२३ भदौ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

ओली-प्रचण्डको ५ बुँदे निर्देशनदेखि चार जना सहिद थपसम्म

साउन २७, २०८३
काठमाडौं
ओली-प्रचण्डको ५ बुँदे निर्देशनदेखि चार जना सहिद थपसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेपछि मंगलबार खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुन सकेन।

संविधानअनुसार निर्णयका लागि कम्तीमा ६९ सांसद आवश्यक पर्नेमा ६१ जना मात्रै उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव अर्को बैठकमा पेस गरिने जानकारी दिए ।

००००

सदनमा सांसदहरूको उपस्थिति न्यून भएर महत्त्वपूर्ण विधेयक निर्णयार्थ पेस हुन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आक्रोश व्यक्त गरेकी छिन्।

बुधबार एकाबिहानै सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले सांसदहरूको लाचारी सार्वजनिक गरेकी हुन् । मन्त्रालयहरूमा धाउनुपर्ने प्रशासनिक बाध्यताले संसद्मा उपस्थित हुन नसकिएको उनको भनाइ छ ।

००००

आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा शाखा लाजिम्पाटले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गतका १३ जना विजेताहरू सूची सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयको सुवर्ण हलमा साउन २२ गते श्रावण १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता छनोट गरिएको थियो ।

००००

साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको मंगलबार जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

डा विमको पार्थिव शरीरमा उनका जेठा सुपुत्र डा आभाषलाभ कर्णले दागवती दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गएराति १२:४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो ।

००००

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा ५५ भन्दा बढी ब्रान्डमा लक्जरीदेखि कमर्सियल सवारी साधन राखिएका छन् ।

यही साउन ३१ गतेसम्म चल्ने दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोमा ५१ वटा प्रदर्शनी स्टल रहेका छन् । जसमा ५५ भन्दा बढी ब्रान्डको उपस्थिति छ । ४० भन्दा बढी नयाँ ब्रान्डका सवारी साधन लन्च हुने भनिए पनि मंगलबार केही गाडी लन्च भएनन् ।

००००

पछिल्लो समय लामो ढाँचाका अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएपछि समर्थकको चर्को आलोचना खेपिरहेको नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीमा व्यापक फेरबदल गरेको छ ।

क्यानले एकदिवसीय टोलीमा कप्तानसँगै खेलाडीमा पनि ठूलै फेरबदल गरेको हो । हालै नेदरल्यान्ड्समा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आफ्नो पछिल्लो शृंखलामा खराब प्रदर्शन गर्दै टोली स्वदेश फर्किएको केही समयपछि नै क्यानले यस्तो ‘अप्रत्यासित’ निर्णय लिएको हो ।

००००

राप्रपाका पूर्वअध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाह र छिमेकी मुलुकका राजदूतहरूबीच भएको छुट्टाछुट्टै भेटवार्तालाई लिएर भइरहेको चर्चा निरर्थक भएको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्ता सामान्य भेटघाटलाई अतिरञ्जित नगर्न आग्रह गरेका हुन्।

००००

'जान्नेलाई छान्ने' नाराको बलमा चुनिएर आएका रास्वपाका कतिपय सांसद धेरै जान्ने हुँदा आलोचनाको केन्द्रमा परिरहेका छन् । कोही प्रश्न सोध्नेलाई थर्काउँछन्, कोही राष्ट्र सेवक कर्मचारीलाई घिसारेर बाहिर निकाल्छु भन्छन् ।

अर्कातिर सरकारको पनि आलोचना भइरहेको छ ।

चुनावमा नारा थियो, ‘नो लाइन, ओन्ली अनलाइन।’तर, आजभोलि मानिसहरू ग्यासका लागि दिनभरि लाइनमा बस्छन् र खाली हात फर्किन्छन्।

सरकार निर्माण भएको ४ महिना मात्रै पूरा भएको छ । अहिले सरकारको आलोचना प्रतिपक्षले भन्दा पनि सत्तारूढ रास्वपाकै सांसदहरूले गरिरहेका छन्।

पार्टीभित्रैबाट आलोचना बढ्दै गर्दा प्रधानमन्त्री बालेन शाहले फेसबूकमा लेखे, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन।’

यही स्टेटसपछि रास्वपाकै सांसद मनिष झाले लेखे, ‘दुई तिहाइको सरकारमा कोही एक्लो हुँदैन।’

००००

प्रदेशका मन्त्रालय बाँडफाँट गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले ५ बुँदे निर्देशन जारी गरेका छन् ।

एमाले र नेकपाबीच प्रदेश सरकार गठन सम्बन्धमा विगतमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न उनीहरूले मंगलबार पाँच बुँदे निर्देशन जारी गरेका हुन् ।

निर्देशन अनुसार अब मन्त्रालय भागबन्डामा प्रदेशसभामा दलहरूको सिट संख्याका आधारमा हुनेछ । मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र राजनीतिक शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ।​

००००

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई नेपाल मामिलाका दुई प्रश्न सोधिएको छ । मंगलबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा उनलाई यी प्रश्न सोधिएका हुन् ।

पहिलो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग सोमबार काठमाडौंमा गरेको भेटवार्तासँग सम्बन्धित थियो ।

प्रश्नकर्ताले नेपालका प्रधानमन्त्री बालेनको भारत भ्रमणका विषयमा राजदूतले निमन्त्रणा दिए/नदिएको विषयमा सोधेका थिए ।

जवाफमा विदेश मन्त्रालयका प्रवक्ता जयसवालले बालेनलाई भारत भ्रमणको निमन्त्रणा यसअघिनै दिइसकिएको बताए ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिमोहन भण्डारीले प्रतिपक्ष दलप्रति तीखो अभिव्यक्ति दिएपछि संसद्‌मा जुहारी चलेको छ ।

मंगलबारको बैठकमा बोल्ने क्रममा उनले आफूहरू पढेलेखेका र नयाँ सांसद भएको भन्दै अब संसद्‌मा पुराना नेताका कुरा नगर्न ‘धम्की’ दिएका थिए । यति मात्र होइन उनले अब संसद्‌मा प्रतिपक्षले लामो बोलिरहेको आफूले सुन्न नसक्ने अभिव्यक्ति दिए ।

००००

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार थुनछेक बहसपछि गोल्छालाई १ करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएर साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो ।

००००

सरकारले सुनसरी र सिरहा घटनाका चार जना मृतकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय भएको हो ।

००००

स्थानीय बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढेको छ भने चाँदी १ सय १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ७ सय ८०  रुपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्