२३ भदौ २०८३, मंगलबार

जनमत पार्टीभित्रको ‘घरजग्गा विवाद’- सीके राउतको दाबी नपुग्ने, सुरेन्द्र र ललितालाई सफाइ

भदौ १५, २०८३
काठमाडौं
जनमत पार्टीभित्रको ‘घरजग्गा विवाद’- सीके राउतको दाबी नपुग्ने, सुरेन्द्र र ललितालाई सफाइ

जनमत पार्टीका तत्कालीन केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र उनकी पत्नी ललितादेवी यादवविरुद्ध दर्ता भएको ठगी तथा आपराधिक विश्वासघात मुद्दामा ललितपुर जिल्ला अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको छ । 

न्यायाधीश हरिसिंह धामीको इजलासले सोमबार उक्त फैसला गर्दै प्रतिवादीद्वयलाई सफाइ दिएको हो ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको निर्देशनमा पार्टीका तत्कालीन प्रवक्ता डा. शरद सिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको जाहेरीका आधारमा उक्त मुद्दा दायर गरिएको थियो ।

तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि पार्टीको रकम हिनामिना गरेको र पार्टीको हितविपरीत काम गरेको भन्दै जनमत पार्टीले शुरूमा निलम्बन गरेको थियो । 

त्यसपछि उनीविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भयो, जसका आधारमा उनलाई २०८२ वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरिएको थियो । पछि उनी जिल्ला अदालतबाट ५ लाख रूपैयाँ धरौटीमा रिहा भएका थिए ।

जाहेरीमा ललितपुरको इमाडोलस्थित जग्गा र त्यहाँ बनेको घर जनमत पार्टीको कोषको रकम प्रयोग गरी खरिद तथा निर्माण गरिएको दाबी गरिएको थियो । तर, तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले उक्त घरजग्गा पार्टीको नाममा हस्तान्तरण नगरी आफ्नी पत्नी ललितादेवी यादवको नाममा दर्ता गराएर व्यक्तिगत सम्पत्ति बनाएको आरोप पार्टीले लगाएको थियो ।

पार्टीका तर्फबाट इमाडोलको घर निर्माणमा यादवले व्यक्तिगत रूपमा लगानी गरेको दाबी गरिएको २४ लाख रूपैयाँको सट्टा ब्याजसहित कूल ४० लाख रूपैयाँ उनलाई भुक्तानी गरिसकिएको दाबी गरिएको थियो । 

सो रकम बुझिसकेपछि पनि यादवले घरको स्वामित्व पार्टीको नाममा नामसारी गर्न अस्वीकार गरी ठगी गरेको अभियोगपत्रमा उल्लेख थियो ।

त्यसैगरी, यादवले पार्टीलाई अन्धकारमा राखी गैरआवासीय मधेसी संघका ६० भन्दा बढी सदस्यबाट सेयर लगानी र लेबीका नाममा लाखौं  रूपैयाँ उठाएको र उक्त रकम पार्टीको हितमा प्रयोग नगरी घरायसी तथा व्यक्तिगत प्रयोजनमा लगाएको आरोपसमेत अभियोगपत्रमा समावेश थियो ।

हाल सुरेन्द्रनारायण र ललितादेवीले जनमत पार्टी छाडिसकेका छन् । उनीहरू अहिले रास्वपा आबद्ध छन् ।

जाहेरीकर्ता जनमत पार्टीका तत्कालीन प्रवक्ता डा. शरद सिंह यादव पनि हाल उक्त पार्टीमा छैनन् । उनले जनअधिकार पार्टी गठन गरेर राजनीति गरिरहेका छन् । गत फागुन निर्वाचनमा उनले सप्तरी-२ मा सीके राउतसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । 

कमेन्ट गर्नुहोस्