
भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रलाई क्षतविक्षत बनाएको छ । नदीले बगाएर ल्याएको बरफ, लेदो र बाढीको विशाल लहरले केरुङ नाका क्षेत्रको भौतिक संरचनालाई इतिहासमा परिणत गरिदिएको हो ।
उक्त क्षेत्रको अवस्था अत्यन्तै भयावह बनेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, त्यहाँ अब केवल एउटा पानी ट्यांकी मात्रै ठडिएको अवस्थामा छ, जसले मानिसहरूलाई कुनै समय त्यो ठाउँमा गतिलो भौतिक संरचना थियो भन्ने झल्को दिइरहेको छ ।
विपत्तिअघि र पछिको भू–उपग्रहबाट लिइएका तस्वीरले विनाशको भयावह पाटो उजागर गरेका छन् । तस्वीरमा स्पष्ट देखिन्छ कि, कुनै समय निकै चहल–पहल हुने नाका अहिले बाढी र पहिरोको चपेटामा परेर पूर्ण रूपमा ध्वस्त भएको छ ।
थुप्रै मानिसको जीविकोपार्जनको प्रभावकारी माध्यम बन्दै आएका ती संरचनाहरू माटो र ढुंगाको थुप्रोमा परिणत भएका छन् ।
चिनियाँ सरकारी प्रसारण संस्था सीसीटिभीले दिएको जानकारीअनुसार, भत्किएको संरचना हटाउने र मर्मत कार्य अघि बढाउने काम निकै चुनौतीपूर्ण बनेको छ । भूगोलको जटिलता र साँघुरा बाटोहरूका कारण ठूला एक्साभेटरहरू चलाउन हम्मे–हम्मे परेको छ ।
निरन्तरको वर्षा र त्यसले निम्त्याएको चट्टान खस्ने क्रमले उद्धारकर्मीहरूको जीवनलाई थप जोखिममा पारेको छ । उक्त क्षेत्रको भौगोलिक बनावटका कारण राडार प्रविधिले पनि सही तरिकाले काम गर्न सकिरहेको छैन ।
सोही कारणले सुरक्षाकर्मीहरूले हरेक १० मिटरको दूरीमा ‘अवलोकन पोस्ट’ खडा गरेर निरन्तर निगरानी गरिरहेका छन् । अकल्पनीय जोखिमबीच काम गरिरहेका उद्धारकर्मीहरूको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको छ ।
बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राखी आकस्मिक अवस्थामा सुरक्षित स्थानमा भाग्न लामो डोरी र भर्याङहरूको व्यवस्था पनि गरिएको छ ।
भोटेकोशीको यो प्रलयले केवल भौतिक संरचना मात्र होइन, सीमा क्षेत्रका मानिसहरूको दैनिकी र सुरक्षाको चुनौतीलाई पनि नयाँ उचाइमा पुर्याइदिएको छ ।
उद्धारको प्रयास जारी रहे पनि प्रकृतिको यो कोपले सिंगो क्षेत्रलाई स्तब्ध: बनाएको छ ।