रुपन्देहीमा बिहान–साँझ हिँडिरहेका महिलाको घाँटीबाट सुनको सिक्री थुतेर मोटरसाइकलमा फरार हुने श्रृंखलाबद्ध घटनाले तीन महिनासम्म प्रहरीलाई हैरान बनायो ।
एउटै शैलीमा लगातार महिलालाई निशाना बनाउँदै आएका एक व्यक्ति अन्तत: प्रहरीको सूक्ष्म अनुसन्धानपछि पक्राउ परे ।
अनुसन्धानमा पक्राउ परेका भारतीय नागरिक राहुल जयसवालले क्यासिनोको लतका कारण सिक्री लुटपाटको धन्दा चलाएको स्वीकार गरेका छन् ।
गुल्मी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा बस्दै आएकी जमुना अर्याल गत असार ७ गते बजारबाट दूध किनेर घर फर्किंदै थिइन् ।
उनी अगाडिबाट आएको कालो मोटरसाइकललाई सामान्य रूपमा हेरेर अघि बढिन् ।
केही पर पुगेपछि त्यही मोटरसाइकल फर्कियो र चालकले उनको घाँटीमा रहेको सुनको सिक्री थुतेर फरार भयो । जमुनाले चिच्याउँदै पछ्याउने प्रयास गरे पनि कसैले सहयोग गर्न सकेन ।
जमुनाको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलमा यसअघि पनि उस्तै प्रकृतिका चारवटा घटनाको विवरण रहेको खुलेको थियो ।
वैशाख १७ गते कमला पाण्डे, वैशाख २० गते ज्योति शर्मा, असार ७ गते लक्ष्मी बिक र त्यसको भोलिपल्ट फेरि ज्योति शर्माको पनि उस्तै शैलीमा सिक्री लुटिएको थियो ।
एउटै तरिका, एउटै लक्ष्य र अधिकांश पीडित महिला भएकाले प्रहरीले घटनालाई शृंखलाबद्ध अपराधका रूपमा अनुसन्धान अघि बढायो ।
घटनास्थल वरपरका सीसीटीभी फुटेजको अध्ययन गर्दा तिलोत्तमामा जमुना अर्यालको सिक्री लुटेर भागेको मोटरसाइकल र त्यसमा सवार व्यक्तिको दृश्य एक घरमा जडान गरिएको क्यामेरामा कैद भएको भेटियो । त्यसैलाई आधार बनाएर प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढायो ।
अन्तत: असार १६ गते प्रहरीले गिरोहका मुख्य आरोपी राहुल जयसवाल र उनका सहयोगी प्रदीप कान्दुलाई बुटवलको शान्तिकुञ्ज चोकबाट नियन्त्रणमा लियो ।
अनुसन्धानका क्रममा राहुलले साथीको मोटरसाइकल प्रयोग गरी सिक्री लुटपाट गर्दै आएको र लुटिएका सिक्री प्रदीप कान्डुले सञ्चालन गरेको भैरहवास्थित श्री बालाजी ज्वेलर्स नामक सुन पसलमा बिक्री वा बन्धकी राख्ने गरेको बयान दिएका छन् ।
जमुना अर्यालको सिक्री बन्धकी राखेर एक लाख २३ हजार रुपैयाँ लिएको तथा त्यसबाट तीन हजार रुपैयाँ नितेश कुमारलाई दिएको कुरा पनि बयानमा उल्लेख छ । प्रहरीले उक्त पसलबाट दुईवटा सुनका सिक्री बरामद गरेको जनाएको छ ।
प्रहरी अनुसन्धान अनुसार वैशाख १७ गते मायादेवी गाउँपालिका–८ बाट बिहान मर्निङ वाकमा निस्किएकी कमला पाण्डेको करिब दुई तोला सुनको सिक्री लुटिएको थियो ।
त्यसपछि वैशाख २० गते तिलोत्तमाको भलवारी हाटबजारमा स्कुटर रोकेर बसेकी ज्योति शर्माको करिब एक तोला २५ लाल बराबरको सिक्री लुटिएको थियो ।
असार ७ गते ड्राइभरटोलमा लक्ष्मी विक र सोही दिन राति तिलोत्तमाकी सिर्जना अधिकारी पनि सिक्री लुटपाटको सिकार बनेका थिए । त्यसको भोलिपल्ट जमुना अर्याल र सोही दिन संगमटोलकी राधा घिमिरेमाथि पनि उस्तै शैलीमा लुटपाट भएको अनुसन्धानबाट खुलेको छ ।
केही सिक्री भारतमा लगेर बिक्री गरेको आरोपित राहुलले बयानमा स्वीकार गरेका छन् ।
अनुसन्धानका क्रममा राहुल भारतको उत्तर प्रदेशका नागरिक रहेको खुलेको छ । उनी रुपन्देहीस्थित एक क्यासिनोमा काम गर्ने क्रममा क्यासिनो खेल्ने लतमा फसेका थिए । पैसाको अभाव भएपछि उनले छिटो आम्दानी गर्ने उद्देश्यले महिलाको सिक्री लुट्ने योजना बनाएको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार उनले पहिले महिलालाई पछ्याउने, सुनको सिक्री लगाएको यकिन भएपछि उपयुक्त अवसर पर्खने र त्यसपछि मोटरसाइकल प्रयोग गरेर सिक्री थुतेर फरार हुने गर्थे ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार राहुल जयसवाल क्यासिनोको लत लागेपछि सिक्री लुटपाटमा सक्रिय भएको अनुसन्धानबाट खुलेको हो ।
लुटिएका सिक्री खरिद–बिक्री गर्ने र त्यसबापत कमिसन खाने व्यक्तिको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत रुपन्देहीको आदेशपछि राहुल हाल पुर्पक्षका लागि कारागारमा छन् ।
हेर्नुहोस्, भिडियो: