२३ भदौ २०८३, मंगलबार

भोटेकोशी बाढीको सात दिन : बेपत्ताका परिवार भन्छन्- अब कहाँ खोज्नु !

भदौ १६, २०८३
विराटनगर
भोटेकोशी बाढीको सात दिन : बेपत्ताका परिवार भन्छन्- अब कहाँ खोज्नु !

यही भदौ १० गते भोटेकोशी नदी बेसिनमा विनाशकारी बाढी आएको मंगलबार सात दिन पुग्यो । मंगलबारसम्म पनि खोज र उद्धारको काम चलिरहेको छ । 

प्रहरी प्रधान कार्यालयले मंगलबार दिउँसो दिएको जानकारी अनुसार अहिलेसम्म एक हजार ५८ जनाको शव भेटिएको छ भने ४ हजार ६०६ जना अझै बेपत्ता छन् ।

बेपत्ता भएकाहरूको कुनै अत्तोपत्तो नहुँदा आफन्तहरूमा अब आफ्ना मान्छे ‘सकुशल’ फर्किने आशा विस्तारै मर्न थालेको छ भने पर्खाइको पीडाले सीमा नाघेको छ ।

बाढीमा परेर बेपत्ता हुनेमध्ये मोरङको सुन्दरहरैँचाका दुई दाजुभाइ; कुलबहादुर कार्की र सूर्यबहादुर कार्की पनि हुन् । सिन्धुपाल्चोकस्थित ‘अमास्त हाइड्रोपावर’मा भान्सेका रूपमा कार्यरत उनीहरूको अवस्था हालसम्म अज्ञात छ ।

श्रीमान् र जेठाजुको अवस्था अज्ञात रहँदा शान्ति कार्कीको संसार नै अँध्यारो भएको छ । बाढीबाट जोगिएका एक भारतीय कामदारको भनाइ उद्धृत गर्दै शान्तिले भनिन्, ‘बाढी आयो भाग कान्छो’ भनेर साथीहरू चिच्याएका थिए, तर ती दाजुभाइ कता अलप भए, कसैलाई थाहा छैन ।’

शान्तिका श्रीमानलाई सबैले त्यहाँ कान्छा भनेर बोलाउने गरेका थिए । ‘भारतीय नागरिकले बाढी आयो कान्छा भाग भनेर भन्नु भएको रहेछ’, उनले भनिन्,‘म तरकारी पकाउँदैछु भन्नु भयो रे, त्यसपछि केही थाहा छैन ।’

चार जनाको परिवार पाल्ने एकमात्र जिम्मेवारी सूर्यकै काँधमा थियो । दाजुभाइ नै बेपत्ता भएपछि परिवार कहाँ जाने र कसलाई सोध्ने भन्ने अन्योलले विक्षिप्त छन् । 

यस्तै, पीडा सुन्दरहरैँचाकै भोजराज अधिकारीको परिवारमा पनि छ । भोजराज बाढी आएको समयमा होटलबाट निस्केर बिहान साढे ८ बजेतिर भन्सार कार्यालयमा छिरिसकेका थिए । बाढीले उनले आश्रय लिएको होटल त बगायो नै, भन्सार कार्यालयका कर्मचारीको भागदौडबीच भोजराज कता हराए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । 

उनका काका माधव अधिकारीले भतिजको खोजीमा काठमाडौंका शिक्षण अस्पतालदेखि चितवनसम्मका अस्पताल र प्रहरीका सूचीहरू चहारिसकेका छन् । 

‘चितवनमा गएर हेरेँ, काठमाडौंको टिचिङमा पनि पुगेर हेरेँ, कतै नाम छैन, न त फोटो नै मिल्छ,’ उनले भने ।

भोजराजसँगै रहेका एक साथीले जङ्गलमा पानी खाएर बाँचिरहेको सन्देश पठाए पनि भोजराजको कुनै खबर नहुँदा परिवारमा तनाब चुलिएको छ । कक्षा १० मा पढ्दै गरेकी छोरी बाबुको बाटो हेरेर बसिरहेकी छिन्, तर जति दिन बित्दैछ, उति नै आशाहरू निराशामा बदलिँदै गएका छन् ।

भोटेकोशी र त्यस आसपासका क्षेत्रमा आएको यो विनाशकारी बाढीले कोशी प्रदेशका विभिन्न जिल्लाबाट श्रम र रोजगारीका लागि त्यहाँ पुगेका नागरिक बेपत्ता हुन पुगेका हुन् । 

तथ्यांक अनुसार कोशी प्रदेशका कूल १९३ जना व्यक्तिहरू यो विपद्‌बाट प्रभावित भएका छन्, जसमध्ये १५९ जना अझै पनि सम्पर्कविहीन छन् । 

कोशी प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार सोलुखुम्बुका ४२, ओखलढुङ्गाका २५, सुनसरीका १६, उदयपुरका १६, झापाका १३, मोरङका १७ र खोटाङका ११ जना व्यक्ति अहिलेसम्म फेला परेका छैनन् । 

बेपत्ता हुनेमा अधिकांश माथिल्लो त्रिशुली–१, चिनियाँ हाइड्रो प्रोजेक्ट, त्रिशुली–३ बी र साञ्जेन जस्ता जलविद्युत आयोजनामा कार्यरत प्राविधिक, मजदुर र चालकहरू रहेका छन् । 

मोरङकी इन्जिनियर ऋचा निरौलादेखि इलामका ५ महिने बालक योगराज भण्डारी र ७३ वर्षीय वृद्ध नरेन्द्र प्रसाद दाहालसम्म यस विपद्को सूचीमा परेका छन् ।

बेपत्ताका आफन्तहरूले राज्यको उपस्थिति र खोजी कार्यमा पर्याप्त तदारुकता नदेखिएको भन्दै गम्भीर गुनासो गरेका छन् । 

बाढी आएको एक हप्ता बितिसक्दा पनि प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद हुनु र बेपत्ताहरूको आधिकारिक तथ्यांक तथा अवस्था सार्वजनिक हुन नसक्नुले पीडित परिवारको घाउमा नुनचूक छर्कने काम गरेको उनीहरू बताउँछन् । 

‘कतै फोन लाग्दैन, कसैसँग सम्पर्क हुँदैन । बालुवा र लेदोले पुर्‍यो कि नदीले कतै बगाएर लग्यो, कसैलाई थाहा छैन’, माधवले भने । 

कमेन्ट गर्नुहोस्