
विश्व टेनिसका सर्वकालीन महान खेलाडीमध्येका एक नोभाक जोकोभिच चर्चित ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् ।
अर्जेन्टिनाका मारियानो नाभोनेसँग अप्रत्यासित रूपमा पराजित भएसँगै ३९ वर्षीय जोकोभिच कोर्टमै भावुक बनेर भक्कानिएका थिए ।
यो हारले बढ्दो उमेरसँगै जोकोभिचको खेल जीवनमा चुनौती थपिँदै गएको थप स्पष्ट पारेको छ । न्यूयोर्कको उच्च आद्रतामा भएको यो नाटकीय खेलमा २४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिच शारीरिक रूपमा निकै संघर्षरत देखिएका थिए ।
खेलका क्रममा उनले तौलिया राखिएको बाल्टीमा बान्ता नै गरेका थिए । चौथो वरीयताका जोकोभिचले हार मान्नुअघि आफ्नो चिर–परिचित संघर्षपूर्ण शैली प्रदर्शन गरे पनि अन्तत: उनी ७–६ (७–५), ५–७, ४–६, ६–२, ६–१ को सेटमा पराजित हुन पुगे ।
सन् २००६ यता जोकोभिच कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको पहिलो चरणमै पराजित भएको यो नै पहिलो पटक हो ।
खेलपछि प्रतिक्रिया दिँदै जोकोभिचले भने, ‘कोर्टमा मेरो अनुभव निकै कष्टपूर्ण रह्यो । मारियानोले राम्रो खेले । उनी एक लडाकु खेलाडी हुन् । म उनलाई बधाई दिन्छु ।’
हारपछि आफ्ना विपक्षी नाभोनेलाई बधाई दिँदा जोकोभिचले धैर्यता प्रदर्शन गरे पनि लकर रुम फर्कने क्रममा उनी पुन: भावुक देखिएका थिए ।
यो नमीठो हारसँगै जोकोभिचको २५ औं ग्रान्डस्लाम उपाधि जित्ने र मार्गरेट कोर्टको कीर्तिमान तोड्ने प्रयासमा धक्का लागेको छ ।
जोकोभिचले आफू लामो समयदेखि एक ‘गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको खुलासा पनि गरेका छन् । ‘यो वर्षका लगभग हरेक खेलमा म बान्ता गर्ने समस्याबाट गुज्रिरहेको छु,’ उनले भने, ‘यसले मेरो शरीरलाई शिथिल बनाउँछ । त्यसपछि मांसपेशी बाउँडिने र ढाड तथा काँधमा पीडा हुने गर्छ ।’
दुई साताअघि सिनसिनाटी ओपनमा पनि उनलाई यस्तै समस्या भएको थियो । खेलका क्रममा एक समय ४–१ ले अगाडि रहेका जोकोभिच शारीरिक रूपमा थकित देखिएपछि नाभोनेले खेलमा फर्कने मौका पाएका थिए ।
खेल हेरिरहेका हजारौं दर्शक जोकोभिचको अवस्था देखेर स्तब्ध बनेका थिए । यो हारले टेनिस जगतमा जोकोभिचको सन्न्यासको विषयमा फेरि बहस शुरू गरेको छ ।
यद्यपि, उनले तत्काल सन्न्यास लिने कुनै सोच नभएको स्पष्ट पारेका छन् । जोकोभिचले हाल आफूलाई सताइरहेको स्वास्थ्य समस्याको समाधान खोज्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
जोकोभिचले हालसम्म चारपटक यूएस ओपनको पुरुष एकलतर्फको उपाधि जितेका छन् । यसका अतिरिक्त उनले अन्य तीन ग्रान्डस्लाम प्रतियोगिताको उपाधि पनि पटक–पटक चुमेका छन् ।
उनले १० पटक अस्ट्रेलियन ओपनको उपाधि उचालेका छन् भने तीनपटक फ्रेन्च ओपनको उपाधि पनि जितेका छन् । उनले विम्बल्डनको उपाधि भने सातपटक हात पारेका छन् ।