'तँ जाँदै गर, म एकैछिनमा आउँछु...' बर्दियाका ३३ वर्षीय शिवबहादुर थारूले भाइ घुमावीरलाई भनेको यो अन्तिम वाक्य, आज एउटा भाइको छातीमा जिन्दगीभर नमेटिने पश्चात्तापको काँडा बन्न पुगेको छ।
परिवारको गरिबी पखाल्न सँगै रसुवाको मैलुङ चाइना पावर प्रोजेक्टमा पुगेका दुई दाजुभाइको भाग्य यति क्रूर निस्कियो कि, आज घुमावीर भक्कानिँदै अस्पतालका शव गृह चहारिरहेका छन्- शिवबहादुरको खोजीमा ।
२०८३ भदौ १० गते बिहान मिरमिरेमै काममा निस्कने बेला घुमावीर थारूले सधैँझैँ दाजु शिवबहादुरलाई सँगै हिँड्न डाकेका थिए । तर, दाजु पछाडि नै रोकिए ।
घुमावीर आफ्ना १४ जना साथीहरूसँगै सुरुङभित्र पसेर ड्युटीमा व्यस्त भए । सुरुङको अन्धकारभित्र पसिना बगाइरहँदा, बाहिर प्रकृतिले कस्तो भयानक वितण्डा मच्चाउँदैछ भन्ने उनीहरूलाई पत्तो थिएन ।
एक्कासि पहाडै खसेझैँ गरेर सुसाउँदै आएको भयानक धमिलो बाढी सोझै सुरुङभित्र पस्यो । हेर्दाहेर्दै छातीसम्म लेदो र पानीको सतह उक्लियो । मृत्यु आँखै अगाडि नाचिरहेको त्यो अकल्पनीय क्षणमा, १४ जना मजदुरहरूले एकअर्काको हात समाते, लेदोसँग जुधे र मरिमेटी संघर्ष गरेर अन्ततः सुरुङबाहिर निस्कन सफल भए ।
बाहिर निस्केर पछाडि फर्केर हेर्दा, घुमावीरको सातो गयो । केही समयअघिसम्म सँगै बसेका मानिसहरू र उनीहरूको आश्रयस्थल केही पनि बाँकी थिएन ।
सिङ्गो बस्ती बगेर बगरमा परिणत भइसकेको थियो । अत्तालिँदै दाजुलाई फोन डायल गरे, तर उताबाट केवल 'स्विच अफ' को निराश सन्देश मात्र आइरह्यो । बाढी यति भीषण थियो कि, उतापट्टि गएर दाजुको खोजतलास गर्ने कुनै सम्भावना नै थिएन ।
त्यसयता घुमावीरका आँखाहरूले केवल दाजु शिवबहादुरलाई खोजिरहेका छन् । अस्पतालका चिस्यान कक्षमा राखिएका शवहरूदेखि घाइतेहरूको लामो सूचीसम्म उनले दाजुको नाम खोजे ।
तर अहँ, कतै अत्तोपत्तो छैन । एकातिर जीवितै पाउने धमिलो आशा, अर्कोतिर बेपत्ता हुनुको भयानक शून्यता । 'त्यतिबेलै जबर्जस्ती सँगै लिएर हिँडेको भए, आज दाजु मसँगै सुरक्षित हुन्थे,' यो पश्चात्तापको ठूलो बोझले घुमावीरलाई पलपल थिचिरहेको छ ।
उता बर्दियामा वृद्ध आमाबुवा बाटो हेरिरहेका छन् ।
फोन आउँदा उनी आफ्नो भित्री रुवाइ थाम्दै, मुटुमा पत्थर राखेर भन्छन्— 'म दाजुलाई खोज्दै छु, छिट्टै लिएर आउँछु ।'
सँगै रसुवा आएका दाजु बेपत्ता भएर आफू बाँचेका उनी रुने कि हाँस्ने भन्ने स्थितिमा छन् । नियतिको यो क्रूर मोडमा, दाजु जीवित नभए पनि अन्तिमपटक मुख हेर्न लाससम्म भेटियोस् भनेर उनी अस्पतालका ढोकाहरूमा भौँतारिरहेका छन् ।
तर, उनका दाजुको नाम अहिलेसम्म उद्धार गरिएका र मृतक कुनै पनि सूचीमा छैन ।
हेर्नुहोस्, भिडियो :