
इङ्ग्ल्यान्डविरुद्धको लर्ड्स टेस्टमा पराजय बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टिमबाट सात जना खेलाडीलाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेको छ। उनीहरूको स्थानमा टोलीमा सामेल हुने नयाँ खेलाडीहरूको नामसमेत सार्वजनिक गरिसकिएको छ।
बीबीसी उर्दूका अनुसार पीसीबीले एक विज्ञप्ति जारी गर्दै मोहम्मद रिजवान, इमाम-उल-हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, ओवैस जफर र खुर्रम शहजादलाई टेस्ट टोलीबाट बाहिर गरिएको जनाएको छ।
यी सातै जना खेलाडीको स्थानमा साइम अयूब, अब्दुल्ला फजल, अराफात मिन्हास, इमरान जुनियर, साद बेग, इमरान रंधावा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ।
पीसीबीका अनुसार यी नयाँ खेलाडीहरूले तेस्रो टेस्ट शुरू हुनुअघि पाकिस्तानी टोली ज्वाइन गर्नेछन्।
खेलाडी परिवर्तनसँगै पीसीबीले प्रशिक्षक टोलीमा पनि ठूलो फेरबदल गरेको छ। मुख्य कोच सरफराज अहमद र बलिङ कोच उमर गुलले आ-आफ्नो पदबाट हट्नुपरेको छ। उनीहरूको स्थानमा माइक हेसनलाई मुख्य कोच र एशले नोफ्केलाई बलिङ कोचको जिम्मेवारी सुम्पिएको छ।
पाकिस्तानले विगत ३० वर्षमा बेलायतमा एउटा पनि टेस्ट सिरिज जितेको छैन। इङ्ग्ल्यान्डले लर्ड्समा खेलिएको दोस्रो टेस्टको चौथो दिन पाकिस्तानलाई १९४ रनले पराजित गर्दै तीन खेलको यो टेस्ट शृङ्खलामा २–० को निर्णायक अग्रता बनाइसकेको छ।