
सूर्योदयसँगै खुला चौरमा गुञ्जिने सुमधुर भजन र विभिन्न गीत । सोही ‘म्यूजिक’को तालसँगै अगाडि प्रशिक्षकको स्टेप हेर्दै सोही आधारमा अगाडि-पछाडि, दायाँ-बायाँ र तलमाथि चलिरहन्थे सयौँ हातखुट्टा । पसिनाले भिजेको अनुहारमा थकानभन्दा मुस्कान बढी छ । पसिनाले पूरै कपडा भिजेको छ, तर, पसिना स्वास्थ्यतर्फको यात्रामा साक्षी बनेको छ । यस्तो दृश्य पछिल्लो समय बुटवलका खुला चौरमा लोकप्रिय बनेको छ ।
कुनै बेला योगा अभ्यासमा मात्र सीमित रहने स्वास्थ्य अहिले बिहानी नित्य सङ्गीत र नृत्यसँग जोडिएको ‘जुम्बा योगा’तर्फ आकर्षित बनेको छ । सहरीया जीवनशैलीले स्वस्थ बन्न बिहानमा अपनाउँदै आएको यो फरक योगाको तरिकाले सबैको नजर तानेको छ ।
अहिले बुटवलका ठाउँ–ठाउँमा जुम्बा योगामा बिहानै नाच्नेहरू बढिरहेका छन् । योग साधनाबाट जीवनमा प्राकृतिक सन्तुलन कायम गर्न बुटवलमा बिहानको समयमा ‘जुम्बा योग’ साधना भइरहेका हुन् । व्यस्त जीवनशैली, मानसिक तनाव र अनियमित दिनचर्याका कारण स्वास्थ्यमा देखिने समस्यालाई कम गर्न ‘म्यूजिक’ योग साधना बुटवलवासीका लागि नाचेर गरिने योगा उपयोगी साबित भएको सहभागीहरू बताउँछन् । ‘जुम्बा’ भनेको सङ्गीतको तालमा गरिने एक फिटनेस व्यायाम अर्थात् योगा हो । ‘फ्रि’ योग साधना, बुटवलले यस क्षेत्रका विभिन्न स्थानका खुला चौरमा म्युजिकमा नाचगानसहित सिकाउने जुम्बा साधनाले व्यायाम, मनोरञ्जन र मानसिक सन्तुलनलाई एकसाथ जोड़ेको छ ।
साधना हरेक दिन बिहान ५ बजेदेखि ६ बजेसम्म एक घण्टा नियमित योग गरेपछि यसमा सहभागी हुनेको सङ्ख्या निरन्तर बढ्दो छ । बिहान अल्छी गरी सुतेर खेर फाल्ने समय आफ्नो स्वास्थ्यको लागि दिनुपर्नेमा अभ्यस्त हुँदै गीतसङ्गीतमा रमाउँदै गराइने योगालाई ‘म्यूजिकल योग’ नाम पनि दिइएको छ । बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको चौरमा, मणिमुकुन्द सेन उद्यान (फुलबारी), बुटवल बहुमुखी क्याम्पस, योगिकुटी, शङ्करनगर, भलवारी, ठुटेपिपल, नयाँगाउँलगायत ठाउँमा ‘जुम्बा योगा’ नित्य रूपमा चलिरहेका छन् ।
यो अवधारणा दुई वर्षअघि बुटवलकी विष्णुमाया श्रेष्ठले पतञ्जली योगको ज्ञान लिएर त्यसको बुटवलमा सुरुवात गरेकी थिइन् । कोरोना महामारीका बेला नागरिक निकै डराएका थिए । त्यो समयमा श्रेष्ठले आफ्नो घर नजिकैको लक्ष्मीपार्कबाट थोरै मानिसलाई जुम्बामा जोडेकी थिइन् । विष्णुमायाले पाँच वर्षको अन्तरालमा दर्जनभन्दा बढी योग शिक्षक तयार पारेर प्रशिक्षण चलाएकी छिन् ।
योगका माध्यमबाट स्वास्थ्य प्रवर्द्धन, चरित्र निर्माण र आरोग्यतासँगै विभिन्न स्थानमा पुगेर योग साधनाबारे प्रशिक्षण चलाइरहेका छन् । विष्णुमाया कोरोनाका बेला अनलाइनमार्फत योग सिकाएपछि सबैले अहिले रुचाएर यो अभियान फैलिएको बताउँछिन् । ‘जुम्बा योग परम्परागत व्यायामभन्दा फरक छ । यो कठोर अभ्यासभन्दा पनि रमाइलो वातावरणमा सङ्गीतको तालसँग शरीरलाई चलाइन्छ । यही कारणले गर्दा व्यायाम गर्न गाह्रो मान्नेहरू पनि जुम्बा योगमा सहजै सहभागी हुने गरेका छन्,’ विष्णुमायाले भनिन् ।
