
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनाका लागि १ करोड २० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
एमालेले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापना अभियान सञ्चालन गर्न पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ समेत गठन गरेको छ ।
समितिले प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री संकलन तथा वितरण, आर्थिक तथा मानवीय सहयोग परिचालन र पुनःस्थापनाका काममा समन्वय गर्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार एमालेले रसुवा, नुवाकोट, धादिङ र चितवनलाई केन्द्रित गर्दै जिल्ला तहमा समेत जिम्मेवारी तोकेको छ । रसुवाको संयोजन विनोद श्रेष्ठ, नुवाकोटको रूपनारायण श्रेष्ठ तथा धादिङ र चितवनको संयोजन रमेश आचार्यलाई दिइएको छ ।
त्यस्तै, संघीय सरकारसँग समन्वयको जिम्मेवारी डा. राजन भट्टराई, प्रचार–प्रसारको निरज आचार्य, आर्थिक व्यवस्थापनको डा. भीष्म अधिकारी, स्वयंसेवक परिचालनको विनोद श्रेष्ठ, कार्यालय व्यवस्थापनको नारायण सिलवाल र राहत संकलनको कैलाश ढुंगेललाई दिइएको छ ।
मंगलबार नुवाकोट र रसुवातर्फ राहत टोली जाने
एमालेले प्रभावित क्षेत्रमा तत्काल आवश्यकताको पहिचान गरी राहत सामग्री संकलन, ढुवानी तथा वितरणका साथै पीडित परिवारको पुनःस्थापनाका लागि सरकारी निकाय, स्थानीय तह र पार्टीका विभिन्न तहका कमिटीसँग समन्वय गर्ने जनाएको छ ।
प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई पनि सम्बन्धित जिल्लाको आवश्यकताअनुसार उद्धार तथा राहत कार्यमा प्रत्यक्ष रूपमा परिचालन गरिने प्रचार विभाग प्रमुख आचार्यले बताए ।
पार्टीका अनुसार भोलि मंगलबार बिहान ११ बजे नुवाकोट र दिउँसो १ बजे रसुवातर्फ केन्द्रीय उद्धार तथा राहत टोली प्रस्थान गर्नेछ ।
एमालेले पार्टी पंक्ति, जनसंगठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी हातहरूलाई उद्धार र राहत अभियानमा एकजुट हुन आह्वान गरेको छ ।