
हेटौँडा कपडा उद्योगलाई चिहानबाट उठाउने बालेन सरकारको प्रयासले काम गर्छ कि गर्दैन ? यो उद्योग चल्छ कि चल्दैन ? पुनर्जीवन मात्र दिएर पुग्दैन, उद्योग चल्नुपर्छ, निरन्तर चल्नुपर्छ, नाफामा जानुपर्छ । यो सम्भावना कति देखिन्छ ? यसबारेमा यस लेखमा सरसर्ती चर्चा गरिन्छ ।
सबैभन्दा पहिले के प्रष्ट हुनुपर्छ भने यो उद्योग पूरै सञ्चालनमा आएको होइन, ७८८ तानमध्ये २० वटा तान मात्र सञ्चालनमा आएको हो । अर्थात्, परीक्षण मात्र भएको हो । पूरा उद्योगको एउटा सानो हल र केही कामदारको भरमा उद्योग चलाए जस्तो मात्र गरिएको हो । पूरै हेटौँडा कपडा उद्योग सञ्चालनमा आएको भ्रममा कसैले नपरे हुन्छ ।
यो उद्योग किन र के कारणले बन्द भएको थियो ? हिजो उद्योग जे कारणले बन्द भयो, ती कारण जीवित छन् भने जबर्जस्ती उद्योग चलाए पनि त्यो अन्ततः बन्द नै हुन्छ । यो उद्योग भविष्यमा फेरि बन्द हुनेगरी खुलेको त होइन ? अथवा, मरिसकेका बिरामीलाई भेन्टिलेटरमा राखेर निजी अस्पतालले रकम असुलेजस्तै गरी यो उद्योगलाई पनि भेन्टिलेटरमा राखेर बचाइएको हो कि ? प्रश्न स्वाभाविक छ ।
यो उद्योग २०३२ सालमा चिनियाँ सहयोगमा बनेको थियो । यसले ०३५ सालदेखि उत्पादन थाल्यो । जतिबेला यसले कपडा र धागो उत्पादन गर्थ्यो, यो उद्योग मजासँग चलेको थियो । नाफा कमाएको थियो । पछि किन उद्योग बन्द भयो ? यसको जवाफमा विभिन्न थ्योरी प्रचलित छन् । उद्योगमा राजनीतिक हस्तक्षेप भएको, भ्रष्टाचार भएको, ट्रेड युनियनले धराशायी बनाएको आदि कारणले उद्योग बन्द भएको भनिएको छ । यो बाहेकको पनि केही कारण होला कि ? यो प्रश्नमा गहिरिएर विचार गर्नुपर्ने भएको छ ।
सेन्थेटिकको सुनामी
२०५६ सालमा बन्द हुँदा यो एक्लो उद्योग थिएन । त्यसबेला विश्वमा यस्ता हजारौं कपडा उद्योग बन्द भइरहेका थिए । अमेरिका र बेलायतमा त त्यसबेला जताततै कपडा उद्योगका चिहान देखिन्थे । यसको कारण हो, सेन्थेटिक कपडा । सेन्थेटिक कपडाको विकास हुन थालेपछि कपासमा आधारित कपडा उद्योग बन्द हुन थाले ।
सन् २००० मा विश्वमा कपासको भन्दा सेन्थेटिक कपडाको उत्पादन धेरै हुन थालिसकेको थियो । सस्तो सेन्थेटिक कपडाका अगाडि परम्परागत कपडा टिक्न सकेनन् । उपभोक्ताले कपासको कपडा भन्दा सेन्थेटिक कपडा मन पराए । त्यसपछि हेटौँडा कपाडा उद्योगको मात्र नभएर विश्वभरी सुती कपडा बिक्री घट्यो, उत्पादन लागत बढ्यो । सुती कपडाभन्दा सेन्थेटिक सस्तो पनि, टिकाउ पनि । सेन्थेटिक कपडाको सुनामी नै आयो, त्यो सुनामीले सुती कपडा उद्योगलाई बगायो ।
