२३ भदौ २०८३, मंगलबार

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा किन भयो विद्युत् अवरुद्ध ?

साउन २४, २०८३
काठमाडौं
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा किन भयो विद्युत् अवरुद्ध ?

 पिलुवा सबस्टेसनमा नयाँ १३२/३३ केभी, १०० एमभीए पावर ट्रान्सफर्मर जडान गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

आइतबार साँझको समयमा ट्रान्सफर्मर जडानको काम भइरहेका बेला लाइट जडान गर्ने क्रममा १३२ केभी साइडमा तार पर्न गई १३२ केभी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। ठेकेदारका प्राविधिकले ट्रान्सफर्मर जडानसम्बन्धी काम गरिरहेका बेला घटना भएको हो।

घटनाका कारण १३२ केभी प्रणालीमा आंशिक प्रणाली अवरुद्ध  भएको थियो। घटनामा कार्यरत एक जना प्राविधिक घाइते भएका छन्। उनको उपचार भइरहेको प्राधिकरणले जनाएको छ।

घटनालगत्तै विद्युत् प्रणाली पुनःस्थापना तथा आवश्यक प्राविधिक व्यवस्थापनका लागि सम्बन्धित प्राविधिक टोली परिचालन गरिएको थियो। दुर्घटनाको अवस्था र आवश्यक प्राविधिक कार्यका कारण प्रणाली पुनःस्थापना गर्न केही समय लागेको र त्यसपछि विद्युत् आपूर्ति क्रमशः पुनःस्थापित गरिएको प्राधिकरणले जनाएको छ।

घटनाका कारण काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन गएकोमा प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।

साथै, घाइते प्राविधिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्राधिकरणले उच्च भोल्टेज प्रणालीमा काम गर्दा आवश्यक सुरक्षा सावधानी, समन्वय र प्राविधिक सतर्कता अपनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्