राइड शेयरिङ चालकहरूलाई भावनात्मक कथा सुनाएर नगद ठगी गर्ने गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बालाजु–मनमैजु बस्ने २३ वर्षीय आयुष पाण्डे रहेका छन् । साउन २४ गते नयाँ बसपार्क प्रहरी प्रभागको टोलीले पाण्डेलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पाण्डेले बालाजु, बानियाटार, बसुन्धरा र नयाँबजार क्षेत्रमा कम्तीमा २२ जना पठाओ तथा याङ्गो चालकसँग ‘विदेश जानुअघि आमाको हातबाट टीका लगाउनुपर्छ’ भन्ने बहानामा दुईदेखि तीन हजार रुपैयाँ लिएर ठगी गरेको आरोप छ ।
उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
विदेश उड्न लागेको भन्दै पाण्डेले ‘आमाले अन्तिमपटक टीका लगाइदिन बोलाउनुभएको छ’ भनेर चालकसँग केही हजार रुपैयाँ सापटी माग्ने र त्यसपछि सम्पर्कविहीन हुने शैलीमा काठमाडौंका दर्जनौं राइड शेयरिङ चालकलाई ठग्दै आएका थिए ।
प्रहरीका अनुसार पाण्डेले शुरूमा राइड बुक गरेर गन्तव्यका रूपमा सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रोज्ने गर्थे ।
विमानस्थल जाने यात्रु भएकाले चालकहरू पनि सामान्यभन्दा राम्रो भाडाको अपेक्षासहित उनलाई गन्तव्यतर्फ लैजान्थे ।
यात्राका क्रममा उनले आफू विदेश जान लागेको, तर आफूसँग नेपाली रुपैयाँ नभई विदेशी मुद्रा मात्र रहेको बताउँथे ।
त्यसपछि ‘आमाले अन्तिमपटक टीका लगाइदिन बोलाउनुभएको छ, दुई–तीन हजार रुपैयाँ दिनुस्, घरभित्र गएर टीका लगाएर आउँछु, एयरपोर्टमा पुगेर पैसा साटेपछि तुरुन्तै फिर्ता गर्छु’ भन्दै चालकसँग नगद माग्ने गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेका अनुसार मानवीय संवेदनाले प्रभावित भएका धेरै चालकले उनको कुरा पत्याएर पैसा दिन्थे ।
तर, ‘दुई मिनेटमै आउँछु’ भन्दै गल्लीतिर छिरेका पाण्डे फर्केर नआउने र केहीबेरपछि उनको मोबाइल फोन पनि बन्द हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यसरी ठगिएको थाहा पाएपछि चालकहरू प्रहरीकहाँ पुगेर उजुरी दिने गरेका थिए । एउटामात्र होइन, यस्तै प्रकृतिका उजुरी लगातार आउन थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा पाण्डेले एउटै शैली अपनाएर पटक–पटक ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले यसअघि पनि ठगीसम्बन्धी कसुरमा प्रहरी वृत्त बालाजुबाट मुद्दा खेपिसकेका व्यक्ति हुन् ।
प्रहरी अनुसन्धानमा उनले बानियाटार क्षेत्रमा मात्रै १० जना पठाओ तथा याङ्गो चालकलाई ठगेको खुलेको छ ।
त्यसबाहेक बसुन्धरामा ६ जना र नयाँ बजार क्षेत्रमा ६ जना चालक पनि यही शैलीको ठगीको शिकार बनेका छन् ।
एसएसपी घिमिरेका अनुसार घटनापछि पाण्डेको हुलिया सबै राइड शेयरिङ चालकसम्म पुर्याइएको थियो । उनी फेरि देखिए तत्काल प्रहरीलाई खबर गर्न चालकहरूलाई सचेत समेत बनाइएको थियो ।
साउन २४ गते पाण्डेले फेरि उही शैलीमा अर्को राइड बुक गरी चालकसँग पैसा माग्ने प्रयास गरेका थिए । तर, यसपटक चालकले उनको अनुहार चिनेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।
केही चालकले पैसा फिर्ता नगरे प्रहरीमा उजुरी दिने चेतावनी दिएपछि उनले केही घटनामा रकम फिर्ता पनि गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अपरिचित व्यक्तिको भावनात्मक कथा सुनेर नगद सहयोग नगर्न र यस्तै बहानामा कसैले पैसा मागेमा तत्काल प्रहरीलाई जानकारी गराउन राइड शेयरिङ चालकलाई आग्रह गरेको छ ।
यो घटनाले विश्वास र मानवीय संवेदनाको दुरुपयोग गर्दै ठगी गर्ने प्रवृत्तिप्रति थप सतर्क रहनुपर्ने सन्देश दिएको प्रहरीले जनाएको छ ।
हेर्नुहोस्, भिडियो :