
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास कार्यालय, गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार परोहा नगरपालिका ९ स्थित राधाकृष्ण मन्दिरको थप मर्मत कार्यमा मापदण्डविपरीत न्यून गुणस्तरको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८१/०८२ मा मन्दिर निर्माण गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो ।
आयोगले काफ्लेसहित इन्जिनियर सुदीप प्रकाश तिमल्सेना र नितिशकुमार पटेल, अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्णको अधुरो निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष खहेरु साह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई पनि प्रतिवादी बनाएको छ ।