२३ भदौ २०८३, मंगलबार
कांग्रेसको किचलो

शशांकलाई शिखण्डी बनाएर गगनमाथि भइरहेको प्रहार

गगन नेतृत्वको कांग्रेसले मात्र गर्न सक्छ बालेन–रवि र रास्वपासँग 'ट्याकल'
साउन २७, २०८३
काठमाडौं
शशांकलाई शिखण्डी बनाएर गगनमाथि भइरहेको प्रहार

मुख्य उद्देश्य पार्टी सभापति गगन थापालाई गाली गर्न आयोजना गरिएको जस्तो देखिने नेपाली कांग्रेस संस्थापन इतर पक्षको सोमबारको जमघटमा अर्को कांग्रेसको सभापतिमा चर्चा गरिएका डा. शशांक कोइराला आफैंमा थकित स्वरमा भन्दै थिए– 'साथीहरूले मलाई अप्ठ्यारो ठाउँमा उभ्याइदिनु भएको छ ।'

उनीभन्दा पहिला बोलेका वक्ताले राखेका विचार र भाषाबाट शशांक विरक्त जस्तो देखिन्थे । त्यहाँ उनले भने, 'हामी बूढो भइसक्यौं, कुन दिन माथि जाने हो, कांग्रेसको भविष्य युवा हो !' साउन २९ गते शुक्रवारदेखि शुरू हुने राष्ट्रिय भेलाको संयोजक शशांक बनेका छन् ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका कांग्रेस नेता मोहन बस्नेतको योजनामा काठमाडौंको तीनकुनेमा 'युवा भेला' कार्यक्रम आयोजना गरिएको थियो । व्यानरमा जेसुकै लेखिएको भए पनि कार्यक्रमका मुख्य आयोजक मोहन बस्नेत थिए, शशांकले सम्बोधनका बेला पनि 'बस्नेतजी'ले बोलाएर आएको बताएका थिए ।

इतरको युवा भेलामा गगनविरुद्ध कोही वक्ताले बोल्दा ताली बजाउने एउटा जमात उपस्थित थियो–– जसलाई राजनीतिक सिद्धान्त र मूल्य मान्यतासँग मतलब छैन ।

राजनीतिक एजेन्डा र तर्क सिद्धिएपछि मानिस गालीगलौज र आक्षेपमा उत्रिन्छ, जुन सोमबार तीनकुनेको कार्यक्रममा देखियो । प्रतिद्वन्द्वी पार्टीका नेताले समेत लगाउन नसकेको काल्पनिक आरोप लगाउन त्यहाँ एकप्रकारको प्रतिस्पर्धा चल्यो ।

गगनकै क्षेत्र काठमाडौं ४ को क्षेत्रीय सभापति र बागमती प्रदेशको महामन्त्री बनेका राजु श्रेष्ठले भदौ २४ मा पर्खाल नाघेर भागेका कारण मात्र गगन बचेको नत्र शेरबहादुर देउवाले भन्दा धेरै कुटाइ खाने अवस्था रहेको आरोप लगाए । त्यस्तो आरोप लगाउँदा हलमा ताली बज्यो । देउवाको घर जलाउन गगनका कार्यकर्ता गएका थिए भनेर आरोप लगाउने सुशान्त बस्नेतले कार्यक्रम उद्घोषण गरेका थिए ।

मोहन बस्नेत जसले कांग्रेस उम्मेदवार हराउन अन्तरघात गरेको खुलमखुला भनिरहेका छन्, जसले तिनै राजु श्रेष्ठलाई उद्धृत गर्दै भन्छन्– 'बाख्राको खोर चलाउन नसक्ने गगनले कांग्रेस पार्टी चलाउन सक्छ ?

तल्लो स्तरमा उत्रिएर गगनविरुद्ध बोल्दा हलमा ताली गुञ्जियो । साक्षी बसेका वीपी–गणेशमान पुत्र खिस्स हाँसे र लोकतन्त्रको बखान गर्न थाले ।

मोहन बस्नेत र राजु श्रेष्ठलाई प्रवक्ता बनाएर इतर समूहले कस्तो प्रजातान्त्रिक पार्टी बनाउन खोजेका हुन् ? के आजको दिनमा सीमित कांग्रेस कार्यकर्ताबाहेक आम जनताले इतर समूहका नेतालाई पत्याउँछन् ? वा उनीहरूको अपिल सुनेर भोट हाल्छन् ?