सेन्थेटेकि कपडा उद्योगको विकासको असर हेटौँडा कपडा उद्योगलाई पनि पर्न गयो । निरन्तर घाटामा जान थाल्यो । व्यवस्थापनमा राजनीतिक हस्तक्षेप हुन नदिएर सुधार गरेको भए पनि यो उद्योग बचाउन सकिँदैनथ्यो । पुनर्जीवित यो उद्योग सानो रूपमा भए पनि चल्न शुरू भइसकेको छ । तर, निरन्तर चलाउन सकिन्छ ? कि सकिँदैन ? यो प्रश्नमा विचार गरौं ।

फोर्स र पुस सेलिङले सम्भव छैन
कुनै पनि उद्योग चल्नका लागि मुख्य कुरा हो प्रतिस्पर्धी मूल्य, प्रतिस्पर्धी उत्पादन । हेटौँडा कपडा उद्योगले बजारका अन्य उद्योगका कपडासँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन ? यो अति महत्त्वपूर्ण प्रश्न हो । दोस्रो कुरा, गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन ? बजार पायो, गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न सक्यो भने यो उद्योग निरन्तर चल्नेछ ।
कपडाका लागि बजार जति पनि छ, तीन करोड नेपाली छन्, विदेश निर्यात गर्न सकिन्छ, बजार नपाउने कुरै छैन । तर, बजार पाउँदैमा उद्योग बाँच्दैन । गुणस्तरीय हुनुपर्छ । अहिले पनि विश्वमा सुतीका टप ब्राण्ड कपडा छन् । सेन्थेटिक भन्दा कैयन गुणा महँगो सुती लुगा पाइन्छ । महँगो भएर पनि उनीहरू टिकेका छन् । किनभने उनीहरूको गुणस्तर छ । अर्थात्, प्रतिस्पर्धी मूल्य र गुणस्तरीय भयो भने हेटौँडा कपडा उद्योग बाँच्न सक्छ ।
मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने विश्वास सरकारमा देखिएन । त्यसैले सरकारले फोर्स सेलिङ र पुस सेलिङ गरेर उद्योग चलाउने उपाय गरेको देखिन्छ । फोर्स सेलिङ र पुस सेलिङ गर्नलाई सस्तो हुन पनि पर्दैन, गुणस्तरीय हुन पनि पर्दैन । नेपाली सेना तथा सरकारी कर्मचारीलाई किन्न लगाएर उद्योग चलाउने भनिएको छ । फोर्स सेलिङ गरेर एक वर्ष उद्योग चलाउन सकिन्छ, दुई वर्ष पनि सकिन्छ, तीन वर्ष पनि सकिएला तर सधैं सकिँदैन ।
सरकारलाई नै विश्वास छैन
सरकारलाई उद्योग चलाउन सकिन्छ भन्ने लागेको छैन भन्ने उद्योगमन्त्री गौरीकुमारीको भनाइबाट पनि बुझ्न सकिन्छ । उहाँले भदौ ६ गते उद्योग परिसरमा पुगेर मिडियालाई दिनुभएको प्रतिक्रिया अचम्मको छ । उद्योग चल्न थालिसकेको र यसलाई बन्द गराउन षडयन्त्रकारीहरू लाग्ने, उद्योगपतिहरू लाग्ने भन्ने उहाँको भनाइ थियो ।
सरकारी उद्योग निजी क्षेत्रले आएर बन्द गर्दैमा हुन्छ र ? त्यसो भए डीडीसी बन्द हुनुपर्ने, डेरी क्षेत्रमा ठूलो प्रतिस्पर्धा छ, सरकारी डीडीसीलाई चाहिँ निजी क्षेत्रका उद्योगीले किन बन्द गरिदिएनन् ? निजी क्षेत्रको एनसेलले सरकारी नेपाल टेलिकमलाई किन बन्द गरिदिएन ? उद्योगमन्त्रीले अत्यन्तै गैरजिम्मेवार कुरा गर्नुभएको छ ।
उद्योग चल्यो भने आफूले चलाएको, बन्द भयो भने षडयन्त्रकारी र निजी क्षेत्रले बन्द गराइदियो भन्ने ? कस्तो सजिलो आइडिया !
मेसिन ल्याउन सकिन्छ तर टेक्नोलोजी ?
