२३ भदौ २०८३, मंगलबार
जोगाइँदै पुर्खाको चिनो

होटलभित्रै 'संग्रहालय'- जहाँ भेटिन्छन् कोठाभन्दा बढी कथा !

भदौ ६, २०८३
बुटवल
होटलभित्रै 'संग्रहालय'- जहाँ भेटिन्छन् कोठाभन्दा बढी कथा !

होटललाई सामान्यतया पर्यटक वा अन्य आगन्तुक पाहुनालाई खान/बस्न बनाइन्छ । त्यसैका लागि विभिन्न संरचनाहरू बनाइन्छ । तर, बुटवलको एक होटलले पाहुनालाई बास बस्न, कार्यक्रम गर्न वा खाना खानमा मात्र सीमित नराखी ऐतिहासिक र सांस्कृतिक अनुभवसँग जोड्ने प्रयास गरिरहेको छ।

बुटवल उपमहानगरपालिका–९ बसपार्क पछाडि रहेको न्यू ईरा होटलले पाहुनालाई नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरेको हो । ईरामा पुग्नेबित्तिकै पाहुनाले ‘म्यूजियम’मा जस्तै अनुभूति गर्न पाउँछन् ।

होटलका सञ्चालक माधव नेपालले लोप हुने अवस्थामा पुगेका पुराना घरेलु उत्पादन तथा संस्कृति युवा ‘जेनेरेसन’लाई लक्षित गरी ती सामग्री संकलन गरिरहेको बताए । नेपालको ग्रामीण समाजमा प्रयोग हुँदै आएका त्यस्ता घरायसी सामान तथा ऐतिहासिक महत्त्वका वस्तु संकलन गरी संग्रहालयका रूपमा होटललाई विकास गर्ने योजना उनले सुनाए ।

यस्ता सामान जोहो गर्नुको उद्देश्य विगतको समाज, संस्कृति, प्रविधि र जीवनशैली अहिलेका पुस्तालाई देखाउनु रहेको नेपालको भनाइ छ ।

पुराना सामग्री संकलन गरेर संग्रहालयका रूपमा विकास गर्ने अवधारणा माधवकी छोरी रत्न नेपालको हो । रत्नका अनुसार यस्ता सामग्री जम्मा गरेर ‘म्यूजियम’मा रूपान्तरण गर्न सकियो भने भावी पुस्ताले पछिसम्म हेर्न र बुझ्न सक्नेछन् । उनी हाल युकेमा छिन् ।

null

सामान संकलनपछि छुट्टै भवन बनाएर संग्रहालय नै बनाउने सोचमा छोरी रहेको माधव सुनाउँछन् । होटलमा परम्परागत ढिकी, जाँतो, कोल, पुराना थाल, टुकी, पाला, छालाको डोको, लालटिन, मैनटोल, डाला, भड्डु, थुन्से, कटौरा, चौठी, तिर, विभिन्न बाजालगायत थुप्रै सामग्री संकलन गरिएको छ । यी सबै गाउँघरमा हाम्रा पुर्खाले दैनिक जीवनमा प्रयोग गरेका सामग्री हुन् ।

null

‘संग्रहालय’मा परम्परागत कृषि प्रणालीसँग सम्बन्धित मदुस, रोचे (ठूलो गाग्री), ठेकी, जाँतो, मदानी, कसौटी, हलो, जुवा, स्याउ, जुवालगायत कृषि औजार सुरक्षित रूपमा राखिएका छन् । यसले आधुनिक सामग्री र परम्परागत सामग्री कस्तो थियो भन्ने कुरा नयाँ पुस्तालाई बुझ्न मद्दत पुर्‍याएको छ ।

null

त्यस्तै, घरायसी जीवनसँग जोडिएका चौठी, ओखललगायत हजारभन्दा बढी पुराना सामग्रीको संग्रह गरेर राखिएको छ । कतिपय सामग्री अहिलेका युवा र सहरमा जन्मिएका बालबच्चाले ती वस्तु प्रत्यक्ष अवलोकन र बुझ्ने अवसर पाएका छन् । संग्रहालयमा पुराना पैसा (सिक्का), डोली पैसा, विभिन्न समयका चलनचल्तीका मुद्रा, माटो र काठबाट बनेका भाँडाकुँडासमेत सुरक्षित राखिएका छन् ।

null

यस्ता सामग्रीले समाजमा प्रविधिको विकास कसरी भयो भन्ने कुरालाई जीवन्त रूपमा प्रस्तुत गरेको उनले बताए । होटलमा केवल वस्तु हेर्ने मात्र होइन, ती वस्तुको प्रयोग, ऐतिहासिक महत्त्व र समाजमा तिनले खेलेको भूमिकाबारे पनि जानकारी प्राप्त गर्ने गरेको सञ्चालक नेपाल बताउँछन् ।

null

 

