
रसुवाको भोटेकोशीमा आएको बाढीपछि अझै पनि विभिन्न जलविद्युत् आयोजनाका ६ सय ३९ जना कर्मचारी सम्पर्कविहीन रहेको सरकारी तथ्यांक छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहान ९ बजेसम्मको विवरणमा उक्त तथ्य सार्वजनिक गरेको हो ।
विनाशकारी बाढीले जलविद्युत् आयोजनाहरूमा फसेका कर्मचारी र मजदुरको उद्धारमा नेपाली सेनाको विज्ञ टोलीसहित परिचालित छन् ।
बाढीबाट रसुवा र नुवाकोटमा रहेका १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजनाको सुरुङमा पानी र लेदो भरिएका कारण उद्धारमा धेरै कठिन भइरहेको छ ।

त्रिशूली–३ ए, त्रिशुली– ३ बी, माथिल्लो त्रिशूली–१ र चिलिमेका टनेलमा कार्यरत थुप्रै कर्मचारी र मजदुरभित्र फसेको आशंका गरिएको छ ।
सरकारले सुरुङभित्र कति मान्छे छन् भन्नेबारे अझै यकिन साथ भन्न सकेको छैन, तर विभिन्न आयोजनाका सुरुङमा ६ सयभन्दा बढी रहेको आकलन छ ।
अहिले त्रिशूली–३ ‘ए’ मा डिजास्टर म्यानेजमेन्ट बटालियन, सर्च एन्ड रेस्क्यू टीमसहित ५१ जना नेपाली सेनाबाट खटिएका छन् ।
त्यतिमात्रै होइन, प्राधिकरण, भूर्गवविद्हरू र सशस्त्र प्रहरी समेत उद्धारमा खटिएको जानकारी फिल्डका एक सैनिक उच्च अधिकारीले लोकान्तरलाई दिए ।
सुरुङको ‘इन्ट्री प्वाइन्ट’देखि अन्तिमसम्म एक सय ७० मिटर लम्बाइ रहेको छ । सुरुङभित्र ६.७ र ८.५ डायमिटरका कल्भर्ट छन् ।
‘हामी बाढी गएको दोस्रो दिनदेखि खटिएका छौँ, ईन्ट्री प्वाइन्टको १५ देखि २० मिटर बीच भागबाट खोपेर भित्र छिर्दा पानी र लेदोले सुरुङ पूरै भरिएको पाइयो,’ त्रिशुली थ्री–ए मा खटिएका एक उच्च सैनिक अधिकारीले भने, ‘एउटा एक्साभेटर ल्याउन मात्रै डेढ दिन लाग्यो, अहिले तीनवटा एक्साभेटरले काम गरिरहेका छन् । सुरुङको पछाडितर्फ रहेको वैकल्पिक मार्ग १५ मिटर खोलिएको छ ।’
ती अधिकारीका अनुसार अहिले मोटर चलाएर सुरुङमा जमेको पानी फाल्ने र भित्र अक्सिसन पठाउने काम भइरहेको छ ।
अहिले रक ब्रेकरबाट टनेलभित्र छिर्ने स्थान बनाउन ढुंगा फुटाउने काम भइरहेको निर्देशनालयले जनाएको छ । सुरुङभित्र फसेकाको उद्धारका लागि आफूहरूले २४ सै घण्टा काम गरिरहेको तर, पानी र लेदोका कारण भित्रसम्म पुग्न नसकिएको उनले बताए ।
सुरुङभित्र प्रयोग गर्न कम्तीमा पनि २२ टनसम्मको उपकरण चाहिने फिल्डमा खटिएका सैनिक अधिकारीहरू बताउँछन् ।

त्रिशूली–३ बी आयोजनाको सुरुङभित्र पनि कामदार र इन्जिनियर फसेको आशंका छ । त्यहाँ पनि सेनाको महासेनानीको नेतृत्वमा विज्ञ टोलीहरू खटिएका छन् ।
सुरुङभित्र पानी र लेदो भरिएको छ । एक्साभेटर समेत प्रयोग गरी खोज तथा उद्धार कार्य गरिरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म पुगिसकेको छ ।
सैनिक निर्देशनालयका अनुसार अपर त्रिशूली–१ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली सुरुङको करिब दुई सय मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको छ ।
निर्देशनालयका अनुसार चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी ५० मिटरसम्म पुगेर खोजी गरिरहेको छ । लाङटाङ हाइड्रोमा पनि उद्धार टोली सुरुङभित्र एक सय ५० मिटर सम्म पुगेर खोज तथा उद्धार कार्य गरेको सेनाले जनाएको छ ।
निर्देशनालयका अनुसार उद्धारको क्रममा हाइड्रोपावर क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको छ, जसमध्ये रसुवागढीबाट दुई जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, त्रिशूली थ्री बीबाट २२१ जना, माथिल्लो त्रिशूली थ्री बीबाट दुई जना, मैलुङबाट नौजना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट चार जना, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जना र देवीघाट जलविद्युत् आयोजनाबाट ५ जनाको जीवित उद्धार गरिएको हो ।

माथिल्लो त्रिशूली–१ मा चिनियाँ विज्ञ टोलीले सहयोग गरिरहेका छन् । चिनियाँ र कोरियाली कम्पनीको संयुक्त ठेक्का रहेको उक्त आयोजनाका कामदारको उद्धार प्रयासमा नौ चिनियाँ नागरिक र नेपाली सेनाको संयुक्त टोली जुटेको हो ।
चिलिमे जलविद्युत् आयोजनाभित्र पनि केही कामदार फसेको आशंका गरिएको छ । त्यहाँ भारतीय सेना र नेपाली सेनाको संयुक्त टोली उद्धार कार्यमा खटिएका छन् ।
बाढी प्रभावित क्षेत्रको भौगोलिक कठिनाइ र नेपालमा सुरुङभित्र गरिने उद्धारका लागि विज्ञहरूको पनि अभाव रहेकाले उद्धारमा समस्या भएको सैनिक स्रोत बताउँछ ।