
नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त गायक तथा संगीतकार एवं लोकप्रिय तामाङ सेलो गायक विश्व दोङले युरोपका विभिन्न देशमा भव्य सांगीतिक प्रस्तुति दिँदै नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । कोसेली प्रोडक्सनको निमन्त्रणामा युरोप भ्रमणमा आएका दोङले पोर्चुगल, क्रोएसिया, रोमानिया, स्विट्जरल्यान्ड लगायत युरोपका विभिन्न देशमा आयोजित सांगीतिक कार्यक्रममा लाइभ प्रस्तुति दिएका थिए । मञ्चमा उत्रिएका दोङले ‘साइलोमा चारघरे’, ‘कहाँ पर्यो घर’, ‘मुस्ताङ्गे नानी’ लगायत दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शकहरू उत्साहका साथ नाच्दै, गाउँदै र झुमेका थिए ।
दोङको प्रस्तुतिका क्रममा युरोपमा रहेका नेपाली दर्शकहरूले आफ्ना मनपर्ने गीतमा रमाउँदै कार्यक्रमस्थललाई नेपाली सांगीतिक वातावरणमा परिणत गरेका थिए । परदेशमा रहेका नेपालीका लागि उनका गीत तथा प्रस्तुतिले नेपाली भाषा, कला, संस्कृति र गाउँघरको सम्झनासँग जोड्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन् ।
पोर्चुगलमा कार्यक्रम हेर्न पुगेका सन्तोष तामाङले आफूले विश्व दोङका गीतहरू लामो समयदेखि युट्युबमा सुन्दै आएको र पहिलोपटक उनलाई प्रत्यक्ष मञ्चमा देख्न पाउँदा निकै खुसी लागेको बताए । “युट्युबमा सुन्दै आएका गीतका गायकलाई आफ्नै अगाडि लाइभ देख्न र उहाँकै गीतमा नाच्न पाउँदा निकै खुसी लाग्यो । केही समयका लागि परदेशमा छु भन्ने नै बिर्सिएँ,” उनले भने ।

क्रोएसियाका दर्शक सुरेश पौडेलले विदेशमा पनि नेपाली गीत–संगीतको यस्तो भव्य कार्यक्रम हेर्न र सुन्न पाउँदा आफू निकै उत्साहित भएको बताए । “कामको दबाब र व्यस्तताबीच आज बिदा लिएर कार्यक्रममा आएको हुँ । विदेशमा बसेर पनि नेपाली गीत–संगीत सुन्न, आफ्नै कलाकारको प्रस्तुति हेर्न र नेपालीहरूसँग रमाउन पाउँदा निकै खुसी लागेको छ,” उनले भने ।
त्यस्तै, रोमानियामा सहभागी मिलन मगरले तीन वर्षपछि पहिलोपटक नेपाली कलाकारको प्रत्यक्ष कार्यक्रम सहभागी हुन पाउँदा नेपालमै पुगेजस्तो अनुभव भएको बताए । “तीन वर्षपछि पहिलोपटक नेपाली कलाकारको कार्यक्रममा सहभागी हुन पाएँ । कार्यक्रमस्थलमा पुग्दा नेपालमै पुगेजस्तो र आफ्नै देशमा भएको जस्तो अनुभूति भयो । गीत–संगीतमा रमाउँदा मन हलुका भयो र लामो समयदेखि रहेको कामको तनावसमेत कम भएर दिमाग फ्रेस भएको महसुस भयो,” उनले भने ।
विश्व दोङ विगत दुई दशकदेखि नेपाली संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् । नेपाली तथा तामाङ भाषाका गीत–संगीतमार्फत देश तथा विदेशमा रहेका नेपाली संगीतप्रेमीको मन जित्दै आएका दोङले दर्जनौँ सांगीतिक कार्यक्रम तथा लाइभ प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । विशेषगरी तामाङ समुदायमा लोकप्रिय रहेका दोङ तामाङ समुदायभन्दा बाहिर पनि उत्तिकै चर्चित छन् । मौलिक नेपालीपन, तामाङ संस्कृति र आधुनिक संगीतको संयोजनलाई आफ्नो प्रस्तुतिमा समेट्दै उनले नेपाली संगीतलाई व्यापक दर्शकमाझ पुर्याउन महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