होटलमा आउने युवा ‘जेनेरेसन’ले ती पुराना सामग्रीलाई अनौठो मानेर नियाल्छन् । ‘नदेखेका सामग्री के होला भन्छन्, कतिपय पहाड छाडेर बजारतिर बस्नेहरूले ती सामग्री देख्दा हामी त संग्रहालयभित्र आएर बास बसेका छौँ भन्ने खालेको अनुभूति गर्छन्,’ नेपालले भने, ‘होटलले बनाएको संग्रहालय होटलमा आउने पाहुना मात्र होइन, कार्यक्रम गर्न आउनेहरूले पनि यी सामग्री चाखलाग्दो गरी बुझ्ने गर्छन् । अध्ययन गर्ने, नेपालको संस्कृति र परिवेश बुझ्ने बानी, जिज्ञासा र स्थानीय इतिहासप्रतिको चासो बढाउने गरेको छ ।’

null

अझै अरू पनि संकलन गर्न बाँकी रहेका छन् । भेटायति उनीहरूले किनिहाल्छन् । यसलाई व्यवस्थित गरी राखेपछि संग्रहालयको स्वरूप दिने उनको अवधारणा छ ।

त्यसमा बाबा माधव र आमा गमला जुटेका छन् । पछिल्लो समय धेरैजसो किनेर संकलन गरेका छन् । यस्ता सामान जुटाउन माधवले झन्डै करोड रुपैयाँ खर्चिएको दाबी गर्छन् । तामा, पित्तल, काँचजस्ता सामग्री कसैले पनि सित्तैमा दिँदैन । धेरैजसो सामान उनीहरूले पैसा दिएर किनेका हुन् ।

null

नेपालले बुटवल बेलबासमा जग्गा किनेका छन् । त्यहाँ एउटा रिसोर्ट बनाउने उनको योजना छ । त्यही ठाउँमा एउटा हल संग्रहालयको रूपमा ‘डेभलप’ गर्ने र आएका पाहुनालाई देखाउने उनको परिकल्पना छ ।

‘हाम्रा विद्यार्थीले विगतका पुस्ताको जीवनशैली, प्रविधिको विकासक्रम र सामाजिक परिवर्तनलाई नजिकबाट बुझ्न सकून् भन्ने उद्देश्यले यी सामग्री राखिएको हो,’ नेपाल थप्छन्, ‘सँगै यस्ता सामग्री प्रत्यक्ष वस्तुसँग तुलना गरेर बुझ्दा सिकाइ पनि हुने गरेको छ । जसले सांस्कृतिक सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने गरेको छ । पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै पुराना सामग्री क्रमशः हराउँदै गएका छन् ।’

null

ती सामग्रीले विगत बुझ्दै आधुनिक शिक्षासहित भविष्य निर्माण गर्ने प्रेरणा दिइरहेको नेपालकी श्रीमती गमला नेपाल बताउँछिन् । बाबु/बाजेले प्रयोग गरेका पुराना वस्तु लोप हुन थालेको र भावी पुस्तालाई त्यसको जानकारीसमेत नहुने भएकाले सामग्री संग्रह गर्न आवश्यक भएको उनको भनाइ छ ।

नेपाल पुराना पर्यटन व्यवसायी पनि हुन् । उनी साढे चार दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् । मुलुकले पर्यटन क्षेत्रबाटै समृद्धि हासिल गर्ने उनी बताउँछन् । ‘ढिलो होला, समृद्धि हासिल गर्ने पर्यटन उद्योगबाटै हो । यसबाट सबै लाभान्वित हुन्छन्,’ उनी भन्छन् । २०३८ बाट होटल सुरु गरेका नेपालले २०४८ देखि न्यू इरान होटल सञ्चालन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्