
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिमार्जन गर्नुपर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका ढकालले आइतबार आयोजित एक कार्यक्रममा नेपालमा सिंह नपाइने तर्क प्रस्तुत गर्दै सिंहदरबार नाम अव्यावहारिक भएको बताएका हुन् ।
राजनीतिक परिवर्तनसँगै मुलुकका विभिन्न स्थान तथा निकायहरूको नाम फेरिएको उदाहरण प्रस्तुत गर्दै उनले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ वा अन्य कुनै सान्दर्भिक नाम राख्नु उपयुक्त हुने बताए ।
'परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, एयरपोर्टहरूका नाम परिवर्तन भए,' उनले भने, 'न हामीसँग सिंह छ, हामीसँग सिंह छैन, त्यो सिंहदरबार भन्ने नाम चाहिँ परिवर्तन भएन, त्यसलाई अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो होला, त्यो परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा, हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ।'
शासनसत्ताको स्रोत नागरिक भएकाले आम नागरिकलाई केन्द्रविन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने उनले बताए । 'पहुँचले जे पनि हुने अवस्थाले सुशासन कायम हुन सक्दैन,' उनले भने, 'सुशासन कायम गर्ने जिम्मेवारी बोकेका पदाधिकारी र निकाय अनुशासनमा रहेनन् भने सुशासन कायम हुन सक्दैन ।'
उनले विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानून निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने तथा शासनसत्तामा रहेकालाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक तहबाटै खबरदारी आवश्यक रहेको बताए ।