
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशल कुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले वडाध्यक्ष धोवी, वडा सचिव वीरबहादुर थापा मगर तथा रविन्द्र लामिछाने र विकास कुमार चापागाईंविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार वडाध्यक्ष धोवी र वडा सचिव थापाले अन्य प्रतिवादीसँगको मिलेमतो तथा योजनामा गैरकानूनी लाभ लिने–दिलाउने बदनियतले सरकारी कागजात सच्याएको, झुट्टा तथा नक्कली करारनामा तयार गराएको र सरकारी छापको दुरुपयोग गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।
अनुसन्धानका क्रममा २०७९ साउन १० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईंबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८, क्षेत्रफल १६४.१४ वर्गमिटर जग्गा खरिदका लागि ७० लाख रूपैयाँ लेनदेन भएको देखाउने गरी झुट्टा तथा नक्कली करारनामा तयार गरिएको आयोगले जनाएको छ ।
उक्त करारनामालाई वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा सच्याई थपघट गरी प्रमाणित गरिएको तथा हाल प्रयोगमा रहेको वडा कार्यालयको सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगको दाबी छ ।
त्यस्तै, वडाध्यक्ष धोवी र वडा सचिव थापाले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरण फेरबदल गराई चलानी नम्बर ७२४२ को झुट्टा विवरणसहितको गलत लिखत तयार गरी आयोगको अभिलेखमा रहने गरी पत्राचार गरेको पनि अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।
आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुर भएको ठहर गरेको छ ।
वडाध्यक्ष कौशल कुमार धोवीविरुद्ध दफा ९ र ११ बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गरिएको छ भने वडा सचिव वीरबहादुर थापाविरुद्ध दफा ९ बमोजिम कैद तथा जरिवाना सजाय माग गरिएको छ ।
त्यसैगरी, रविन्द्र लामिछाने र विकास कुमार चापागाईंलाई मुख्य कसुरदारलाई गैरकानूनी लाभ हुने प्रकृतिको कार्यमा मतियार भएको आरोप लगाइएको छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजाय हुनुपर्ने मागदाबी अख्तियारले गरेको छ।