२३ भदौ २०८३, मंगलबार

जापानमा हुने एसबीआई रेमिट कप फुटबलमा दुई नेपाली दुई टोली सहभागी हुँदै

साउन २५, २०८३
काठमाडौं
जापानमा हुने एसबीआई रेमिट कप फुटबलमा दुई नेपाली दुई टोली सहभागी हुँदै

जापानको आइची प्रान्तस्थित चिर्युमा आगामी अगस्ट १६ मा आयोजना हुने बहुराष्ट्रिय फुटबल प्रतियोगिता ‘एसबीआई रेमिट कप २०२६’ मा नेपाली समुदायका दुई टोलीले सहभागिता जनाउने भएका छन् ।

जापानभरिका विदेशी समुदायबीच मैत्री, एकता र खेलकुदको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताका लागि नेपाली समुदायको प्रतिनिधित्व गर्ने दुई टोली छनोट भएका हुन् ।

प्रतियोगिताका लागि हालै सम्पन्न एसबीआई रेमिट सातौं यूएफएन कपबाट नेपाली खेलाडी छनोट गरिएको हो । जापानभरिबाट ३२ टोली सहभागी भएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये नेपाली समुदायबाट दुई टोली छनोट भएका हुन् ।

प्रतियोगितामा नेपालसहित जापानमा रहेका विभिन्न विदेशी समुदायका टोलीको सहभागिता रहनेछ । प्रतियोगिताले खेलकुदमार्फत विभिन्न राष्ट्रियता र समुदायबीचको सम्बन्ध विस्तार तथा आपसी मित्रता र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

जापानमा रहेका विदेशी नागरिकबीच लोकप्रिय रेमिटेन्स सेवा प्रदायकका रूपमा रहेको एसबीआई रेमिटले विशेषगरी नेपाली समुदायलाई लक्षित गर्दै सुरक्षित, छिटो र विश्वासिलो रकम पठाउने सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले नेपाली समुदायसँग सामाजिक, सांस्कृतिक तथा खेलकुदका विभिन्न गतिविधिमा सहकार्य गर्दै आएको छ । यो प्रतियोगिता पनि विदेशी समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यअन्तर्गत आयोजना गरिएको हो ।

प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जापानमा रहेका नेपाली समुदायबीचको एकता र सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, विभिन्न राष्ट्रियताका समुदायका खेलाडी तथा समर्थकलाई एउटै खेल मैदानमा जोडेर आपसी चिनजान, मित्रता र सहकार्य विस्तार गर्न प्रतियोगिताले योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।

नेपाली समुदायबाट छनोट भएका टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिरहेका छन् । जापानमा रहेका नेपाली समुदायलाई आफ्ना खेलाडीलाई हौसला प्रदान गर्दै प्रतियोगितामा सहभागी हुन आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्