दोङको प्रभावशाली स्टेज प्रस्तुति उनको अर्को विशेषता हो । मञ्चमा उत्रिएपछि दर्शकसँग प्रत्यक्ष रूपमा जोडिन सक्ने क्षमता, ऊर्जावान गायनशैली र लोकप्रिय गीतहरूको प्रस्तुतिले उनका कार्यक्रममा छुट्टै उत्साह सिर्जना गर्ने गरेको छ । उनका गीतको धुन बज्नासाथ हजारौँ दर्शकलाई एकसाथ नचाउन र गाउन सक्ने उनको प्रस्तुतिशैलीले उनलाई नेपाली सांगीतिक क्षेत्रमा सफल लाइभ परफर्मरका रूपमा स्थापित गरेको छ ।
विश्व दोङको युरोप सांगीतिक यात्रालाई सफल बनाउन समाजसेवी तथा व्यवसायी एवं एनआरएनए क्रोएसियाका अभियन्ता दावा लामाले क्रोएसिया लगायत विभिन्न देशमा समन्वय, सहजीकरण तथा सहयोग गर्दै कार्यक्रमको सफलताका लागि महत्वपूर्ण पहल गरेका थिए । विभिन्न देशमा दोङलाई भव्य स्वागतसमेत गरिएको थियो ।

समाजसेवी तथा व्यवसायी दावा लामाले विश्व दोङको युरोप सांगीतिक यात्रा भव्य रूपमा सफल भएको बताएका छन् । उनका अनुसार यस सांगीतिक यात्राले युरोपमा रहेका नेपाली समुदायमाझ नेपाली कला, संस्कृति र संगीतलाई चिनाउन तथा यसको प्रवर्द्धनमा थप महत्वपूर्ण योगदान पुर्याएको छ । लामाले युरोपका विभिन्न देशमा आयोजित सांगीतिक कार्यक्रममा नेपाली दर्शकहरूको उत्साहजनक सहभागिता रहेको भन्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउने सम्पूर्ण नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरेका छन् ।
यात्राका क्रममा स्थानीय नेपाली संघसंस्था, व्यवसायी, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय साथ र सहयोग रहेको थियो । पोर्चुगलमा तामाङ समाज पोर्चुगल तथा रोमानियामा साम्दी इभेन्टलगायत विभिन्न संस्था तथा व्यक्तिहरूको सहयोगले कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका थिए ।
क्रोएसियामा आयोजित कार्यक्रम अन्य कार्यक्रमहरूको तुलनामा निकै भव्य भएको र दर्शकको उपस्थिति पनि उल्लेख्य रूपमा बढी रहेको आयोजकहरूले बताएका छन् । सामान्यतया दुई–चार सय नेपाली सहभागी हुने सांगीतिक कार्यक्रममा यसपटक करिब एक हजार नेपालीको उपस्थिति रहेको आयोजकको भनाइ छ । एउटै नेपाली सांगीतिक कार्यक्रममा यति ठूलो संख्यामा नेपालीहरू भेला हुनु विश्व दोङप्रतिको दर्शकको माया र नेपाली गीत–संगीतप्रतिको आकर्षणको प्रमाण भएको उपस्थितहरूले बताएका छन् ।
युरोपका विभिन्न देशमा नेपाली संगीतप्रेमीलाई गीत–संगीतको तालमा झुमाउँदै सफल सांगीतिक यात्रा पूरा गरेका विश्व दोङ स्विट्जरल्यान्डबाट नेपालतर्फ प्रस्थान गरेका छन् ।