२३ भदौ २०८३, मंगलबार
सन्दर्भ: बाढीको विध्वंश

सरकारले पीडितको अभिभावकत्व लिँदै गाँस, बास र पुनःस्थापनाको व्यवस्था गर्छ– सञ्चारमन्त्री [अन्तर्वार्ता]

भदौ १४, २०८३
नुवाकोट
सरकारले पीडितको अभिभावकत्व लिँदै गाँस, बास र पुनःस्थापनाको व्यवस्था गर्छ– सञ्चारमन्त्री [अन्तर्वार्ता]

अविरल वर्षासँगै भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा अकल्पनीय क्षति पुर्‍याएपछि सरकारले आफ्नो सम्पूर्ण शक्ति उद्धार र राहतमा केन्द्रित गरेको छ ।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, उद्धार कार्यको नेतृत्व र समन्वयका लागि केही दिनयता नुवाकोटको विदुरमा रहेका सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनासँग भदौ १३ गते हामीले पछिल्लो अवस्थाबारे कुराकानी गरेका छौँ ।

लोकान्तर डटकमसँगको विशेष अन्तर्वार्तामा मन्त्री तिमिल्सिनाले विपद्को स्तर राज्यको क्षमता र पूर्वतयारी भन्दा धेरै माथि रहे पनि उद्धारमा कुनै कसर बाँकी नराखिएको बताएका छन्  । 

उनका अनुसार कुराकानी गर्दाको समयसम्म नेपाली सेना र निजी क्षेत्रका १४ वटा हेलिकप्टर प्रयोग गरी करिब ३ हजार जनाको जीवितै उद्धार गरिएको छ ।

सडक सञ्जाल पूर्ण रुपमा टुटेको र ४० भन्दा बढी पक्की पुलहरू बगेका कारण सम्पूर्ण राहत र उद्धारको एक मात्र विकल्प हेलिकप्टर बनेको छ ।

विशेषगरी जलविद्युत आयोजना (थ्री ए) को टनेलमा फसेका करिब ४० जना भन्दा बढी मजदुरको उद्धार कार्य सबैभन्दा चुनौतीपूर्ण बनेको मन्त्री तिमिल्सिनाले बताए  । 

'टनेलको मुखमा १० मिटर माथिसम्म लेदो र विशाल ढुङ्गा थुप्रिएको छ । एक्साभेटरले मात्र नसकेपछि अहिले हेलिकप्टरबाटै विस्फोटक पदार्थ लगेर ढुङ्गा फुटाउँदै टनेल खुलाउने काम भइरहेको छ,' उनले भने ।

अबको प्राथमिकता बेपत्ताको खोजी, शव व्यवस्थापन, अत्यावश्यक खाद्यान्न तथा औषधि आपूर्ति र विस्थापितको पुनर्स्थापनामा केन्द्रित रहेको उनले जानकारी दिए । 

सञ्चारमन्त्रीको हैसियतमा उनले विपद्को बेला जनतामा त्रास फैलाउने भन्दा पनि सत्यतथ्य र संयमित सूचना प्रवाह गर्न सञ्चारमाध्यमहरूलाई आग्रह समेत गरेका छन् ।

आफन्त र जायजेथा गुमाएका पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै मन्त्री तिमिल्सिनाले भने, 'तपाईंहरूलाई जति पीडा छ, सरकारलाई त्यो भन्दा बढी छ । कृपया धैर्य धारण गर्नुहोस्, राज्यले पूर्ण अभिभावकत्व लिँदै गाँस, बास र पुनःस्थापनाको व्यवस्था गर्नेछ ।'

विपद् व्यवस्थापन, उद्धारको पछिल्लो अवस्था, राज्यको तयारी र भावी योजनाबारे सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग गरिएको विस्तृत कुराकानीको पूरा भिडियो तल हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्