
फुटबलका सर्वकालीन महान् खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। नेपाली समयअनुसार सोमबार साँझ उनले २२ वर्षे लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको घोषणा गरेका हुन् ।
अर्जेन्टिनाको जर्सीमा उनको यो यात्रा ऐतिहासिक रह्यो, जसमा एउटा विश्वकप उपाधि पनि समावेश छ। विश्वकपको सबैभन्दा ठूलो मञ्चमा उनले छोडेको विरासत यो खेलले देखेको अहिलेसम्मकै सबैभन्दा अद्भुत कथा हो।
६ वटा विश्वकपमा उनले अर्जेन्टिनालाई पाँच पटक क्वार्टरफाइनल वा त्यसभन्दा माथि पुर्याएका छन् भने तीन पटक त उनी फाइनलमै पुगे। विश्वकप इतिहासमै सबैभन्दा धेरै ३४ खेल खेल्ने कीर्तिमान उनको नाममा छ।
यी खेलहरूमा उनले २१ गोल गरेका छन्, जुन इतिहासकै दोस्रो सर्वाधिक गोल हो । फ्रान्सका किलियन एम्बाप्पे २२ गोलसहित उनीभन्दा अगाडि छन्। यसबाहेक उनले १२ वटा असिस्ट पनि गरेका छन् जुन सन् १९६६ यताकै सर्वाधिक हो।
नकआउट चरणमा १७ गोल योगदान र लगातार ११ खेलमा गोल वा असिस्ट गर्ने उनको कीर्तिमान सायदै कसैले तोड्न सक्ला।

यो वर्ष (२०२६) को विश्वकपमा ३९ वर्षीय मेसीले सानदार प्रदर्शन गर्दै आठ गोल गरे। तर, स्पेनविरुद्धको फाइनलमा अर्जेन्टिना १-० ले पराजित भयो। १२० मिनेटसम्म एउटै पनि सट टार्गेटमा हान्न नसकेको अर्जेन्टिनाका लागि यो खेल फुटबलभन्दा बढी तनावपूर्ण लडाइँ बन्यो।
स्पेनले ट्रफी उचाल्दा अर्जेन्टिनाका खेलाडीहरू निराशा र आक्रोशमा थिए। एन्जो फर्नान्डेज र लियान्ड्रो पारेडेसले रातो कार्ड खाए। तर, त्यहाँ आफ्नो सम्मान र शालीनता जोगाउने एक मात्र खेलाडी थिए, कप्तान मेसी। आँखामा आँसु बोकेर उनले हरेक स्पेनी खेलाडीसँग हात मिलाए र आफ्नो महानता पुनः प्रमाणित गरे।
आफ्नो इन्स्टाग्राममा एउटा हस्तलिखित पत्र सार्वजनिक गर्दै उनले भावुक बिदाइ लिएका छन्। उनले लेखेका छन्, 'समय सकिँदैछ, एउटा चरण पूरा हुँदैछ। यो निकै पीडादायी छ।' हालै मात्र आफ्ना बुवा जर्जलाई गुमाएका मेसीले यो कठिन तर सुन्दर यात्रामा साथ दिने आफ्नो परिवारलाई धन्यवाद दिएका छन्। उनले राष्ट्रिय टोलीलाई आफ्नो सबै कुरा दिएको र अब नयाँ पुस्ताका खेलाडीहरूको पालो आएको स्पष्ट पारेका छन्। यद्यपि, उनले इन्टर मियामीबाट भने क्लब फुटबल खेलिरहनेछन्।
रोजारियोबाट उदाएका यी सानो कदका जादुगरको यात्रा भने सजिलो थिएन। सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरुद्ध डेब्यु गर्दा उनी ९० सेकेन्डमै रातो कार्ड खाएर मैदान बाहिरिएका थिए। तर, अर्को वर्ष २००६ को विश्वकपमा सर्बियाविरुद्ध गोल गर्दै उनले आफ्नो विश्वकप यात्राको सुन्दर शुरूआत गरे। सन् २००८ मा अर्जेन्टिनालाई ओलम्पिक स्वर्ण पदक दिलाउनु उनको अर्को ठूलो सफलता थियो।
सन् २०१४ को विश्वकपमा उनले टोलीलाई फाइनलसम्म पुर्याए र प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जिते। तर जर्मनीसँगको त्यो हारले उनलाई गहिरो चोट दियो। सन् २०१६ मा चिलीसँग कोपा अमेरिका फाइनलमा पेनाल्टीमा चुकेपछि त उनले भावुक हुँदै सन्यास नै घोषणा गरेका थिए। तर, राष्ट्रको मायाले उनी छिट्टै फर्किए।

सन् २०२१ मा कोपा अमेरिका जित्दै उनले देशको २८ वर्ष लामो उपाधि खडेरी तोडे। त्यसपछि कतारमा भएको २०२२ को विश्वकप उनको करियरको सबैभन्दा सुनौलो क्षण बन्यो। फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै उनले अन्ततः विश्वकपको ट्रफी उचाले।
अब अर्जेन्टिनाको फुटबलमा मेसीपछिको युग शुरू भएको छ। जुलियन अल्भारेजजस्ता प्रतिभाशाली खेलाडीले अब आक्रमणको जिम्मा सम्हाल्नेछन्। उनी अहिले उत्कृष्ट लयमा छन् र सन् २०३० को विश्वकपसम्म उनी आफ्नो खेल करियरको उच्च विन्दुमा हुनेछन्।
तर, मध्यपंक्तिमा खेल सिर्जना गर्ने जिम्मा कसले लिने भन्ने ठूलो प्रश्न छ। निको पाज र फ्रान्को मास्टान्टुओनोजस्ता युवा खेलाडीहरूलाई अब अगाडि ल्याउनुपर्ने बेला आएको छ। डिफेन्समा मार्कोस सेनेसी र भ्यालेन्टिन बार्कोजस्ता बलिया खेलाडीहरूले नयाँ पुस्ताको नेतृत्व गर्न सक्छन्।
२०२६ को फाइनलपछिको दृश्यले एउटा तीतो सत्य ओकलेको छ। अर्जेन्टिनाले फाइनल मात्र हारेन, एउटा युगको अन्त्य हुँदै गर्दा टोलीसँग कुनै ठोस योजना नभएको पनि देखियो। प्रतिभाको कमी छैन, कमी छ त केवल सङ्क्रमणकाल शुरू गर्ने साहसको। मेसी सधैंभरि मैदानमा हुने छैनन् भन्ने सत्यलाई अब अर्जेन्टिनाले स्वीकार्नैपर्छ।
फुटबलका राजाले आफ्नो सिंहासन छाडेका छन्। अब अर्जेन्टिनाले नयाँ राजा र नयाँ सिंहासनको निर्माण शुरू गर्नुपर्ने छ ।