त्यसो भए हेटौँडा कपडा उद्योग कसरी टिक्न सक्छ त ? सरकारसँग ठोस आइडिया देखिँदैन । नेपाली सेनालाई उद्योग सञ्चालनको जिम्मा दिइएको छ । सेनासँग काम गर्ने प्रतिवद्धता छ, अनुशासन छ तर आधुनिक कपडाको विशेषज्ञता र उद्योग चलाउने विज्ञता छैन ।
अहिले अर्को भ्रम के फैलाइएको छ भने हेटौँडा कपडा उद्योग पूरै सञ्चालनमा आएको हो । उद्योगमा ७ सय भन्दा धेरै कपडा बुन्ने तान छ । त्योमध्ये २० वटा मात्र चलाइएको हो । पूरै उद्योग सञ्चालनमा आएको भन्न मिल्दैन । यो उद्योगका पूराना मेसिन मर्मत गरेर उच्च गुणस्तरको अथवा हाई भ्यालु कपडा उत्पादन गर्न सकिँदैन । यसका लागि पूरै नयाँ आधुनिक मेसिन ल्याउनुपर्छ ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने मेसिनले मात्र पुग्दैन, टेक्नोलोजी पनि ल्याउनुपर्छ । पैसा भए मेसिन ल्याउन सजिलै सकिन्छ तर टेक्नोलोजी ल्याउन सजिलो छैन । अहिले कटनको विश्वस्तरीय कपडा उत्पादन गरिरहेका कम्पनीहरूले आफ्नो टेक्नोलोजी नेपाललाई दिँदैनन् । उनीहरूले टेक्नोलोजी विकासका लागि आर एण्ड डी (रिसर्च एण्ड डेभलपमेन्ट)मा ठूलो रकम खर्च गरेका हुन्छन् । अनि किन दिन्छन् नेपाललाई ?
मेसिन र टेक्नोलोजी ल्याउन अर्बौं रूपैयाँ लगानी गर्नुपर्छ । अर्बौं रूपैयाँ लगानी गरेर उद्योग बनाउन सकिन्छ । तर, उद्योग चलाउनु पनि पर्यो । उद्योग चलाउन ठूलो रकम अपरेटिङ कस्ट चाहिन्छ । नयाँ मेसिन र नयाँ टेक्नोलोजी ल्याएर मात्र पुग्दैन, त्यसका लागि दक्ष जनशक्ति चाहिन्छ । जनशक्ति तयार पार्न पनि समय लाग्छ ।

उपभोक्ताको देश हुँदैन
कपासको कपडा अर्थात् कटनको कपडा पनि हाई भ्यालुको बनाउन सकिन्छ । त्यो कपडाबाट आजको फेसन अनुसारको गुणस्तरीय कपडा उत्पादन गरेर ग्लोबल ब्राण्डिङ गर्ने हो भने सम्भावना अथाह छ ।
तर, त्यसका लागि लगानी खोई ? मेसिन र टेक्नोलोजी खोई ? अहिले पूरानो मेसिनलाई जोडजाड पारेर मरेको उद्योगलाई ब्युँझायौं भनेर देखाउने रणनीति मात्र देखिन्छ । यसरी त उद्योग चल्दैन । यस्तो पाराले कपडाको टप ब्राण्ड बनाउन सकिँदैन ।
नेपालीले आफ्नै देशको उत्पादन भनेर किनिदिने हो भने उद्योग चलिहाल्छ नि भन्ने विचार पनि सुनिन्छ । यो हावादारी विचार हो । नेपालले पनि विगतमा मेड इन नेपाल नै प्रयोग गरौं भनेर अभियान नचलाएको होइन । अहिले पनि सरकारले मेड इन नेपाल किन्नुपर्ने नीति लिएको छ । अमेरिका, भारत, बेलायतजस्ता ठूला औद्योगिक देशले पनि स्वदेशी सामान प्रयोग गरौं भन्ने गरेका छन् । तर, विश्वव्यापी अनुभवले के भन्छ उपभोक्ताको देश हुँदैन । उपभोक्ताले सस्तो र गुणस्तरीय खोज्छ । सस्तो र गुणस्तरीय दिइयो भने नेपालीले मात्र होइन, विदेशीले पनि किन्छन् । महँगो र कमसल भयो भने नेपालीले पनि किन्दैनन् । यो व्यापार शास्त्र हाम्रो सरकारले पक्कै बुझेको होला ।
