनेको युवाहरूको सरकारसँग जनताले धेरै आश गरेका थिए।

तर, यही सरकारको लाचारी र एन्फाको निलम्बनले यतिबेला एन्फा एकेडेमीका बालबालिकाहरूको बिचल्ली भएको छ । सरकार भने बैंक खाता रोकिदिएर मस्त निद्रामा छ । बरु उल्टै परिवारको जिम्मा लगाइदेऊ भनेर बसेको छ ।

रासन सकिएर पसलेले उधारो दिन छाडेका छन् । कडा शारीरिक प्रशिक्षण गर्दा डाइटको अभावले बालबालिका मैदानमै ढल्ने हुन् कि भन्ने डरका कारण प्रशिक्षकले 'ट्रेनिङ' नै सुस्त बनाउनुपरेको छ ।

००००

कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच नयाँ सरकार गठनको कसरत शुरू भइसक्दा पनि नेपाली कांग्रेसले अझै सरकार छाडेको छैन।

नयाँ समीकरणअनुसार एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँटको छलफल भइरहँदा कांग्रेसका मन्त्रीहरू भने अझै सरकारमै बहाल छन्।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले प्राविधिक र कानूनी प्रक्रिया मिलाएर आफूहरूले छिट्टै सरकार छाड्ने बताए ।

००००

नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्काललाई श्रमिक नपठाउने घोषणा गरेका छ ।

संघले शुक्रबार पत्रकार सम्मेलन गरेर १५ वटा माग सम्बोधन नभएसम्म विदेश पठाउने सबै प्रक्रिया स्थगित गरिएको घोषणा गरेको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार)ले वर्तमानलाई शून्य समय मानेर वर्तमानमा श्रमिक पठाउन बन्द गर्ने र माग सम्बोधन भएपछि व्यवसायमा फर्किने बताए ।

विशेष परिस्थितिमा कारबाहीमा परेका इजाजतपत्रवालाको कारबाही फिर्ता, वैदेशिक रोजगार ऐन–२०६४ समयानुकूल संशोधन, श्रमिकको वास्तविक लागत र व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारण, श्रम गन्तव्य मुलुकको विविधीकरण, नयाँ श्रम गन्तव्य मुलुकसँगको श्रम सम्झौता, जापानको इएसडी कार्यक्रम, दक्षिण कोरियाको इ–सेभेन भिसा तथा युरोपका श्रम बजारमा पहुँच विस्तारलगायत माग व्यवसायीका छन् ।

००००

नेपाली कांग्रेस संस्थापन इतर समूहको नेता डा. शशांक कोइरालाले साउन २९ गतेदेखि आयोजना गरिएको भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने बताएका छन् ।

शुक्रबार इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन् ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले जनता ग्यासका लागि मध्यरातसम्म लाइनमा बसेको दृष्यले आफूलाई लाज लागेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रसाईंले चुनाव अघि गरेको बाचा सम्झेर आफूलाई लाज लागेको बताएका हुन् ।

'चुनाव ताका गरेको बाचा- सरकारी कार्यालयमा नो लाइन रास्वपाको पालमा वन्ली अनलाइन भनेका थियौं । आज खाना पकाउने ग्यासको अभावमा जनता दिनभरि रातभरि लाइनमा बसेको दृष्यले साँच्चिकै लाज लागेको छ,' उनले भने, 'ग्यासको अभाव प्रधानमन्त्री र मन्त्री क्वार्टरमा छ कि छैन ? कालो बजारी भएको हो भने कठोर दण्ड दिन के रहेको छ ?'

आम नागरिकले नयाँ चिल्ला अनुहार खोजेको नभई व्यवहार नयाँ खोजेका उनले बताए ।

००००

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ।

प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम मोबाइल सेवा प्रदायकहरूलाई सेवा सुधार तथा नियामकीय अनुपालनका लागि आठ बुँदे निर्देशन दिइएको हो।

००००

नेपाल शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन र शिक्षक–कर्मचारीका माग सम्बोधन नभए आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ।

महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहमति कार्यान्वयन र माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्ने, शिक्षक तथा कर्मचारीका सेवा–सुविधा, दरबन्दी, पेशागत सुरक्षा, तलब–भत्ता तथा विभिन्न माग तत्काल सम्बोधन गर्न महासंघले सरकारसँग आग्रह गरेको छ।

००००

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि विनियोजन गरेको २ करोड रूपैयाँ फिर्ता गर्न आग्रह गरेका छन् ।

डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कोइराला निवासको मर्मत तथा संरक्षणका लागि छुट्याइएको रकम स्वीकार गर्न नैतिक रूपमा असमर्थ रहेको बताएका हुन् ।

००००

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ ।

आन्तरिक राजस्व विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गरेको हो । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् ।

जसअनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रूपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रूपैयाँको उपहार जितेका छन् । १० लाख रूपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ हो ।

कमेन्ट गर्नुहोस्