२३ भदौ २०८३, मंगलबार

भोटेकोशी बाढीपछिको उद्धारमा थप २ हजार ९८३ सशस्त्र प्रहरी परिचालन

भदौ १२, २०८३
काठमाडौं
भोटेकोशी बाढीपछिको उद्धारमा थप २ हजार ९८३ सशस्त्र प्रहरी परिचालन

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी तथा प्रभावितको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले थप २ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरेको छ। यससँगै विपद् प्रतिकार्यमा परिचालित सशस्त्र प्रहरीको संख्या ४ हजार ८२८ पुगेको छ।

बिहीबारसम्म १ हजार ८४५ सशस्त्र प्रहरी परिचालन भएकामा आज संख्या बढाइएको हो।

रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा विशेष बेस क्याम्प स्थापना गरी प्रभावित क्षेत्रमा विज्ञसहितका छुट्टाछुट्टै टोली खटाइएको छ।

परिचालित टोलीमा दक्ष खोज तथा उद्धारक, मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन, शिविर समन्वय तथा व्यवस्थापन र प्राथमिक उपचार विज्ञ छन्। भत्किएका संरचनामा खोज तथा उद्धारका लागि ४४ जनाको टोली पनि परिचालन गरिएको छ।

खोजी कार्यलाई प्रभावकारी बनाउन ७ वटा कुकुरसहित २१ जनाको ‘के–९’ टोली, ५ वटा ड्रोनसहितको ड्रोन स्क्वाड, डोरीबाट उद्धार गर्ने १३ जनाको टोली तथा विभिन्न स्थानमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

थप ३५५ सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ।

भोटेकोशी हुँदै त्रिशूली नदी तटीय क्षेत्रका प्रभावित ४८ वडामा सशस्त्र प्रहरीबाट सूचीकृत १ हजार २०० विपद् सूचकमार्फत सूचना संकलन भइरहेको छ। साथै, प्रभावितका लागि आश्रयस्थल व्यवस्थापन, सुरक्षा तथा राहत सामग्री ढुवानीको काम पनि जारी छ।

नुवाकोटमा घटनाकै दिनदेखि विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। घाइतेको आकस्मिक उपचारका लागि काठमाडौंस्थित नेपाल एपीएफ अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा १००/१०० बेडको विशेष तयारी गरिएको छ।

प्रभावित क्षेत्रमा ऊर्जा आपूर्तिका लागि ८ वटा जेनेरेटर, आवश्यक इन्धन, ५ वटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डरलगायत अत्यावश्यक सामग्रीसमेत पुर्‍याइएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्