
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई विकास निर्माणका लागि पर्याप्त समय दिनुपर्ने बताएका छन् । तर, भ्रष्टाचारका ठूला काण्डहरूको अनुसन्धान र कारबाहीका लागि भने कुनै पनि बहानामा समय कुर्न नहुने कडा उनको भनाइ छ ।
नेता शाहीले बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै सरकार गठन भएको थोरै समयमै देशमा ठूलो चमत्कार नै भइहाल्छ भन्ने अपेक्षा राख्नु व्यावहारिक नहुने बताएका हुन् । उनले भनेका छन्, 'चार महिनामै सरकारले चमत्कार गरेर देश बदल्नुपर्छ भन्ने होइन। विकास गर्न समय चाहिन्छ, त्यसका लागि सरकारलाई केही समय कुर्नुपर्छ। ३५ वर्षमा हुन नसकेको विकास चार महिनामै गर भनेर अपेक्षा गर्नु पनि व्यावहारिक हुँदैन।'
विकास निर्माणका काममा ढिलाइ स्वाभाविक माने पनि भ्रष्टाचारका मामिलामा भने सरकारले कुनै छुट वा बहाना पाउन नहुने उनको तर्क छ। उनका अनुसार विगत ३५ वर्षमा देशमा भएका ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य नाइकेहरूलाई कानुनको दायरामा ल्याउन कुनै वर्षौंसम्म कुर्नु पर्दैन। 'भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका मुख्य व्यक्तिहरूमाथि अनुसन्धान र कानुनी कारबाही शुरू गर्न भने वर्षौं कुर्नुपर्दैन,' उनले लेखेका छन् । 'विकासका लागि समय लिनुस्, तर भ्रष्टाचारको अनुसन्धान गर्न समयको बहाना नबनाउनुस्,' उनले भनेका छन् ।