null

गगन: नयाँ र पुरानो पुस्ता जोड्ने सेतु

गत फागुन २१ गतेको चुनावमा मेरा एक सहकर्मी 'गगन कांग्रेसलाई भोट' हाल्न भन्दै काठमाडौंसँग जोडिएको जिल्लामा जानुभएको थियो, कांग्रेस उम्मेदवारले हार्ने जान्दाजान्दै ।

'कांग्रेस हार्छ भन्ने थाहा छ, तर भोलिको दिनमा पनि मैले गगन नेतृत्वको कांग्रेसलाई भोट हालेको थिएँ भन्दा गर्व महसुस हुनेछ' वामपन्थी राजनीतिमा झुकाव राख्ने परिवारका ती साथीको भनाइ थियो । शायद कांग्रेसमा उनको यो पहिलो भोट थियो ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन नभएको भए कांग्रेसको हालत अझै पातलो हुने थियो, निश्कल राई र सन्दीप राना जस्ता नयाँ अनुहार संसदमा आउने थिएनन् । समानुपातिकतर्फ पनि कांग्रेसको मत खस्किने सम्भावना थियो । यद्यपि, इतर पक्षले अन्तरघात नगरेको भए कतिपय क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी हुन सक्थे ।

यतिबेला देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई-तिहाइ बहुमतको सरकार छ, कांग्रेस सानो साइजमा खुम्चिएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि पनि रास्वपाले आक्रामक तयारी गरिरहेको छ । यतिबेला कांग्रेस स्थानीय तह निर्वाचनको तयारीसँगै सरकारका स्वेच्छाचारिताविरुद्ध उभिनुपर्ने थियो । तर, कांग्रेस आन्तरिक घरझगडामा अल्झिएको छ ।

बीपीले स्थापना गरेको पार्टी विभाजनका लागि आफैंलाई शिखण्डी बनाउन लागिएको कुरा शशांकले मनन गरून् ।

पार्टीको साइज सानो ठूलो जेसुकै भए पनि आम जनताको विश्वास र भरोसा कांग्रेससँग अझै पनि बाँकी छ, उसको लिगेसीका कारण । उदार लोकतन्त्रको हिमायती कांग्रेससँग उद्योगी, व्यवसायीदेखि पेशाकर्मी पनि हच्किँदैनन् । त्यही एउटा साखका कारण कांग्रेस प्रजा परिषद हुनबाट बचेको छ ।

प्रमुख दल बन्दा पनि नेपालका कम्युनिस्ट पार्टीले त्यो स्थान हासिल गर्न सकेका छैनन्, जुन कांग्रेसको पालामा भएको छ । ०४६ साल या ०६२/०६३ को आन्दोलन होस् या संविधान जारी गर्ने कामको नेतृत्व कांग्रेसले गर्‍यो । गिरिजाप्रसाद कोइराला जस्तो टावरिङ पर्सनालिटी भएको व्यक्ति होस् या सुशील कोइराला जस्तो लो प्रोफाइलको नेता, उनीहरूको नेतृत्वमा आन्दोलन र संविधान जारी भयो ।

त्यो लिगेसी बोकेको र लोकतन्त्रका आधारभूत मान्यतासँग सम्झौता नगर्ने कांग्रेसको परिचय र पहिचान हो । पुरानो लिगेसी बोकेको कांग्रेसले नयाँ पुस्ताले नेतृत्व गरिरहेको नयाँ दलसँग प्रतिस्पर्धा गरिराख्नुपरेको छ ।

प्रकाशमान या विमलेन्द्र, शशांकले बालेन र रवि नेतृत्वको रास्वपासँग प्रतिस्पर्धा गर्न सक्दैनन् । पुराना नेता र नयाँ पुस्तासँग पनि समन्वय गरेर काम गर्न सक्ने नेता गगन थापा हुन् ।

null

कमजोरी नभएका नेता होइनन् गगन, तर कांग्रेसमा हामीहरू नै चाहिन्छ भनेर उफ्रीरहेका इतरका नेता भन्दा डायनामिक छन्, जसले भदौ २३–२४ को घटना हुनुभन्दा २ हप्ता पहिले संसदबाटै जनविस्फोटको पूर्वसंकेत दिएका थिए । आफ्नै पार्टी सरकारमा रहँदा पनि उनी आलोचना गर्न पछि परेनन् । कांग्रेसको पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्न सक्ने सेतु बन्न सक्छ उनको टीम ।

कांग्रेस विवाद सर्वोच्च अदालतमा पुन: ब्यूँतिएको छ । दुवै पक्षले 'न्याय पाउँछौं' भनिरहेका छन् । पुनरवलोकनको विषयले इतर समूहका नेताहरू बढी उत्साहित देखिन्छन् । गगनको दाबी छ कि– विशेष महाधिवेशनको हल, निर्वाचन आयोग र सर्वोच्चको डिभिजन बेञ्चले वैधता दिइसकेको विशेषको औचित्य फेरि प्रमाणित गर्ने अवसर मिल्नेछ ।