विश्वभरी फेल भएको मोडल
उद्योगको पहिलो सर्त के हो भने लगानीको ब्याज उठाउनैपर्छ । ब्याज उठाउन सकेन भने घाटामा गयो । ब्याज उठाइसकेपछि सञ्चालन खर्च उठाउनैपर्छ । सञ्चालन खर्च भन्नाले कामदारको तलब, बिजुली, पानी, भाडा लगायतको खर्च हो । यस्ता खर्च र प्रचलित ब्याज बराबरको आम्दानी गरिसकेपछि थप नाफा मात्र उद्योगको नाफा हो । नाफामा जान्छ त यो उद्योग ? नाफा कमाओस् भनेर कामना गरौं तर यो सजिलो काम भने होइन ।
नेपालमा अहिले पनि विभिन्न कपडा उद्योग छन् । सानादेखि ठूला उद्योग धेरै छन् । ती उद्योगलाई संरक्षण र प्रोत्साहन गर्दा पो देशलाई फाइदा हुन्छ कि ? निजी क्षेत्रले गर्न नसकेको र गर्न नसक्ने काममा मात्र सरकारले हात हाल्नुपर्ने होइन र ? सरकारले कपडा उद्योग चलाउँछ भने जुत्ता उद्योग किन नचलाउने ? कपडा र जुत्ता उद्योग चलाउँछ भने चस्मा, लिपिस्टिक, क्रिम, पाउडरको उद्योग किन नचलाउने ? सरकारले कम्प्युटर नै बनाउने उद्योग चलायो भने कस्तो होला ?
सरकारले हेटौँडा कपडा उद्योग पूर्ण रूपमा चलाउन जति रकम लगानी हुन्छ त्यो रकम नेपालका कपडा उद्योगलाई अनुदान दिने हो भने देशलाई झन् धेरै फाइदा हुँदैन र ? सरकारले उद्योग खोल्ने हो कि उद्योग खोल्न प्रोत्साहन गर्ने हो ? अझ अर्को कुरा, नेपालमा कपास उत्पादन कति छ र कपासमा आधारित उद्योग चलाउन खोजेको हो ?
साहस कि दुस्साहस ?
कपडा उद्योगमा विश्वका समृद्ध औद्योगिक देशले समेत प्रतिस्पर्धा गर्न सकेका छैनन् । नेपालले यो दुस्साहस गर्नुको खासै अर्थ देखिँदैन । उद्योग चलाउने नै हो भने सम्भावना भएको उद्योगमा लगानी गर्नुपर्छ । जस्तो कि सिमेन्ट उद्योग । सरकारी हिमाल सिमेन्ट उद्योग चोभारमा चिहान भएर बसेको छ । त्यसलाई स्थानान्तरण गरेर पुनर्जीवन दिन सकिन्छ । उदयपुर सिमेन्ट उद्योगलाई नाफामूलक बनाउन सकिन्छ । विराटनगर जुट मिललाई जगाए भयो । बन्द भएका अनेक उद्योग छन्, जसलाई पुनर्जीवित गर्ने सम्भावना खोज्न सकिन्छ । विश्वमा सबैतिर घाटामा गएको, टिक्न गाह्रो हुने सुती कपडा उद्योग किन चलाउने ?
भएका सरकारी संस्थान तथा उद्योगलाई पहिले नाफामा लैजाऔं, त्यसपछि पुरानो उद्योग चलाऔं । यो चाहिँ बुद्धिमानी हुन्छ ।
सबैभन्दा मुख्य कुरा चाहिँ के हो भने सरकार आफैंले उद्योग चलाउने विकासे मोडल विश्वमा सबैतिर फेल भइसकेको छ । सबैतिर फेल भइसकेको मोडल बालेन सरकारले अपनाएको छ । यो साहस हो कि दुस्साहस ? भविष्यमा थाहा हुन्छ । तर, जसो भए पनि यो उद्योग सफल बनोस् भनेर कामना गर्नुपर्छ ।