‘पतञ्जलीको योग प्याकेज गर्न पनि धेरैले गарो माने,’ त्यो बेलाको कुरा विष्णुमाया सम्झन्छिन्, ‘जुम्बामार्फत सङ्गीतमा ढालेर गर्दा यसैमा सबै रमाए । यसले पैतालादेखि सुरु भएर सबै ठाउँमा शरीरलाई ‘एक्टिभ’ गराउँछ । यसलाई धेरैले प्रभावकारी समेत मान्नुभएको छ । अहिले जिल्लाका धेरै ठाउँमा हामीबाट उत्पादितहरूले सिकाइरहेका छन् ।’
अभियान प्रभावकारी भएपछि अहिले जिल्लामा धेरै ठाउँमा सञ्चालन भइरहेको श्रेष्ठ बताउँछिन् । पूर्वशिक्षक तथा पतञ्जली योग समिति रूपन्देहीका अध्यक्ष श्रेष्ठले लामो समयदेखि निरन्तर योग प्रशिक्षण दिइरहेकी छिन् ।
विष्णुमायासँगै बुटवलका विभिन्न ठाउँमा पदम जिसी, टीबी श्रेष्ठ, सरिता खड्का, विष्णु उपाध्याय, लक्ष्मी पोखरेल, विष्णु केसी, विनोद आचार्य, धना राना, लक्ष्मी खड्का र शान्ता श्रेष्ठले प्रशिक्षकको भूमिका निभाएका छन् ।
निःशुल्क चलाइएको अभियानमा स्वतःस्फूर्त रूपमा सहभागी हुने क्रम निरन्तर बढेको प्रशिक्षक पदम जिसी बताउँछन् । योगासन, प्राणायाम र ध्यानका क्रममा शान्त तथा सङ्गीतको प्रयोग गरिने विधिले सहभागीलाई शारीरिक र मानसिक रूपमा सहज महसुस गराइरहेको जिसीको भनाइ छ । ‘बुटवलका विभिन्न स्थानमा बिहानको समयमा, भजन, स्वदेशगान र गीतका ध्वनि वा ध्यानमूलक सङ्गीतको लयमा विभिन्न योगासन अहिले लोकप्रिय बनिरहेका छन्,’ जिसी भन्छन्, ‘सङ्गीतको प्रभावले मनलाई शान्त बनाउने, तनाव घटाउने, एकाग्रता बढाउने योगाभ्यासलाई थप प्रभावकारी र आनन्ददायी मानिरहेका छन् ।’
यसको नियमित अभ्यासले मानसिक शान्ति, राम्रो निद्रा, श्वासप्रश्वासमा सुधार तथा शरीरको लचकता बढाउन सहयोग पुर्याउने गरेको छ । स्वास्थ्यप्रति सचेत युवादेखि ज्येष्ठ नागरिकसम्म सबै झुम्ने गर्छन् । म्युजिकल योगलाई स्वस्थ जीवनशैलीको एउटा सहयोगी अभ्यासका रूपमा लिइएको छ । सहभागी एउटै ड्रेसकोड सेतो टिसर्टमा सहभागी हुन्छन् । टिसर्ट पनि सस्तो शुल्कमा उपलब्ध गराइएको छ । सबैजना ह्वाट्सएप समूह (ग्रुप) मा जोडिएका छन् । सन्तुलित आहार, नियमित व्यायाम र आवश्यक स्वास्थ्य परीक्षणसँगै योगलाई दैनिक जीवनमा समावेश गर्दा यसको लाभ अझ प्रभावकारी बनेको छ ।
‘पानी परेको दिन हुँदैन, नत्र सबै दिन ५ बजेदेखि ६ बजेसम्म नियमित योगा हुन्छ,’ प्रशिक्षक पदम जिसी भन्छन्, ‘योगामा ८० प्रतिशत महिला हुनुहुन्छ । नियमित सहभागी हुनेले आफूलाई पुरानो दीर्घ रोगबाट धेरै राहत मिलेको बताउने गर्छन् ।’ जुम्बामा ३५ वर्षदेखि ७० वर्षसम्मका सहभागी हुने गरेका छन् ।
अर्का प्रशिक्षक विष्णु उपाध्याय फ्रि योग अभियानले जिल्लाभर साधनाको अभियान चलिरहेको बताए । ‘उमेर, लिङ्ग र पेसाको सीमा नमान्ने यो अभ्यासले शरीरलाई सक्रिय राख्नुका साथै मानसिक रूपमा पनि स्फूर्त र जागरूक बनाउँछ,’ उनी भन्छन् । बुटवलको हिलपार्कमा पनि ‘मर्निङ वाक’ गर्दै नाचगान गर्ने, योग गर्दै रमाइरहेका हुन्छन् । बिहान ४ बजेदेखि बुटवल हिलपार्कमा ‘मर्निङ वाक’ गर्न जानेको चहलपहल सुरु हुन्छ । युवा-युवती, महिला-पुरुष, बालबालिका, सबै यहाँ पुग्छन् । यसरी नाचेरै व्यायाम गर्छन् ।