
भक्तपुरको सूर्यविनायक नगरपालिका–१, बिरुवास्थित उत्साहित सुधार केन्द्रमा राखिएका ४४ वर्षीय उमेश खड्गीको मृत्यु प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१ सिरुटारका खड्गीको यही साउन २३ गते सुधार केन्द्रमा मृत्यु भएको थियो । घटनाको अनुसन्धानका क्रममा सुधार केन्द्रका अध्यक्ष तथा सञ्चालकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–४ का ४७ वर्षीय गौतम श्रेष्ठ, रामेछाप सुनापती गाउँपालिका–२ का ३६ वर्षीय सुमन खपाङ्गी मगर, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ का ३८ वर्षीय सविन कार्की, रामेछाप लिखु तामाकोशी गाउँपालिका–१० का ३५ वर्षीय अशोक तामाङ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का २८ वर्षीय विकाश खड्का रहेका छन् ।
श्रेष्ठ सुधार केन्द्रका अध्यक्ष तथा सञ्चालक हुन् भने अन्य चार जना सोही सुधार केन्द्रमा बस्दै आएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत भक्तपुरबाट सोमबार पाँचै जनालाई चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिए ।