२३ भदौ २०८३, मंगलबार
देवीघाटसँगै सर्वस्व गुमाएका गौरव मिजार

१३ वर्षमा सबै गुमाएका गौरवको मुटु हल्लाउने कथा– कुनाकाप्चा खोज्छन्, बुवा नभेटेपछि भक्कानिन्छन् !

भदौ १४, २०८३
नुवाकोट

‘अंकल, बुवा चर्चमा गएर पो बस्नुभएको छ कि, मलाई पिपलटारको चर्चसम्म लगिदिनुस् न प्लिज । बुवाको धेरै याद आयो, एकचोटि भेट्न मन लाग्यो ।’

शनिबार दिउँसो गौरव मिजारले सुँक्क–सुँक्क गर्दै जब अनुरोध गरे, उनका अंकल (बुवाको सानीआमाका छोरा) लुरे मिजार र आन्टी सन्तु मिजारको मन पनि भक्कानियो ।

केहीबेर सबैजना रोए । गौरव सम्हालिएका थिएनन् । तर, अंकल/आन्टी केहीबेरमा सम्हालिए ।

रुँदै गौरवले धेरैपटक अनुरोध गरेपछि अंकल लुरे भतिज गौरवलाई लिएर पिपलटारतर्फ सोझिए ।

नुवाकोटको सदरमुकाम बिदुर बजारदेखि करिब ७ किलोमिटरको दूरीमा रहेको देवीघाटभन्दा ठ्याक्कै माथिको समथर बस्ती हो, पिपलटार ।

बाढी आइनपुगेकाले पिपलटार देवीघाटका बाढी पीडितका लागि अस्थायी आश्रय स्थल बनेको छ । तर, देवीघाटमा न गौरवले भनेजस्तो चर्चको भवन सग्लो छ, न अति व्यस्त रहने त्यो बजारको कुनै नामोनिसान नै बाँकी छ ।

१० भदौको बाढीले नुवाकोटकै एक प्रमुख व्यापारिक केन्द्रका रूपमा स्थापित देवीघाट बजारको पहिचान पूर्ण रूपमा सखाप पारिदिएको छ ।

उक्त बजारमा करिब ३ सय घरहरू रहेको अनुमान छ । गोरखाका राजा पृथ्वीनारायण शाहको समाधिस्थल र जाल्पामाईको प्रसिद्ध मन्दिरका कारण पनि देवीघाट विशेष चर्चा र आकर्षणको केन्द्रमा रहन्थ्यो ।

प्रत्यक्षदर्शीको भनाइमा करिब २ मिनेटमै उजाड बनेको देवीघाटनजिकै पुगेपछि अंकल लुरे मिजारको मन परिवर्तन भयो । गौरवलाई लिएर देवीघाटतर्फ जान मन लागेन रे उनलाई ।

उक्त बजारबाट विस्थापित भएका अधिकांश नजिकैको चन्द्रज्योति माध्यमिक विद्यालय र आयुर्वेदिक भवनमा बसिरहेका छन् । लुरेले गौरवलाई विद्यालय परिसमा लगेछन् ।

उक्त विद्यालयमा पुग्नासाथ गौरव हराइरहेका आफ्ना बुवा कतै भेटिन्छन् कि भन्ने आशामा कोठा कोठा चहार्न पुगेछन् ।

तर, बुवालाई नदेखेपछि मलिन भएछन् । आफूसँगै स्कूल पढ्ने साथीभाइसँग कुराकानी गरेछन् । उनका अधिकांश साथीभाइका बुवाआमा र परिवारका अन्य सदस्य सकुशल छन् ।

गौरवलाई उनका साथीभाइले सुनाएछन्, ‘कतै लुकेर बसेको भए तिम्रो बुवा तिमीलाई खोज्दै यहीँ आइहाल्नुहुन्थ्यो नि ! त्यति माया गर्ने मान्छेले कहाँ छाड्नु हुन्थ्यो र ? बुवालाई बाढीले बगाएजस्तो छ, अब आउनुहुन्न होला ।’

आफ्नै साथीभाइले यस्तो सुनाएपछि गौरव बेस्सरी रोएछन् । त्यतिबेलासम्म झमक्क साँझ परिसकेको थियो । अंकल लुरे मिजारले उनलाई फकाइफुलाइ आफ्नै घरतर्फ लगेछन् ।

हामी (लोकान्तर टीम) शनिबार साँझतिर देवीघाट बजारबाट विस्थापित पीडितहरूका कारुणिक कथा रेकर्ड गर्दै थियौं । कुराकानीका क्रममा हामीले स्थानीय पीडित केही महिलालाई सोध्यौं, ‘तपाईंहरू सबैजना पीडित हुनुहुन्छ । तर, तपाईंहरूमध्ये सबैभन्दा बढी पीडित को हुनुहुन्छ यहाँ ?’

करिब १४–१५ वर्ष उमेरकी जस्तो देखिने एक किशोरीले फ्याट्ट जवाफ दिइन्, ‘गौरव मिजार । बिचरा, अब कोही छैन उसको । कहाँ बस्छ ? के खान्छ ? कसरी कसरी पढ्छ ? सबैभन्दा बढी पीडित उही हो ।’

त्यसपछि हो हामीले गौरवबारे थाहा पाएको । एक १३ वर्षीय बालक । जो यो संसारमा एक्लो भएको छ । कहाँ बस्ने ? के खाने ? बाँकी पढाइ कसरी अघि बढाउने ? यिनै प्रश्नले हामीलाई गौरवसँग भेट्न र कुराकानी गर्न घच्घच्याइरह्यो ।

जब हामीले स्थानीय केही महिलाबाट गौरव मिजारको कारुणिक कथा संक्षिप्तमा सुन्यौं, जसरी पनि उनीसँग कुरा गर्ने निचोडमा पुग्यौं । गौरवसँग अहिले मोबाइल छैन । उनका अंकल लुरे मिजारको नम्बर पनि शुरूमा कसैले दिन सकेन ।

हामीले करिब २५–३० जनालाई गौरवसँग भेटाइदिन या सम्पर्क गराइदिन अनुरोध गरिरह्यौं । कसैबाट पार लागेन । राहत वितरणको अगुवाइ गरिरहेका स्थानीय विकास चित्रकारको नम्बर लिएर भोलि (आइतबार) गौरव त्यहाँ आउन सक्ने र उनले सम्पर्क गराइदिने चाँजोपाँजो मिलाएर हामी काठमाडौं फर्कनै लागेका थियौं । त्यतिबेला साँझको साढे ६ बजिसकेको थियो ।

अन्तिम प्रयास गरौं भन्ने लाग्यो । एकजना स्थानीय दिदी शान्ति सापकोटा फोनमा कुरा गरिरहनुभएको थियो । हातले इसारा गर्दै उहाँले हामीलाई केहीबेर पर्खन भन्नुभयो ।

‘सुन्नुस् त, म गौरव मिजारको टिचरसँग कुरा गर्छु । त्यहाँबाट नम्बर पत्ता लाग्छ कि ।’

केहीबेरमा स्थानीय उनै शान्ति सापकोटाको सहयोगमा हामीले गौरवका अंकल लुरे मिजारको नम्बर पत्ता लगायौं । उनले आफूहरू रहेको स्थानबारे बताए ।

गौरवसँगको भेट

शनिबार दिउँसोदेखिको लामो प्रयासपछि लोकान्तर टीम बेलुका साढे सात बजे गौरव रहेको स्थान (नुवाकोटको ढिकुरे) मा पुग्न सफल भयो ।

हामी पुग्दा गौरव सडक किनारामै रहेको अंकलको पसल अगाडि टोलाएर बसेका थिए ।

शायद, पत्रकारहरू आउँदै हुनुहुन्छ भनेर उनका अंकलले जानकारी गराइसकेकाले हुन सक्छ, हामीसँगको कुराकानीमा शुरूमा सामान्य रूपमा प्रस्तुत भए गौरव ।

जब कुराकानी शुरू भयो, बुवालाई सम्झेर भक्कानिन थाले ।

‘बुवाको धेरै याद आइरहेको छ । अब मलाई कसले खाना दिन्छ ? कसले पढाइदिन्छ ? म कहाँ बस्ने ? मलाई कसले माया गर्छ ? म कोठामै भएको भए बुवालाई जसरी पनि बचाउँथेँ । हुन त म पनि धेरैबेर उभिन सक्दिनँ । तर, जसरी पनि बुवालाई बाढीबाट बचाउँथेँ ।’ सुँक्क सुँक्क गर्दै उनले भने ।

null

उनी रोएपछि वरिपरि रहेका उनका आफन्त, छिमेकी र हामी लोकान्तर सहकर्मी सबैका आँखा रसाए । केहीबेर माहोल पूरै स्तब्ध बन्यो ।

सुन्दै आङ सिरिङ हुने कथा छन्, गौरवको जीवनमा । गौरवका बुवा गोपी मिजार (भाइरल गोपीको नामले टिकटक र युट्युबमा चर्चित) शारीरिक रूपमा कमजोर थिए ।

३ फिट उचाइका गोपीको आधा कम्मर ढल्केको जिउडाल थियो । हिँड्न सक्थे, तर दौडन सक्ने शारीरिक शक्ति उनमा थिएन ।

अर्कोतिर गौरव स्वयं पनि शारीरिक रूपमा अशक्त रहेछन् ।

हामीले जब अलिकति हिँडाएर उज्यालो बत्ती भएको कोठामा गएर कुराकानी गर्न अनुरोध गर्‍यौं, गौरवले खुट्टा खोच्याएको तुरुन्तै नोटिस गर्‍यौं ।

‘तिम्रो खुट्टामा चोट लागेको छ हो ? किन हिँड्न अप्ठेरो भएको तिमीलाई ?’ हामीले अनायासै सोध्यौं ।

‘म धेरै सानो छँदा साथीले बेस्सरी मेरो खुट्टामा टेकेको थियो रे । त्यसपछि खुट्टामा चोट लागेछ । अहिलेसम्म निको भएको छैन । मेरो खुट्टाको घाउ निको बनाउँछु भन्दै बुवाले धेरै मिहिनेत गरिरहनुभएको थियो । तर अब...... ।’ गौरव फेरि भक्कानिए ।

अंकल लुरे र आन्टी सन्तुका अनुसार गौरव धेरैबेर उभिइरहन सक्दैनन् । पाँच मिनेट लगातार उभिइरहे भने खुट्टा दुख्छ रे !

खुट्टामा लागेको गम्भीर चोटका कारण आफैँ अशक्त एक नाबालक । तर, बुवाप्रतिको माया ? जब गौरवले हामीसँगको कुराकानीका क्रममा बाढी आउँदाको दिन आफू बुवासँगै कोठामै भएको भए आफ्नो शारीरिक कमजोरीका बाबजुद बुवालाई जसरी पनि बचाउँथेँ भनिरहे, उनको त्यो कुराले हामी सबैलाई भावुक बनाइरह्यो । हाम्रा आँखा रसाइरहे ।

null

छोरा भनेपछि हुरुक्कै हुन्थे बुवा,सबै गरिदिन्थे

हाल ६ कक्षामा पढ्दै गरेका गौरव १३ वर्षका भए । आफ्नो शारीरिक कमजोरीका बाबजुद पनि छोराका लागि सबै गर्थे, गोपी मिजार ।

‘खान पकाइदिने, खान दिने, नुहाइदिने, कपडा धोइदिने सबै काम बुवाले गर्नुहुन्थ्यो रे । अहिलेसम्म काम के हो भन्ने उसलाई थाहै छैन,’ गौरवकी आन्टी सन्तुले भनिन्, ‘हे दैव, कस्तो दु:ख आइपरेको यो ।’

बुवा गोपी मिजार देवीघाट बजारको एक घरमा कोठा भाडा लिएर बसेका थिए ।

भाडाको कोठामै हो गोपीले छोरा गौरवलाई हुर्काएको र ६ कक्षासम्म पढाएको । जुत्ता सिलाउने काम गर्ने गौरवका बुवा टिकटक र युट्युबमा पनि उत्तिकै चर्चित रहेछन् ।

बेपत्ता भएका गोपी मिजार (भाइरल गोपी)

गीत गाउने, आफ्ना ग्राहक र स्थानीयहरूसँग भिडियो सुट गरेर टिकटकमा पोस्ट गर्ने र जसोतसो खर्चको जोहो गर्ने दैनिकी थियो गोपीको ।

बेलाबखत उनी माइकमा सहयोगको अपिल बजाउँदै छोराको उपचारका लागि देश दौडाहामा पनि निस्किन्थे । छोराको उपचारका लागि उनले गरेको मिहिनेत टिकटकमा देख्न सकिन्थ्यो ।

'म छोराकै उपचारका लागि यसरी भौँतारिएको छु,' मान्छे नमर्ने शहर हुँदैन भन्ने गीत माइकमा बजाउँदै हिँडिरहेको भिडियो गोपीले २०८२ माघ ३ गते टिकटकमा राखेका थिए ।

गौरवका बुवा गीत गाउँदै कहिले नारायणगढ बजार पुग्थे । कहिले धनकुटाको हिले ।

'मेरो जीवनमा धेरै उचारचढाव आए । नढलेसम्म लड्न र उठ्नसक्नुपर्ने रहेछ भन्दै छोरा डोहोर्‍याउँदै म तपाईंहरूको घरदैलो ११ जिल्ला घुमेँ,' केही समयअघि धनकुटाको हिले पुगेर बनाएको भिडियोमागोपीले भनेका थिए ।

उनी हाँसीमजाक गर्न मन पराउँथे । आफन्तका अनुसार धेरैजसो गीतमा उनले आफ्नो छोराको उपचार र पढाइका लागि सहयोग जुटाउनुपर्ने बाध्यतामा रहेको भाव पोख्थे ।

‘दौडन सक्नुहुन्नथ्यो । त्यसैले बाढी आएको देखेर पनि सायद भाग्न सक्नुभएन,’ गौरवका अंकल लुरे मिजारले भने, ‘मेरो छोरासँग रातिमा सँगै सुत्ने व्यवस्था मिलाइदिएको छु । तर, राम्रोसँग निद्रा लागेन भन्छ । टोलाइरहन्छ । बुवाको याद आयो मात्र भनिरहन्छ । हामी पनि निकै अप्ठेरो महसुस गरिरहेका छौं ।’

गौरवका दु:खका दिन सानै उमेरदेखि शुरू भएका हुन् । ‘आमाहरू' छैनन् । भएको एक्लो बाबा बेपत्ता हुनुहुन्छ । हेर्नुस् न सर, अस्तिदेखि रोएको रोयै छ । राम्रोसँग खाना खाएको छैन । अनेक गरेर सम्हाल्न खोज्छौं । केहीबेर सम्हालिन्छ । फेरि बुवाको याद आयो भन्दै रुन्छ । कसरी सम्हाल्ने होला ?’ गौरवकी आन्टी सन्तुले थपिन् ।

दुवै आमाले छोडेका थिए गौरव र उनका बुवालाई

गौरवलाई जन्म दिने आमाले उनी ७ वर्षका हुँदा घर छाडेकी थिइन् । गौरवकै शब्दमा उनकी आमा कसैसँग पोइला गएकी हुन्, अर्थात् अर्को बिहे गरेकी हुन् ।

पछि गौरवका बुवाले दोस्रो बिहे गरे । टेलिभिजनमा चर्चित एक सांगीतिक कार्यक्रममा गएका बेलाको अवसर छोपेर गौरवका बुवाले दोस्रो विवाह गरेको आफन्तले बताए ।

उनको दोस्रो बिबाहको प्रसंग पनि सामाजिक सञ्जालमा भाइरल थियो ।

केही समयमै गौरवकी दोस्री आमाले पनि उनी र उनका बुवालाई छोडिन् । त्यसपछि गौरव पूर्ण रूपमा बुवाको रेखदेख र पालनपोषणमा हुर्किँदै थिए ।

१० भदौमा गौरव सधैँझैँ नौ बजे नै स्कूल पुगिसकेका थिए । देवीघाटमा रहेको संस्कृत माध्यमिक विद्यालयमा उनी अध्ययन गर्छन् ।

स्कूल पुग्नासाथ सर, मिस र साथीभाइले बाढी आएकाले सबैजना भाग्नुपर्छ भनेको र साथीहरूसँग आफू भागेको गौरवले लोकान्तरसँग बताए ।

बाढी कम भएपछि आफू अरूसँगै बजारतर्फ जान खोजेको र मेरो बुवा कहाँ हुनुहुन्छ भनेर सोध्दा कसैबाट राम्रो उत्तर नपाएको गौरवको भनाइ छ ।

‘सर र साथीभाइले देवीघाट बजारका सबैजना आयुर्वेदिक अस्पतालमा गएर सुरक्षित बसेका छन् । तिम्रो बुवा पनि त्यहीँ हुनुहुन्छ होला भन्नुभयो । मैले आयुर्वेदिक अस्पतालमा गएर बुवालाई सबैतिर खोजेँ । तर, कतै भेटिनँ । सबै भन्छन्– अब मेरो बुवा आउनुहुन्न । म कोसँग बस्ने ? मलाई कसले माया गर्छ ?’ गौरव फेरि भक्कानिए ।

गौरव धरधरी रुन थालेपछि लोकान्तर सहकर्मी, उनका आफन्त र छिमेकी सबैका आँखा फेरि रसाए ।

हामीले सम्हालिँदै गौरवलाई सोध्यौं, ‘अन्तिममा केही भन्न चाहन्छौ ?’

‘पढ्न सकिनँ भने मैले काम गरेर खान गाह्रो हुन्छ । मेरो खुट्टा दुखिरहन्छ । पढ्न पाएँ भने कुर्सीमा बसेर गर्ने काम पाउन सक्छु । कसैले हेर्ला त सर ?’

यसो भन्दै गर्दा गौरवका आँखा फेरि रसाए । माहोल फेरि स्तब्ध बन्यो ।

 ‘हरेस नखानू । जे नहुनु भइहाल्यो । आफूलाई सम्हानू । सहयोगी मनहरू भेटिन सक्छन् । तिम्रो यो पीडादायी कथा हामी आमजनतासमक्ष पुर्‍याउनेछौं,’ यति भनेर गौरव, उनका अंकल, आन्टी र छिमेकीसँग बिदा माग्दै रातको साढे आठ बजे हामी ढिकुरेबाट बिदा भयौं ।

हेर्नुहोस्, भिडियो: 

(गौरव क्यामेरामा बोल्न डराएकाले उनले बोलेका सबै कुरा हामीले भिडियोमा कैद गरेका छैनौं । धेरै कुरा उनले अनौपचारिक कुराकानीमा भनेका थिए ।)

कमेन्ट गर्नुहोस्