संसदीय दलका नेता भीष्मराज आङदेम्बेको शब्दमा गगन नेतृत्वको कांग्रेस सर्वोच्चबाट २४ क्यारेटको भएर आउनेछ, अर्थात् अझ निखारिनेछ ।

कृष्ण सिटौलाले भने सर्वोच्चले १४ औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमिति पुनर्स्थापित गरेर न्याय पाउने भन्दै सोमबारको कार्यक्रममा कार्यकर्तालाई आश्वस्त पार्ने कोशिश गरे ।

देउवाको 'रेडकर्नर टू रेड कार्पेट'र इतरको आशा

कांग्रेस विवाद पुनरवलोकनका लागि सर्वोच्चले अनुमति दिने र शेरबहादुर देउवा स्वदेश फर्किने कुराले इतर कांग्रेसमा हर्षबढाइँ चलिरहेको छ ।

देउवा फर्किने कुरालाई अहिलेको संस्थापन पक्षले शंकाको नजरले हेरिरहेको छ– रेडकर्नर नोटिसबाट रेडकार्पेट तहमा आएको भन्दै कांग्रेस केन्द्रीय सदस्य अजय शिवाकोटीले आशंका जन्माइदिएका छन् । देउवा फर्किन लागेको विषय गैरकांग्रेसीका लागि पनि चासोको विषय बनेको छ ।

देउवा स्वदेश फर्किए पनि या अदालतले उनलाई पुनर्स्थापित गरिदिए पनि अब उनले कांग्रेसलाई अगाडि बढाउन सक्ने छैनन् । देउवा र ओलीको उपादेयता भदौ २४ मै सिद्धिएको हो, उनीहरूको हठले तत् तत् पार्टीलाई नोक्सानी मात्र गरिरहेको छ ।

संवत् २०५८–०६१ तिरका घटनाक्रमलाई बिर्सने हो भने देउवाले आफ्नो समयमा लोकतन्त्रको पक्षमा केही राम्रो काम गरेका हुन् । कतिपय सन्दर्भमा राम्रो अडान लिए । कांग्रेस हार्दाहार्दै देशमा चुनाव गराए । थोरै बोलेर पनि काम फत्ते गरे ।

तर, देउवाको उपादेयता कांग्रेस र नेपालका लागि सकिएको छ । लोकतन्त्रका लागि लामो संघर्ष गरेका र दुःख पाएका नेता स्वदेश फर्किनु तथा स्वदेशमै रहनु राम्रो कुरा हो । गत वर्ष असोजमा कार्यवाहक तोकेर उनले राजनीतिबाट ग्रेसफुल एक्जिटको निर्णय लिएका थिए, त्यसमा कायम रहेको भए देउवाको हाइट बढ्ने थियो ।

बीपी, गणेशमान र किसुनजी जस्तै देउवाले भविष्यमा पनि कांग्रेस कार्यकर्ताले आफूलाई सम्झिरहुन् भन्ने चाहेका हुन् भने कांग्रेस विवाद मिलाउन कोशिश गरून् । यसका लागि स्वयं देउवाले गगनसँग संवाद गरून्, त्यो उनको दूरदर्शिता हुनेछ ।

प्रजातन्त्र दरबारमा लगेर बुझाएको भन्नेलाई पनि सबैभन्दा ठूलो जवाफ हुनेछ । कांग्रेसको विभाजन त्यो पार्टी मात्र होइन देशका लागि पनि हितकर हुनेछैन ।

आफूलाई शिखण्डी (प्रयोग भएको अर्थ बुझाउने महाभारतको एक पात्र) बनाएर कांग्रेस विभाजन गर्ने स्वार्थी चालबाजीबारे डा. शशांक पनि समयमै सचेत होऊन् । बीपीले स्थापना गरेको पार्टी विभाजनका लागि आफैंलाई शिखण्डी बनाउन लागिएको कुरा शशांकले मनन गरून् ।

इतर पक्षलाई आरोपित गरेर मात्र गगन उम्किन पाउँदैनन्, उनीहरूलाई मिलाउन उनले हदैसम्मको लचकता अपनाउनुपर्नेछ । कांग्रेस फुट्यो भने अपजसको हिस्सा आफ्नो भागमा पनि आउनेछ भन्ने कुरा गगनले नबिर्सिऊन् ।

कमेन्ट गर्नुहोस्