
नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुन: सञ्चालनमा तीव्रता दिएको छ ।
यही भदौ ११ गते हेलिकप्टरबाट कर्मचारीहरू परिचालन गरी गोसाइँकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।
उनका अनुसार भदौ १२ गते शुक्रबार सबेरैदेखि नेपाल टेलिकमका प्राविधिकहरू रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुन: सञ्चालन हुन बाँकी रहेका स्थानहरूमा सेवा सञ्चालन गर्न तथा सञ्चालनमा आइसकेका टावरहरूलाई थप भरपर्दो बनाउन निरन्तर कार्यक्षेत्रमा खटिइरहेका छन् ।
सो क्रममा रसुवा जिल्लामा बाढीका कारण बन्द भएको गोसाइँकुण्ड गाउँपालिका ५ मा अवस्थित गोलजुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याई स्याफ्रुबेंसी, पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर ४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ३ र ५ तथा स्याफ्रुबेंसी – टिम्मुरे राजमार्गका केही भागमा सेवा सुचारू भएको छ ।

नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आई विदुर नगरपालिकाको वडा नम्बर १० र ११ तथा सूर्यगढी गाउँपालिका वडा नम्बर ४ का केही भागमा दूरसञ्चार सेवा सुचारू भएको छ ।
यसका साथै शुक्रबार विदुर नगरपालिका – ८ मा अवस्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २, टिम्मुरे माथिको डाँडामा अवस्थित टेलिकम टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरू खटाई सेवा सुचारु गर्ने क्रममा रहेको टेलिकमले जनाएको छ ।
भदौ १० गतेदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा जिल्लाको न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेसनमा अनवरत खटिई बाढी प्रभावित स्थानमा अनवरत सेवा सञ्चालन गराइराखेका छन् ।
यसैगरी हालसम्म रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित १२० साइटमध्ये ८० साइमा सेवा सुचारू भइसकेको छ ।
विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको प्रवक्ता लामिछानेले बताए ।

